बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसि) मा वातावरण संरक्षण र सरसफाइ अभियानका लागि बिशेष कार्यक्रम संचालन हुने भएको छ । अमेरिकामा रहेको युएसए नेपाल, कम्युनिटी आउटरिच ‘अनकोन’ले क्यामपसमा सरसफाइ अभियान र त्यसमा स्थानीय श्रोत साधन, सस्कृतिको प्रयोग गर्ने योजना अगाडि सारेको हो । उ
क्त योजनामा आइतबार दुइ पक्षबीच सम्झौता समेत भएको छ । क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय र सहायक क्याम्पस प्रमुखहरु, व्यवस्थापन समितिका अधयक्ष प्रा.डा. दिनबहादुर थापा र अनकोटको तर्फबाट बटुक बिष्टले सम्झौता गरेका हुन् । पहिलो चरणमा क्यामपसका लागि अनकोनले १ हजार ५ सय अमेरिकी डरल बराबरको रकम सहयोग गर्ने छ । उक्त रकमले झण्डै ६० वटा कक्षा कोठा, पुस्तकालय, सभाहल लगायतका स्थानमा फोहोर संकलनकालागि डोका बनाइने छ । ती डोका बनाउने स्थानीय कामदार हुनेछन् भने स्थानीय बाँसकै प्रयोग हुनेछ ।
यी सामाग्रीले स्थानीय सीपको विकास गर्ने र स्थानीय युवाहरुले नै काम पाउनेछन् । पहिलो चरणमा यो काम गरेपछि कुहिने र नकुहिने फोहोर छुट्टयाएर कुहिने फोहोर कम्पोष्ट मल बनाएर नर्सरी, फूलवारी र बिरुवामा मलको रुपमा प्रयोग गरिनेछ । त्यसबाहेक प्लाष्टिक जन्य फोहोर नगरपालिकाको व्यवस्थापनमा पठाइने छ । ‘यो त एउटा सुरुवात मात्रै हो, ठूलो रकम पनि होइन, तर यसले दिने सन्देश भने ठूलो हुनेछ’ उपाध्यायले भने, ‘यो अभियानले भोलीका दिनमा जिल्लाव्यापी सन्देश र सीपको प्रचार गर्ने छ ।’ पछिल्लो समय हराएको सीपलाइ युवा माझ ल्याउन यो अभियानले साथ दिने उनको भनाइ छ ।
पछिल्लो समय बागलुङ नगरपालिकाले पनि फोहोरको दिगो व्यवस्थापनका लािग कुहिने र नकुहिने फोहोर छुट्टयाएर कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरको उचित व्यवस्थापन गर्ने योजना अगाडि सारेको छ । तर त्यो पुरा भैसकेको छैन । क्यामपसमा यो नमूनाको रुपमा अभियान चलेपछि सरोकारवाला निकायलाई पनि यो क्षेत्रमा काम गर्ने दवाव बढ्ने छ ।
आइतबार भर्चुअल बैठकमार्फत अमेरिकाबाट बिष्टले कार्यक्रम शुरु भएको जानकारी गराए । त्यस बैठकमा क्याम्पस प्रमुख उपाध्यायले पनि कामका लागि क्यामपसले पनि साथ दिएको बताए । यस अघि उक्त संस्थाले बानपा ७ को विश्वकर्मा माबिमा पनि योजना संचालन गरेको थियो । त्यहाँ भने कम्प्युटर ल्याब स्थापनमा संस्थाले साथ दिएको हो । क्यान्टीन लगायतका स्थानमा कुहिने फोहोर बढी हुन्छ भने कक्षा कोठामा नकुहिने फोहोर धेरै हुन्छ । यसअघि कतिपय कागज र प्लाष्टिकजन्य फोहोर जलाउने गरिएको थियो । त्यो काम पनि अब रोकिने छ ।
उक्त संस्थाले क्यामपसमा सानो कार्यक्रम मार्फत प्रवेश गरेपनि बिद्यार्थीहरुको शैक्षिक अभियान, उत्प्रेरणा कार्यक्रम लगायतमा पनि साथ दिने दिगो योजना बनाउन लागेको बिष्टले जानकारी दिएका छन् । यो अभियान सिमान्तकृत बस्तीमा लैजान बिष्टले पहल गरेका छन् । उनीहरुको सीपको सदुपयोग हुने र उनीहरुले कामको ज्याला पाउने अबस्था हुने भएकोले बसाई सराइलाई रोक्ने, रोजगारीको अभाव हुन नदिने जस्ता उपाया बनाउन सकिने पनि उनले बताएका छन् ।





