आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘पोखरामा सम्भव छ, सरकारको चासो छैन’

‘पोखरामा सम्भव छ, सरकारको चासो छैन’


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

पोखरा/पोखराको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बनाउन सकेमा सन् २०२७ को यु १९ महिला विश्वकप हुने भएको छ । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरा योग्य भएपनि पूर्वाधार पूर्ण नभएकाले विश्वकप गुमाउने खतरा बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पोखरामा रहेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाएमा यु–१९ विश्वकप पोखरामा गराउन सम्भव रहेको बताए । तर, संघ र प्रदेश सरकारले यसतर्फ कुनै दिन चासो नदिँदा पोखराले ठूलो अवसर गुमाउने देखिएको उनले सुनाए ।
पोखरामा शुक्रबारबाट सुर अम्पाएर रेफ्रिसिङ तथा अनलाइन स्कोरिङ कोर्षको उद्घाटन सत्रमा बोल्दै क्यान अध्यक्ष चन्दले पोखरा रंगशालामा क्रिकेट मैदान बनाउनका लागि संघ र प्रदेश सरकारले अपनत्व नलिएको भनाए राखे । ‘विश्वकपका केही खेल काठमाडौं बाहिर हुँदैछ । तराइमा पनि खेल हुनेछ तर त्यहाँको मौसम अनुकूल छैन जनवरीमा पोखराको मौसम अनुकुल हुन्छ । यहाँ विश्वकपको सम्भावना छ तर संघ र प्रदेश सरकारले यसतर्फ ध्यान दिएको देखिँदैन,’ उनले भने, ‘विश्वकप खेलाउन पाउनु सामान्य कुरा पनि होइन हामीले भनेर मात्र नहुने पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियमको खाँचो छ ।’
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आगामी सन् २०२७ मा यु–१९ महिला विश्वकप क्रिकेट नेपालमा गर्दैछ । आइसिसीले २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई संयुक्त रुपया आयोजना गर्ने अवसर दिएको हो । विश्वकप पोखरामा गराउनका लागि प्रादेशिक क्रिकेट संघ गण्डकी र कास्की जिल्ला क्रिकेट संघले अथक प्रयास गरे पनि राज्यले यसतर्फ ध्यान दिन सकिरहेको छैन् । संघले वेवास्ता गरिरहँदा प्रदेश सरकारले समेत आफ्नै आँगनमा हुने विश्वकपका लागि कुनै चासो नदेखाउनु दुःखको कुरा हो ।
चन्दले आइसीसी र एसिसीले आयोजना गर्ने खेलहरु जति धेरै भयो त्यति नै नेपाललाई फाइदा हुनुका साथै अम्पायरहरुको स्तर वृद्धि हुने सुनाए । पछिल्लो समय नेपाली क्रिकेटको चर्चा विश्वजगतमा चलिरहँदा अम्पायर रिफ्रेसिङ तथा अनलाइन स्कोरिङ कोर्ष गर्नु महत्वपूर्ण कार्य रहेको उनको भनाइ छ । साथै प्रधानमन्त्रीदेखी मेयरसम्म सबैलाई जनताले क्रिकेटबारेमा दबाद दिँदा अबको पाँच वर्षमा ३–४ वटा अन्तर्राष्ट्रिय स्टेडियम बन्नेमा आफू आशावादी रहेको सुनाए ।
सोही क्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले पोखरामा क्रिकेट स्टेडियम बनाउनका लागि संघ र प्रदेश सरकार एक हुन आवश्यक रहेको बताए । उनले परिषदले खेल्छ गण्डकीमार्फत् महिला क्रिकेटर विकास गर्ने प्रयास गरेको सुनाए । अब नेपालमा क्रिकेटको सिजन सुर भएकाले विभिन्नस्तरमा रहेका अम्पायरका लागि यो कोर्षले राहत मिल्ने देखिएको छ । नेपालमा ९० अम्पायर, २५ लेभल २ गरेका, २२ जना लेभल १ गरेका अम्पायर छन् । क्रिकेट अम्पायर तथा स्कोरिङ एसोसिएसनको आयोजनामा जारी कार्यक्रम दुई दिनमात्र भएको छ ।
प्रदेश खेलाडीलाई समेत पारिश्रमिक
यस्तै बिहीबार बसेको क्यानको बैठकबाट अब प्रदेशस्तरका खेलाडीले समेत पारिश्रमिक पाउने भएका छन् । क्यानको केन्द्रिय कार्यसमिति बैठकले प्रत्येक प्रदेशमा २ महिला र ३ पुरुष गरि पाँच–पाँच जनालाई पारिश्रमिक दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘नेपाल क्रिकेट संघले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागू हुने गरी मासिक १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने र ३५ जना खेलाडीहरुको पारिश्रमिक वापत्को बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्बन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।’
क्यान अध्यक्ष चन्दले क्रिकेटलाई ग्रासरुटसम्म लैजानका लागि अब प्रदेशसम्मका खेलाडीलाई पारिश्रमिक दिने व्यवस्थाको सुरुवात गर्न प्रयास गरेको सुनाए । यसले खेलाडीमा खेलप्रतिको लगाव बढ्ने र उत्कृष्ट खेलाडी विकासमा सहयोग पुग्ने बताए ।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेशस्तरका खेलाडीलाई पारिश्रमिक दिनु सामान्य कुरा नरहेको बताए । क्यानको यो कदम क्रिकेटमा नयाँ सुरुवात रहेको बताउँदै उनले प्रदेशहरुमाथि थप जिम्मेवारी थपिएको स्पष्ट पारे । यस्तै गण्डकीमा यु १९ महिला क्रिकेटको विश्वकप ल्याउनका लागि प्रयास गरिरहेको र प्रदेश सरकारले साथ नदिएको गुनासो गरे । उनका अनुसार प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुँदा खेलकुदलाई मात्र नभइ पर्यटनलाई समेत ठूलो सहयोग पुग्ने भएतापनि प्रदेश सरकार र राज्यले यो बारेमा चासो नदिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->