तस्बिर : नारायण रिजाल
बागलुङ/स्वास्थ्य कार्यालय बागलुङको अगुवाईमा जिल्लाका १० वटै पालिकाको सहभागितामा वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले समीक्षा कार्यक्रमको उद्घाटन गरे ।
गत आर्थिक वर्षभरी स्थानीय तहमा भएका स्वास्थ्यका कार्यक्रमको समीक्षा, चालुवर्ष के कस्ता काम गर्ने योजनाको प्रस्तुती र समग्र स्वास्थ्य कार्यालयको वार्षिक नीति, कार्यक्रम र मन्त्रालयबाट स्वास्थ्य क्षेत्रमा गरिने कार्यक्रमबारे छलफल हुने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायतका उच्च पदस्थ अधिकारी सहभागि छन् । उनीहरुले गण्डकी प्रदेशका ११ वटै जिल्लाको समीक्षाको निष्कर्ष निकाल्ने र हरेक पालिकालाई अब्बल बन्न प्रेरणा दिने काम गरेको बताए । ‘हरेक पालिकाले अब्बल बन्ने प्रयास गर्नुपर्छ’ गण्डकी प्रदेश स्वास्थ्य सेवा विभागका महानिर्देशक खिमबहादुर खड्काले भने, ‘आम नागरिकको स्वास्थ्य सुरक्षा भएमा अन्य विकास निर्माणले पनि गति लिनेछ ।’ हरेक पालिकाले आमा सुरक्षा, नागरिकको स्वास्थ्य अधिकारको रक्षा र तथ्यांक संकलनमा अब्बल बन्नुपर्ने उनले धारणा राखे ।
कार्यक्रममा दशवटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुले वर्षभरीको कार्यप्रगतीबारे जानकारी गराएका थिए । संघियता लागू भएको वर्ष पालिका तहको समीक्षा गर्न सकिने वा नसकिनेमा स्वास्थ्य कार्यालय र मन्त्रालय तहमा पनि अन्यौलता रहेकोमा अहिले सहज र उत्कृष्ठ रुपमा काम भएको, भएका कामको प्रगती समीक्षा पनि उचित रुपमा संचालन भएको खड्काले अनुभव बताए ।
उक्त अवसरमा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्रका प्रमुख र प्रतिनिधिले मानव स्वास्थ्यका लागि कृषि र भेटेनरी क्षेत्रको सुरक्षा पनि आवस्यक भएको बताए । अस्वस्थ्य कृषि फसल र पशुचौपायाबाट पनि मानव स्वास्थ्यमा जटिल समस्या आउने भन्दै त्यसबारे स्वास्थ्य शाखा सचेत बन्नुपर्ने र मानव स्वास्थ्यका लागि ती संस्थामा सहकार्य गर्नुपर्ने सुझाव दिएका थिए ।
सोमबारसम्म चल्ने समीक्षाबाट आगामी दिनको लागि उचित योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्दता सबैले जनाएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामै हुने समीक्षाको पहिलो चरणमा बागलुङले कार्यक्रम गरेको हो । समीक्षा कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यको अध्यक्षता र तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।





