पोखरा/हालै मात्र सार्वजानिक भएको कक्षा १२ को नतिजाअनुसार देशभर ५२ प्रतिशत विद्यार्थी उर्तीण भए । यस्तै एसइईमा ४७ प्रतिशत मात्रै उतीर्ण भए । यी दुई नतिजाले यतिबेला नेपालको शिक्षा प्रणालीमाथि प्रश्न उठाइरहेको छ । राज्यले शिक्षामा गरेको लगानी खेर गइरहेको देखिरहँदा शिक्षा, विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले एसईई र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने बताएकी छन् । पोखरामा पत्रकारसँगको भेटघाटको क्रममा उनले नेपालको शिक्षा प्रणालीलाई परिवर्तन गर्न नसकेमा अझ बढी भयावह स्थिति देखिने सुनाउँदै उनले प्रकाशित नतिजाहरु सन्तोषजनक नरहेको बताइन् । नेपालको शिक्षा प्रणाली विग्रनुमा शिक्षामा राजनीति नभई दलियकरण भएको उनको दाबी छ । उनले शिक्षा क्षेत्रमा दलियकरण हुँदा सबै कुरा विग्रिएको सुनाइन् ।
‘यो कुरा भन्दा सायद विभिन्न आलोचना आउला शिक्षामा राजनिति होइन दलियकरण छ । यहाँ नीति, कानुन र निर्देशिकाले नेतृत्व गरेको छैन । राज्य र शिक्षा जोडिनुपर्नेमा टाढिएको छ’ उनले भनिन्, शिक्षामा परिवर्तन असभ्वन भने छैन सम्भव छ यसका लागि शिक्षा ऐन आउन जरुरी छ ।’ आफुले मन्त्रालय सम्हालेपछि शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउनका लागि पहल गरिरहेको उनको भनाई छ । शिक्षा ऐन समयमा नबन्दा आधुनिक शिक्षाबाट टाढिनुपर्ने बाध्यता नेपालमा रहेको छ । देशकै ठुलो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको नतिजा सार्वजानिक र परीक्षाको समयतालिका हरेक समय परिवर्तन हुने समस्याले आम विद्यार्थीहरुमा शिक्षा प्रति विकर्षण बढिरहेको मन्त्री भट्टराईको भनाई छ । विश्वविद्यालयलाइ व्यवस्थित बनाउनका लागि शैक्षिक क्यालेन्डरको व्यवस्थापन अत्यावश्यक रहेको छ । उनका अनुसार विभिन्न विश्वविद्यालय र कलेजहरुले आ–आफ्नै शैक्षिक क्यालेन्डरलाई राष्ट्रिय क्यालेन्डर भन्दै मनलाग्दी गरेकाले यसमा नियन्त्रणको आवश्यकता रहेको छ । भट्टराईले शिक्षामा पाठ्यक्रमलाई समेत समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिदैँ अबको दुई हप्तापछि एसईई र कक्षा १२ को शिक्षा प्रणालीको विषयमा छलफल गरी आवश्यक सुधार गर्ने पक्षमा आफु रहेको बताइन ।
मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका तयार गर्ने बताइन् । नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । विद्यालय शिक्षा विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको सुनाइन् । गत असार ३१ गते मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विषयगत समितिको बैठकमा सहभागी हुँदै मन्त्री भट्टराईले सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम, परीक्षालगायत विषयमा प्रणालीगत समीक्षा गरी अघि बढ्ने बताइन् । उनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न संसद्सँग समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
हालै सार्वजानिक भएको कक्षा १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका थिए । यस्तै माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उतीर्ण भएका थिए । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका थिए ।





