बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङभर डेंगी खोज र नष्ट गर अभियान चलाइने

बागलुङभर डेंगी खोज र नष्ट गर अभियान चलाइने

हरेक साता शुक्रबार सरसफाइ गर्ने, टोल सुधार समिति, विद्यालय, सामाजिक संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतका सबैलाई परिचालन गरिने


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८१, आइतबार

बागलुङ/डेंगी रोग बढ्दो दरमा गएपछि बागलुङ नगरपालिकाले खोज र नष्ट गर भन्ने नारासहित वृहत अभियान चलाउने भएको छ । नगरभित्र र जिल्लाभर यो अभियान चलाइने छ । नगरभित्र हरेक साता शुक्रबार सरसफाइ गर्ने, टोल सुधार समिति, विद्यालय, सामाजिक संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतका सबैलाई परिचालन गर्ने समेत बताइएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठक र त्यसलगत्तै बागलुङ नगरपालिकामा बसेको अन्य सरोकारवालाको बैठकले व्यापक जनशक्ती परिचालनसहित सफाइ अभियान, डेंगीबारे जनचेतना फैलाउने लगायतको काम गर्ने निर्णय समेत गरेको हो ।
शुक्रबार पहिलो चरणमा वडा नं. १ देखि ४ सम्म सफाइ गर्ने लक्ष्य राखिएको छ । उक्त अभियानमा प्रहरी जनशक्ती समेत परिचालन गरिने छ । त्यस्तै घर घरमा सफाइ गर्न घरधनीलाई प्रेरित गर्ने, सार्वजनिक स्थलमा अभियानका सदस्यहरु परिचालन हुने बताइएको छ । प्रत्येक दिन विद्यालयमा ५ मीनेट डेंगी रोगबारे सचेतना अभियानकै रुपमा प्रवचन कार्यक्रम गर्नुपर्ने नगरउपप्रमुख राजु खड्काले बताए । उनले सरकारी कार्यालय अगाडिको फोहोर पनि सफा गर्न आग्रह गरे ।
डेंगीबाट अहिलेसम्म बागलुङ नगरपालिकाका १२ बिरामी अस्पताल गएका छन् । गलकोटका ४६ सहित जिल्लाभर ६४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले डेंगी भएका बिरामीलाई अत्याधिक ज्वरो आउने र औषधी खाएर पनि भित्री अंगमा रक्तश्राव हुने हुँदा सञ्चो भएजस्तो भएपछि पनि बिरामी गम्भिर बन्ने र मृत्यु हुन सक्ने बताइन् ।
नगर उपप्रमुख राजु खड्काको अध्क्षतामा भएको बैठकमा सहायक प्रजिअ चित्राङगत बराल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, नगर स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनाल लगायतले स्वास्थ्य अबस्था र अभियानको औचित्यबारे बोलेका थिए ।
बैठकले नगर स्वास्थ्य शाखा, सरसफाइ शाखा र पत्रकार रहेको अनुगमन समिति गठन गरेको छ । समितिले अनुगमन गरेर सफा ठहर गरेको टोललाई नगद पुरस्कार दिने समेत खड्काले जानकारी गराए । डेंगी रोग पोथी लामखुट्टेले दिउँसोमा टोक्दा सर्छ । सफा पानीमा यो लामखुट्टेले अण्डा पार्ने भएकाले पानी जम्न नदिने अभियान चलाउनु पर्ने भएको हो । टायर र ड्रम राखेको स्थानमा जमेको पानीमा डेंगी फैलाउने लामखुट्टेको लार्भा बढी पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->