पोखरा/ न्युरो आर्ट नेपाल तथा बि जि हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराको संयुक्त आयोजनमा न्युरो आर्ट प्रतियोगिता सम्पन्न भएको छ । बि जि हस्पिटलमा उपचाररत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरि आयोजना गरिएको सो आर्ट प्रतियोगितामा उपचारततर्फ सिम्रन मल्ल प्रथम, सुप्रिया जयसवाल द्वितीय र सर्मिला मगर तृतीय भएका छन् भने थप तिन जनाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यस्तै प्रतियोगितामा स्टाफ तर्फ सुरक्षा सार्की प्रथम,आस्मा गुरुङ द्वितीय र तेजिना गुरुङ तृतीय भएका छन् भने स्टाप तर्फ पनि तीन जना कर्मचारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
न्यूरो आर्ट नेपालका अध्यक्ष हरेराम जोजीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतियोगिताको नतिजा घोषणा गरी विजेताहरुलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा अध्यक्ष हरेराम जोजी , उपाध्यक्ष प्राडा निर्मल लामिछाने, हस्पिटल इन्चार्ज अनिता खड्काले बिजेताहरुलाई खादा लगाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा जोजीले न्युरो आर्ट, नेपालमा भरखर मात्र शुरूवात भएता पनि अन्तराष्ट्रिय स्तरमा यो आर्ट धेरै पहिलेदेखि नै स्थापित भइसकेको र यो आर्ट, आर्ट मध्येकै अति विशिष्ट आर्ट रहेको बताए । त्यस्तै उपाध्यक्ष प्राडा लामिछानेले न्यूरो आर्ट स्वस्थ जीवनका लागि अतिनै प्रभावशाली भएकोले यसलाई नेपालमा स्थापित गरि जनसमुदायका हितमा निरन्तर कार्यक्रमहरु आयोजन गर्नु पर्नेमा जोड दिए । न्युरो आर्ट नेपालका महासचिव रामप्रसाद पौडेलको संचालन रहेको सो कार्यक्रममा आर्टमा आवद्ध सदस्यहरु सहित हस्पिटल परिवार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
२०७९ मा स्थापित न्युरो आर्ट नेपालले चरणवद्ध रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरु आयोजन गर्दै आर्ट प्रदर्शनीसंगै जनसमुदाय र नवोदित प्रतिभाहरुका लागि विभिन्न प्रतियोगिताहरु आयोजन गर्दै आईरहेको छ ।





