लेखनाथ/पोखरा महानगरपालिका २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले १७ औं पुस्तकालय दिवसको अवसरमा ‘पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का २९ विद्यार्थीहरु सहभागी वक्तृत्वकलामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश माविकी अनुसा काफ्ले दोस्रो र डायमण्डकै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल गरिन् ।
कार्यक्रमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकास गर्न पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको बताए । दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल निर्णायक रहेको कार्यक्रममा वक्ताहरुले पठन संस्कृति जगाइराख्नुपर्नेमा जोड दिएका थिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेलले गरेका थिए । विजयीलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पुरस्कार वितरण गरेका थिए ।





