बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागलुङ जिल्लाबाट अमर आदर्श आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल छ । विद्यालयकी छात्रा आकृती नेपालीले ३.७७ जिपीएसहित विद्यालयलाई जिल्लामै पहिलो बनाएको विद्यालयले जनाएको छ ।
जिल्लाका अन्य संस्थागत तथा सामुदायीक विद्यालयले ३.७७ भन्दा माथी नतिजा ल्याएको दाबी गरेका छैनन् । जिल्लाभरको तथ्यांक राख्ने निकायनै नभएको र बोर्डले जिल्लागत तथ्यांक उपलव्ध नगराउने भएकाले विद्यालयहरुको दावीका आधारमा जिल्ला प्रथम विद्यालय छनोट हुने गरेको छ । विद्यायबाट सहभागि भएका अरु सबै विद्यार्थीको पनि नेपालीकै हाराहारीमा जिपिए प्राप्त भएको सहायक प्रिन्सिपल कमल राज पन्तले बताए ।
‘हामीले हरेक वर्ष कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका छौं, यो वर्ष जिल्लामै पहिलो बन्यौं’ पन्तले भने, ‘विद्यालय, शिक्षक र विद्यार्थी सबैको मेहनतले यो परिणाम आएको हो ।’ शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले भने विद्यालयहरुबाट तथ्यांक संकलनको काम भैरहेको जनाएको छ ।





