शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ढाका उद्यममा जमेकी लिला

ढाका उद्यममा जमेकी लिला


  • हरिकृष्ण गौतम
  • भाद्र ६ २०८१, बिहिबार

म्याग्दी/१८ वर्षअघि रित्तोहात जागिरको खोजीमा भकिम्लीबाट बेनीबजारमा झरेकी लिला पुन अहिले ढाका र अल्लो कपडामा चलेकी उद्यमी हुन् । गाउँघरबाट तालिम लिने र जागिर खोजेर घरखर्च चलाउने योजना बुनेर निस्किएकी पुनलाई अहिले उत्पादनसँगै नयाँ उद्यमीलाई तालिम दिन भ्याइनभ्याई छ । म्याग्दी जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि ढाका उद्यमी भनेर चिनिन्छन् । उद्यमी पुनका उत्पादन संसारभरी पुग्छन् । स्वदेशमा र विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको छ ।
म्याग्दीको बेनी नगरपालिका–७, बेनीस्थित मंगलाघाटमा बस्ने लिलाले वार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायतका सामग्री विदेशमा बिक्री गर्छिन् । उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिकालगायत यूरोपका देशबाट नियमित अर्डर आउँछ । विदेशमा रहेका नेपालीको रोजाईमा ढाकाबाट बनेका डिजाइन पर्न थालेपछि उनले नयाँ उद्यमीलाई समेत प्रोत्साहन गदैं माग पुरा गर्छिन् । स्वदेश तथा विदेशबाट आउने मागअनुसार उत्पादन गर्न नसकेकी पुनले म्याग्दीका अन्य उद्यमीबाट खरिद गरी विदेश पठाउने गरेकी छन् । उनले स्वदेशभन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीलाई बिक्री गर्ने गरेको बताइन् । ‘माग थेग्नै सकिदैन, अहिले अल्लो र ढाकाबाट निर्मित साम्रागीलाई बजारको अभाव छैन’ पुनले भनिन् ।

उनले ग्राहकको रोजाई अनुसार ढाकाका कपडाहरू तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताइन् । ‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ, अहिले कोशेली दिन पनि ढाकाकै कपडाबाट बनेका डिजाइनहरू प्रयोग हुन्छ’ पुनले भनिन् । ढाकासँगै अल्लोका कपडा समेत बिक्री गर्ने गरेकी पुन सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निशुल्क तालिम दिन्छिन् । ‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु’ पुनले भनिन् । उद्यमीको परिचयसँगै यसपटक महिलाले पढ्ने उज्यालो बैकल्पिक विद्यालयबाट एसईईको परीक्षा दिएपनि सफल हुन सकिनन् । अर्को वर्ष जसरी पनि उत्तिर्ण हुने उनको तयारी छ । ‘तानमा बसेपछि समय बितेको पत्तै हुँदैन, अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ’ पुनले भनिन् । अहिलेसम्म पुनले २ हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण समेत दिएको बताइन् ।
म्याग्दीमा अल्लो र ढाकाका ३० जना उद्यमी सक्रिय छन् । म्याग्दीमा पुन बाहेक नेकसरा पुन, दिलु घताने, विष्णु गुरूङका साथै पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम दिन थालेपछि उद्यमीको संख्या बढेको छ । महिला उद्यमी दिल घतानेले अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिलाहरू आर्थिक रुपमा सम्पन्न रहेको बताइन् । म्याग्दीमा ढाका र अल्लो उत्पादनमा सक्रिय उद्यमीका अनुसार वार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गर्छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भएपनि अल्लो र ढाकाका वस्तु नै प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->