पोखरा / नेपाली काँग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका ९ मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ । कास्की काँग्रेसले राष्ट्रपति सहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले जनाए ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ष्ट्रिय विमानस्थल सहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो गरिबी बारेमा मन्त्रीहरुको ध्यानार्षण गराएको थियो । ‘मन्त्रीहरुसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकताबारे सरकारको ध्यानाकर्षण पनि गरायौं, सभापति बरालले भन्नुभयो, भेटघाट र छलफलले निकट भविष्यमा उपलब्धि प्राप्त गर्नेमा आशावादी छौं।’
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापा, नेता सोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी लगायतको टोली भेटघाट र छलफलमा सहभागि भएको थियो । टोलीले अर्थ, गृह, स्वास्थ्य, शिक्षा, पर्यटन, परराष्ट्र, उद्योग, शहरी विकास मन्त्रीसँग भेटघाट र छलफल गरेको थियो ।
त्यस्तै, टोलीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग पनि भेटघाट गरेको थियो ।





