
स्याङ्जा / नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले आईतवार उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रापत्र इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै मंगलवार ढाकिदिएका छन् ।
वालिङ नगरपालिका वाड नं. ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रापत्रमा उद्घाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि सुटुक्क आएर उद्घाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन ।
जग्गादाता र स्थानीयले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र जग्गादाताहरुको सहभागितामा पुनः उद्घाटन गर्न माग गरेका छन् ।
भवन उद्घाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभई जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको वताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख पौडेलसंग जग्गादाता झनै आक्रोशित वने ।
ज्ञापन पत्र वुझाउँदै जग्गादाता र स्थानीय ।
कार्यालयको जिम्मा लिएका प्रमुखले गैरजिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेल विच भनाभन समेत भएको थियो । पछि वडा प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक बसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।
ज्ञापनपत्र बुझाउँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले भने, ‘हामीले करोडौं पर्ने जग्गा निशुल्क रुपमा दियौं तर हामीलाई बेवास्ता गरियो ।’ भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न समेत रोक लगाएको गुनासो छ ।
कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए । भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेका थिए । भवन झण्डै ४ रोपनी क्षेत्रफलमा निर्माण भएको थियो ।

अनावरण गरिएको ताम्रापत्र ।
उता, जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीले गृहसचिव जस्तो उच्च पदस्थ अधिकारी आफ्नै जिल्लामा विवादित वनेकोप्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । गत असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको वाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।
असार २२ मा स्थगित गरिएको कार्यक्रम गृहसचिवको अनौपचारिक जिल्ला भ्रमणमा रहेका वेला हतार हतारमा भवनमा रहेको ताम्रपत्र अनावरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । यसलाई गलत तरिकाले नवुझ्न जग्गादाता र शुभेच्छुकलाई आग्रह समेत गरेका छन् ।




