बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘बालबालिकालाई घरकै खाजा खुवाउनु राम्रो’

‘बालबालिकालाई घरकै खाजा खुवाउनु राम्रो’


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

बागलुङ/दैनिक सयौं बालबालिकाले खाजा खाना खाने संस्थागत विद्यालयका चमेनागृहमा पनि म्याद गुज्रेका सामग्री बेच्ने गरिएको भेटिएको छ । केही दिनअघि सदरमुकाम बागलुङ बजारकै सबैभन्दा ठूलो विद्यामन्दिर माविको चमेनागृहको अनुगमनपछि सुरु भएको अभियानअन्तर्गत बिहीबारको निरीक्षणले सो तथ्य प्रमाणित गरेको हो ।
बिहीबार बानपा १ र २ का विद्यालयमा गरिएको अनुगनको क्रममा ५ दिनअघि म्याद सकिएर बिग्रेका चाउमिन पकाएको, सरसफाइ नभएको र मूल्य सूची नराखी विद्यार्थीलाई महंगो मूल्यमा बिक्री गरेको भेटिएको हो । ती विद्यालयका विद्यार्थीलाई चमेनागृहमा प्रवेश गर्न नदिने गरिएको समेत बालबालिकाले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक साहन्सा कुमार मेहेता, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल सहितको अनुगमन टोलीले विद्यार्थीको स्वास्थ्यमा खेलवाड हुने गरी चमेनागृह संचालनमा ल्याइएको भेटिएको हो । सरसफाइ नहुँदा विद्यार्थीले खाने खाजा प्रदूषित हुने गरेको हो । म्याद सकिएको चाउमिन पनि नष्ट वा फिर्ता नगरी पकाउने अवस्थामा राखेको भेटेपछि टोलीले नष्ट गरेको थियो ।
सदरमुकामकै चर्चित मार्ट पसलबाट लगेका सामान समेत म्याद गुज्रेका थिए । कतिपयले दुईचार दिन म्याद रहेको सामान ठूलो परिणाममा बेचेको पनि भेटिएको हो । ‘म्याद गुज्रेका सामानबाट पकाएको खाजाले बालबालिका बिरामी परे भने को जिम्मेवार हुने ?,’ सहायक प्रजिअ बरालले भने, ‘उनीहरुलाई तत्काल प्रशासनमा उपस्थित हुन लगाइएको छ ।’ मूल्य सूची नै नराखी विद्यार्थीलाई दिने खाजामा ५० देखि १ सय रुपैयाँसम्म शुल्क लिएर कालोबजारी गरेको देखिएको उनले बताए ।
विद्यालयभित्र चलेको चमेनागृह दर्ता कसैले पनि गरेका छैनन् । तर उनीहरुले चर्को मूल्यमा सामान बेच्ने, सूची नराख्ने अवस्था हेर्दा शैक्षिक संस्थामै व्यापार भएको खाद्य निरीक्षक साहन्सा कुमार मेहेताले बताए । त्यस बाहेक उनीहरुले बालबालिकालाई जथाभावी राखेर खुवाउने, भाडा धुने स्थान पनि सफा नदेखिने, पकाउने कोठा साँघुरा र तेलले पोतिएर फोहोर भएको अवस्थामा भेटिएपछि सबैलाई सचेत गराइएको हो । उनीहरुलाई पटक पटक अनुगमनमा यस्तै भेटिएमा कानून बमोजिम जरिवाना गर्ने, कालोबजारीमा मुद्दा चलाउन सकिने चेतावनी दिइएको हो ।
कतिपय चमेनागृहमा अखाद्य वस्तु, शौचालयमा राख्नुपर्ने सामान राखेको भेटिएको थियो । चमेनागृहमा काम गर्ने कामदारले श्रम ऐन अनुसार पारिश्रमिक पनि नपाएको भेटिएको हो । ‘छोराछोरी पढाएको, खानबस्न दिएकोले थोरै तलब दिएको भन्ने पनि आयो,’ बरालले भने, ‘त्यो हो भने पनि उनीहरुको कागजात खुल्नुपर्छ ।’ ७ हजार दिएर कामदार राखिएको पनि भेटिएको उनले बताए । श्रमशोषण गरेर काममा लगाउन नपाइने उनले बताए ।
त्यसैक्रममा सदरमुकामकै लखन मार्टबाट बिक्री गरिएको केही सामान म्याद गुज्रेको भेटिएपछि गरिएको अनुगमनमा खाने तेल, सस लगायतका सामान नष्ट गरिएको थियो । जिरा, धनिया र काजुमा मूल्य सूची नराखेको, राखेको सूची पनि पर्मानेन्ट कलमले मेटेको भेटिएको थियो । ती मूल्य मेट्ने काम पसलमा नभई सप्लायर्सले गरेको बताएपछि सप्लायर्सलाई पनि झिकाइएको थियो । उनीहरुलाई कालोबजारी गरेको आरोपमा मुद्दा चलाइने बरालले जानकारी दिए ।
चाडपर्वहरु नजिक आइपुग्दा बजारमा कालोबजारी बढ्ने, मूल्य सूची नराखेका सामान बेच्ने र अखाद्यबस्तु बेच्ने गरेको भेटिन थालेको भन्दै प्रशासनले अनुगमन बढाएको छ । साथै, खाद्यवस्तुप्रति नागरिक सचेतना बढाउनुपर्नेसमेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले अन्य संस्थाको सहकार्यमा उपभोक्ता सचेतना कार्यक्रम संचालन गरेर आम नागरिकको स्वास्थ्यमा सुधार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->