आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लामाचौरकप भलिबल : गण्डकी र एपिएफको खेल रोकियो

लामाचौरकप भलिबल : गण्डकी र एपिएफको खेल रोकियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

पोखरा / पोखरामा जारी लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिसले लगातार दोस्रो जित हासिल गर्दा गण्डकी र एपिएफको खेल रोकिएको छ । पोखरा नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा पुलिसले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० सोझो सेटमा हराउँदा उता गण्डकी र एपिएफको खेल १–१ सेटको बराबरीमा चल्दा प्रकाश अभावका कारण रोकिएको छ ।

लामाचौर इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको खेलमा पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हरायो । जितसँगै पुलिस ६ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई सोझो सेटमै हराएको थियो ।

दोस्रो खेलमा जित्नै पर्ने दबाबका साथ एपिएफको सामना गरेको गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमायो । विहान वर्षा भएपछि खेल ढिला गरि सुरुहुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शंकर केसीले जानकारी दिए ।

विहान महिलातर्फको खेल हुने समयमा वर्षा भएको थियो । राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने केसीले जानकारी दिए ।

महिलातर्फ विहान भएको खेलमा न्यु डायमण्डले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । गण्डकीलाई पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेटमा २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै दुइ खेलबाट स्पष्ट ६ अंक जोड्न सफल भयो । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

यस्तै महिलातर्फकै दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टले २५–१३ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यो संगै एपिएफको ६ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ । हारसंगै एभरेष्ट अंक विहिन बनेको छ । यस्तै गण्डकी समेत अंक विहिन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->