बागलुङ/कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोकृष्ठ भएकी अमर आदर्श आवासीय माविकी छात्रा आकृति नेपालीसहित उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान र बिदाइ गरिएको छ । अमर आदर्श आमाविले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
गत साता भएको परीक्षाफलमा आकृति नेपालीले जिल्लाभरमै सबैभन्दा बढी ३.७७ जिपिए ल्याएर उत्तिर्ण भएकी थिइन् । उनलाई विद्यालयले नगद पुरस्कार, सम्मानपत्र समेत प्रदान गरेको छ । बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, विद्यालयका अध्यक्ष विजयराज पन्त र प्रधानाध्यापक हेमन्त थापा लगायतले उनलाई सम्मान गरेका थिए । उक्त अवसरमा आकृतिको अभिभावकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले गुणस्तरीय शिक्षा दिएर बालबालिकालाई संसारभर प्रतिस्पर्धी बनाउनुपर्ने बताए । ‘आजकलका विद्यार्थीले अमेरिका, युरोप र अष्ट्रेलियासम्म पुगेर प्रतिस्पर्धा गर्नुपरेको छ, त्यसैले उनीहरुलाई ती ठाउँका विद्यार्थी सरह बनाउनुपर्छ’ पोखरेलले भने, ‘राष्ट्र र राष्ट्रियतामा पनि गर्व गर्न सक्नुपर्छ ।’ उनले उत्कृष्ठ विद्यार्थीहरु विदेशमा जान खोज्ने लहर बढेको भन्दै त्यो राम्रो भएपनि देशका लागि पनि केही गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा प्याब्सन नगर समितिका अध्यक्ष कृष्णराज अधिकारीले देशकै परीक्षाफलमा निजी क्षेत्रको योगदान उत्कृष्ठ रहेको बताए । उनले सामुदायिक विद्यालयभन्दा संस्थागतले धेरै उत्तिर्ण गराउने र गुणस्तरमा पनि साथ दिएकोले राज्यले संस्थागत विद्यालयालाई हेर्ने दृष्टीकोण पनि राम्रो हुनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्तको अध्यक्षता, प्रधानाध्यापक हेमन्त थापाको स्वागत र शिक्षक कमलराज पन्तको संचालनमा सम्पन्न कार्यक्रममा सम्मानित छात्रा आकृति नेपालीले पनि बोलेकी थिइन् ।
विद्यालयले २०६९ सालदेखि कक्षा १२ को फाइनल परीक्षामा सहभागि हुन थालेको थियो । पहिलो वर्षदेखिनै उत्कृष्ठ नजिता ल्याउन सकेको र त्यसको निरन्तरता अहिलेसम्म भएको पन्तले जानकारी दिए ।





