पोखरा/पोखरामा भएको दोश्रो इन्टर स्कुल ब्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ ।
पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मुल नाराका साथ शनिबार भएको फाइनल प्रतिस्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतिस्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो भने फिस्टेल एकेडेमीले तृतीय भयो । द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियागिताको बेष्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेष्ट लिड गिटारिष्टमा प्रतिभा माविका सायूस बज्राचार्य उत्कृष्ट घोषित भए ।
त्यस्तै, बेष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कूल, बेष्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कूल र बेष्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए ।
प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कूल र जुरी च्वाइसमा मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।





