बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रक्तसंचारमा बजेट अभाव, २० लाखका उपकरण थन्किए !

रक्तसंचारमा बजेट अभाव, २० लाखका उपकरण थन्किए !

रेडक्रसको रक्तसंचारमा प्लेटलेस भण्डारन हुन नसक्दा जनशक्ती भएर पनि कतिपय बिरामी रिफर गर्न बाध्य भएका घटना छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८१, मंगलबार

बागलुङ/नेपाल रेडक्रसमार्फत बागलुङमा एकमात्र रक्तसंचार केन्द्र छ । तर यहाँ पर्याप्त रगत छैन । अर्थात् भण्डारन अभावमा चाहे अनुसारको रगत पाइदैन ।
बिशेषगरी यहाँ सेतो रगत अर्थात् प्लेटलेसको अभाव छ । वर्षातको समयमा सर्पले टोकेका बिरामी अस्पतालमा उपचारका लागि आइरहन्छन् । पछिल्लो समय त डेंगुका बिरामी पनि बढेका छन् । यी दुवै समस्यामा परेका बिरामीको रगत पातलो भएको हुन्छ । त्यो समस्या समाधानका लागि सेतो रगत अर्थात् प्लेटलेस चाहिन्छ ।
धौलागिरि अस्पतालमा दैनिक अपरेशन सेवामा पनि एकदुई जनालाई सेतो रगत आवस्यक पर्छ । तर, यहाँ सेतो रगत भण्डारन छैन । रेडक्रसको रक्तसंचारमा प्लेटलेस भण्डारन हुन नसक्दा जनशक्ती भएर पनि कतिपय बिरामी रिफर गर्न बाध्य भएका घटना छन् । अस्पतालमा अपरेशनका लागि विशेषज्ञ चिकित्सक पर्याप्त छन् । तर रगतकै कारण बिरामी पोखरा रिफर गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन् ।
रिफर भएर पोखरा पुग्दा थप दुइतीन घण्टा लाग्छ । उक्त समयमा बिरामीको मृत्युसमेत हुनसक्ने भएकोले रेडक्रसले उक्त सेवा थप गर्न खोजेको छ । तर, आएका केही उपकरणले मात्र नपुग्दा दाताको खोजीमा रहेको सभापति जगन्नाथ आचार्यले बताए । ‘यो डी श्रेणीको रक्तसंचार हो, हामीले सी श्रेणीको बनाउन खोजेका छौं’ आचार्यले भने ‘कम्तिमा सेतो रगत भण्डारन गर्ने व्यवस्थापन खोजेका हौं ।’
रातो रगतबाटै सेतो बनाउन सकिन्छ । तर कम्पोटेन्ट मेसिन चाहिन्छ । रेडक्रसले सेतो रक्तकोष, प्लेटलेस र प्लाज्मा संकलनको लागि प्रयास गरेपनि बजेट अभाव हुँदा २ वर्षदेखि सामान स्टोरमा थन्केका छन् । ‘हामीले सबै जनप्रतिनिधिलाई पटक पटक आग्रह गरेका छौं, थोरै थोरै सहयोग गरेर भएपनि रक्तसंचार संचालन गरौं,’ उनले भने, ‘कम्तिमा ३५ लाख रुपैयाँ संकलन भए रक्तसंचार संचालनमा आउनेछ ।’ थप सहयोग नपाउँदा झण्डै २० लाखका सामान स्टोरमा थन्किएका छन् ।
रक्तसंचार केन्द्रका श्रोत व्यक्ति गुरुप्रसाद शर्माले अहिले बढीमा ५० पिन्ट मात्रै रगत भण्डारन क्षमता भएको बताए । भएका उपकरण पनि संचालनमा ल्याउन सकेमा क्षमता दोब्बर बढ्ने उनी बताउँछन् । सामान्य अवस्थामा थोरै रगत संकलन गरेर पनि पु¥याएका छौं’ शर्माले भने, ‘दुर्घटनाका बिरामी आउँदा क्षमताले पुग्दैन ।’
वर्षातमा बढी सेतो रगत आवस्यक पर्दा धेरै बिरामीलाई पोखरा रिफर गर्नुपरेको धौलागिरि अस्पतालका कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंंगानाले बताए । ‘अन्य समस्याका बिरामीलाई पनि प्लेटलेस र प्लाज्मा आवस्यक पर्छ’ उनले भने, ‘रक्तसंचारमा दुवै रगतको भण्डारन आवश्यक पर्छ ।’ रातो रगत चाहिंदा सम्पर्कमा रहेकालाई बोलाउन सकिए पनि सेतो रगतका लागि मेसिन नै चाहिन्छ ।
रक्त संचार केन्द्र छिमेकी पर्वत र म्याग्दीमा समेत छैन । जसका कारण रगतको आवस्यकता पर्ने बिरामीलाई तत्काल बचाउन धौलागिरि अस्पताल ल्याइने गरिन्छ । तर, सेतो रगत अभाव भएमा तत्काल उपचार असंभव हुने गरेको हो ।

(सामाचारको शिर्षक सम्पादन गरिएको )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->