म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गनमा हुने गोष्ठीमा समग उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ । शुक्रबार क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनले उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा निती निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र प्रस्तुती हुने क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताए ।
धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको गोष्ठीमा म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्षेत्रबाट समेत सहभागि हुने छन् । म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुतिसहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ । राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्ले, पिएन क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुन र युजिसी नेपालका नारायण भण्डारीले सहजीकरण गर्नेछन् ।
गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा समेत छलफल हुने छ । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख श्रीधर सुबेदीले शैक्षिक सुधारका लागि अनुसन्धानमुलक लेख प्रकाशन गर्नेलाई क्याम्पसबाटै सहयोग हुने बताए । उच्च शिक्षामा देखिएका हरेक प्रकारका चुनौतीको समाधानका लागि क्याम्पसले समय सुहाउँदो पाठ्यक्रम सहित विभिन्न तालिम तथा उत्पादनमुखी क्षेत्रमा लाग्ने विद्यार्थीका लागि अनुदान भित्राउन समेत सक्रिय रहेको क्याम्पस प्रमुख सुबेदीको भनाई थियो । सोही अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य क्या. मिनबहादुर कार्कीले सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गरी अबका गतिविधि केन्द्रित हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरे लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो भने नेपाल पत्रकार महासंघ म्याग्दीका कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए । पत्रकार सम्मेलनको ब्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।





