बागलुङ/कक्षा ९मा पढ्ने सर्मिला बाजे बाले सुनारलाई खर्च छाड्न वर्षेनी बुकी जाने गर्छिन् । उनले महिनामै दुइ पटकसम्म बुकी गएको बताइन् । ढोरपाटनको स्यालपाखेबाट बिहानै हिंडेपछि बेलुकी बस्न उनीहरु बुकी पुग्छन् । सर्मिलाको यो यात्रामा साथीहरु अनिषा, कमला, सम्झना, सुनिल बिक र बज्यै नाताकी खिमकुमारी सारथी बन्छन् । बुकी पुगेर फर्कंदा उनीहरुको तीन दिन खर्चसंगै पढाइ पनि छुट्छ ।
ढोरपाटनकै गोमला सुनार भने बाबु टेकबहादुरलाई खर्च छाड्न हरेक शुक्रबार सुर्तिवाङ जान्छिन् । शनिबार बसेर आइतबार फर्कन्छिन् । बुकीभन्दा सुर्तिवाङ नजिक छ । सुर्तिवाङ जाँदा एकदुई जनामात्रै जान सक्छन् । बकी जानुपरे समूह बनाएर जाने गरेको शर्मिला सुनारले बताइन् । ढोरपाटनको उपत्यकादेखि एकदेखि डेढ दिनको पैदलको लेकाली खर्चलाई बुकी भनेर चिनिन्छ । यहाँ चरनक्षेत्र, पानीको श्रोत र अस्थायी गोठ बनाएर बस्न मिल्छ । असारदेखि भदौ मसान्तसम्म बुकीमा चहलपहल बढ्छ । यो चहलपहल सयौं गाइभैंसी र भेडाबाख्रा चराउनेको हो ।
अभिभावकहरु पशुचौपाया लिएर बुकी र सुर्तिवाङ पुगेकोले बालबालिकाले बेलाबेला खर्च छाड्न जाने गरेका हुन् । ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ र तमानखोला गाउँपालिका वडा नं. १ र २ का किसानहरु पशु चराउँदै बुकी पुग्ने गरेका हुन् । चैत बैसाखमा ढोरपाटनमा आलु लगाएपछि पशु चराउँदै बुकी जाने किसानको तालिका छ । उनीहरुले बेसीका घरमा ताला लगाएर हिंडेका छन् । अब असोज कात्तिकमा मात्रै उनीहरु फर्कन्छन् । निसीखोला ५ र ६ का बासिन्दा पनि निसेलढोर गएका छन् । उनीहरुले आलु खेती गर्ने र पशु चराउने गरेर गर्मी छल्छन् ।
त्यतिन्जेल लेकमा बसेका गोठालालाई खाने अन्न चाहिन्छ । घरबाट उनीहरुले चामल, आँटो, पिठो र नुनतेल लगिदिने गरेका हुन् । काम गर्न सक्नेहरु बुकी र बुढापाकाहरु ढोरपाटनमा आलु कुरुवा भएर बस्छन् । ढोरपाटनमा किसानले धेरै आलु लगाएका छन् । उक्त आलुले वर्षभरी खान पु¥याउनु पर्छ । पशुपालन यहाँको मुख्य पेशा हो । चराएरै पाल्ने चलनले उनीहरु घाँस खोज्दै बुकी पुग्ने गरेका हुन् । बुकी जान सजिलो छैन । जंगल र पहाडको बाटो जानु पर्छ ।
गोठालाहरु बुकीमा छाप्रो हालेर बस्छन् । झरी बादल नभनी उनीहरुले पशु चराउने काम गर्छन् । एउटै परिवारका दर्जनौं पशुहरु बुकीमा चराइन्छन् । तीन हजार मीटर उचाइको ढोरपाटनबाट पशु चराउँदै किसानहरु झण्डै चार हजार मीटर उचाइसम्मको लेकमा पुग्छन् । गोठालाहरु अस्थायी गोठ बनाएर बस्छन् । झण्डै ५ महिना बुकीमा बस्दा उनीहरुलाई चाहिने खाने खर्च घरका सदस्यले ल्याइदिने पुरानो चलन हो । बुढापाका जान नसक्ने भएकोले विद्यालय छाडेर बालबालिकाहरु अन्न लगिदिने काममा जान थालेको विद्यालयका शिक्षक लोकबहादुर सुनारले बताए ।
सानो छँदा हजुरबुबाले बाबुलाई अन्न र नुनतेल लगिदिएको थाहा पाएकी अनिषाले अहिले भने आफै जाने गरेको बताइन् । ‘पहिला त हजुरबुबा जानुहुन्थ्यो, हामीलाई वास्ता हुन्थेन,’ उनले भनिन्, ‘जसले काम गर्न सक्छ उही जाने गरेका छौं ।’ उनका बाजे असारे पछिल्लो समय बिरामी छन् । उनी हिंड्न नसक्ने भएपछि अनिषा बुकी जान थालेकी हुन् । उनीहरु घुम्ती विद्यालयमा पढ्छन् । फागुनमा गाउँ छाडेर ढोरपाटन उक्लेपछि उनीहरुलाई पढाइभन्दा काम प्यारो छ । फुर्सद निकालेर मात्रै घुम्ती विद्यालयमा पढ्न पुग्छन् । बोबाङमा झरेपछि भने नियमित पढ्न पाउँछन् ।
यो चलनलाई बागलुङको विशिष्ट संस्कृति मान्नुपर्ने धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘पशु चौपायाको घाँस पानीका लागि किसान पनि घुमन्ते भएका हुन्,’ उनले भने, ‘पशुधनबाटै कमाइ गर्नेका लागि यो अनिवार्य पनि हो ।’ पश्चिम बागलुङका अधिकांशले पशुपालनबाटै जीविकोपार्जन गर्छन् ।





