बागलुङ/कृषि विषयमा स्नातकोत्तर गरेका युवाले एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा बितरण अभियान चलाएका छन् । जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले २ वर्षदेखि यो अभियान थालेका हुन् । एक विद्यार्थी एक बिरुवा भनेपनि कतिपय विद्यार्थीले धेरै बिरुवा रोपेका छन् ।
यो अभियानअन्र्तगत अहिलेसम्म उनले ७ हजार बिरुवा विद्यार्थीलाई बितरण गरेका छन् । जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका विद्यार्थीलाई ती बिरुवा बितरण गरिएको हो । मंगलबार पनि सापकोटाले बागलुङ नगरपालिका वडा नं. ९ सिगाना मावि तित्याङका विद्यार्थीलाई बिरुवा बितरण गरेका थिए । ‘बढ्दो जलवायु परिवर्तत न्युनिकरणका लागि हरेक विद्यालयमा यो अभियान चलाएको हुँ’ सापकोटाले भने, ‘आफ्नो माटो माया गर्ने भावना विकास गर्न यो अभियानले साथ दिनेछ ।’ बाँझो रहने जग्गा उपयोग गर्न पनि यो अभियानले साथ दिने उनले बताए ।
बढ्दो बसाइसराईं कम गर्न र विद्यार्थीलाई कृषिक्षेत्रमा आकर्षित गर्न पनि यो विधि उपयोगी भएको उनको भनाई छ । कृषि प्राविधिक भएकाले सुन्तला र कागतीका बिरुवामा आउने समस्याबारे पनि उनले सल्लाह दिने गर्छन् । विद्यार्थी कालमै बिरुवामा लाग्ने रोगकिराबारे जानकारी लिने र उपचार पद्दती जान्न पाएका विद्यार्थीले भोली कृषि क्षेत्रमा लाग्न प्रेरणा मिल्ने शिक्षकहरुको भनाई छ ।





