बागलुङ/बलेवास्थित त्रिभुवन मावि व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालयमा गुणस्तरीय शिक्षा कसरी दिने ? भनेर जिज्ञाशा राखे ।
उनको जिज्ञाशामा शुक्रबारको एउटा कार्यक्रममा एक सयबढी सहभागि प्रअ, विव्यसका पदाधिकारी र जनप्रतिनिधि घोत्लिए । उनीहरुको दिमाग सफाइ गर्न आएका थिए पोखरास्थित मेरिल्याण्ड विद्यालयका शिक्षक प्रेमनारायण पोखरेल ।
पोखरेलले दर्जनबढी प्रयोगात्मक अभ्यास गरेर विद्यालयमा गुणस्तरीयता दिन सकिने जानकारी गराए । आफ्नो साँढे ४ घण्टा लामो प्रस्तुतीमा पोखरेलले गुणस्तरीय शिक्षा, विद्यालय शिक्षामा सरोकारवालाको आर्कषण कसरी बढाउने, अनुशासन, एकीकृत पाठ्यक्रम कसरी बनाउने ? विदेश जाने जनशक्ती कसरी रोक्ने ? सामाजिक संजालको दुरुपयोग घटाएर सदुपयोग कसरी गर्ने जस्ता विषयमा बागलुङ नगरका प्रधानाध्यापक, व्यवस्थापन समिति र जनप्रतिनिधिलाई सोच्न बाध्य बनाए । त्यतिमात्र हैन, संभावित अवसरको खोजी गर्न पनि लगाए ।
सामुदायिक विद्यालयमा खस्कंदो परीक्षा प्रणालीलाई उकास्नका लािग पढाउने शैलीमा परिवर्तन गर्न सकिने प्रसस्त आधार उनले दिएका थिए । बालबालिकालाई सहभागितात्मक सिकाइको माध्यममा लैजान प्रधानाध्यापक र शिक्षकहरु सहमत भएमा सामुदायिक बिद्यालयको उपलब्धी पनि माथी उठ्ने उनको भनाई थियो ।
बागलुङ नगरका एक सयबढी विद्यालयका प्रअ, व्यवस्थापन समिति र जनप्रतिनिधि सहभागि भेलामा शिक्षकहरुले पनि पोखरेलको प्रस्तुतीबाट प्रभावित भएर व्यवहारमा परिवर्तन गर्न सकिने बताए । ‘यो प्रशिक्षणले केही नयाँ ढंगले सोच्न बाध्य बनायो’ तित्याङ माविका प्रअ कुमारप्रसाद उपाध्यायले भने, ‘हामीले आफ्नै धरालतको शिक्षा दिन सकेमा त्यहीं नै गुणस्तरीय रहेछ ।’ गुणस्तरीय शिक्षाको नाउँमा अंग्रेजी माध्यम र विदेशी संस्कार पढाउन खोज्दा बिग्रेको पनि उनले बताए ।
गुणस्तरीयता भनेको परीक्षाफल उकास्ने मात्र नभएको बुझाइमा एकरुपता आएको पनि उनले बताए । सबै विद्यार्थीमा मानवीयताको भावना विकास गर्ने लक्ष्य बनाउन सके शिक्षाको गुणस्तर आँफै माथी जाने शिक्षकहरुको भनाई छ । जसरी पनि उत्तिर्ण हुने शिक्ष भन्दा जीवन उपयोगी शिक्षा दिनुपर्ने शिक्षकहरुको बुझाइ छ ।
‘विशेषगरी गुणस्तरीय शिक्षा भनेको अंग्रेजी बोल्दैमा हुँदैन, बरु भाषा जे भएपनि विद्यार्थीले सिक्ने संस्कारमा भर पर्छ’ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने, ‘शिक्षाले नै समाज परिवर्तन गर्छ भन्ने कुरा पनि बुझ्न र बुझाउन खोजेका छौं ।’ आगामी पुस मसान्तभित्र नगरपालिकालाई बालमैत्री बनाउने योजनाका लागि पूर्वाधार निर्माण मात्र नभइ आम शिक्षक, बालबालिका र अभिभावकमा पनि चेतना बढाउन यस्ता क्रियाकलापमा चासो बढाएको पोखरेलले जानकारी दिए ।
भेलामा श्रोत व्यक्ति प्रेमनारायण पोखरेलले दर्जनबढी शिर्षकमा सहजीकरण गरेका थिए । उनले पढाइमा अंगेजी भाषा नचाहिने, विज्ञान प्रयोगशाला बिनै पढाइ गर्न सकिने लगायतको प्रयोगात्मक अभ्यास देखाएका थिए । खरायो र कछुवाको दौड, विज्ञानका अभ्यास तथा खेलका विधि, शिक्षक र विद्यार्थी बीचको प्रेम बढाउन सकिने उपायबारे पनि प्रशिक्षण गरे । उनले हरेक प्रशिक्षणलाई अभ्यासमा देखाएका थिए ।
बालमैत्री स्थानीय शासनका लागि पनि भौतिक पूर्वाधार मात्र बनेर नहुने भएकोले मानसिक रुपमा बालमैत्री नगर बनाउने काममा सबै सहमत र एकजुट हुनुपर्ने धारणा राखियो । नगर उपप्रमुख राजु खड्काले बालमैत्री अभियान सफल पार्न अभिभावक र शिक्षकमा आएको जागरणनै सफलताको सूचक भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले विद्यालयमा स्वस्थ्य खाना, वातावरण र सरसफाइबारे सिकाउन सकेमा बालबालिकाले घर परिवारमा पनि सकारात्मक सन्देश दिने उनको धारणा थियो । साथै, बालमैत्रीका लागि पनि पोषण र स्वच्छ खानको अधिकार पुरा गर्न विद्यालयले अगुवाई गर्नुपर्ने बताए । नगरपालिकाले पहिलो पटक सबै शिक्षक, जनप्रतिनिधि र व्यवस्थापन समितिको ध्यान तान्ने गरी भेला गरेर बालमैत्री नगर अभियान पुरा गर्ने कार्यक्रम तय गरेको हो ।





