पोखरा /पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधवार साँझ खसेको भीषण पहिरो अझै हट्न सकेको छैन । यसले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध कायमै भएकाले तनहुँ प्रहरीले बैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । उक्त स्थानमा सडकभन्दा ५० मिटरमाथिबाट आएको पहिरोले राजमार्गको भाग पुरेको छ ।

तनहुँ प्रहरीले आज प्रेस विज्ञप्ति निकालेर साना तथा मझौला सवारी साधनका लागि दमौली हुँदै घाँसीकुवा मार्ग–तालघरे, दरैपँधेरा हुँदै घाँसीकुवा र घाँसीकुवा–पोल्याङ– रानीगाउँ हुदै तालघरेको सडक प्रयोग गर्न भनेको हो । यसैगरी हेवी सवारी साधनका लागि डुम्रे बेंशीसहर लमजुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न प्रहरीले विज्ञप्तिमा जनाएको छ । तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी दिपककुमार रायले पहिरो हटाउन पहल भइरहेको बताएका छन ।





