तस्बिर: नारायण रिजाल
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्दै नसर्ने रोगको रोकथाम गर्न सकेमा आम नागरिकको ज्यान बचाउन सकिने बताएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले रोग लागेर मृत्यु भएकाहरुमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगको कारण भएको पत्ता लागेको बताए । उनले उक्त तथ्यांक भेटेकै कारण पदबहाली गर्दा नसर्ने रोगको स्क्रिनिङ गर्ने निर्णय गरेको समेत बताए ।
सोमबार बागलुङमा आयोजित कार्यक्रममा उनले प्रदेश तहका अस्पतालको संख्या बढाएर नागरिकको उपचार र सेवामा पहुँच बढाउन खोजेको बताए । नागरिकको स्वास्थ्य सेवामा सरकारले लगानी बढाउँदा विकास निर्माण र अन्य क्षेत्रको सुधार छिटो हुने उनको दाबी थियो । त्यस बाहेक बालविवाह अन्त्य र आमा सुरक्षाका कार्यक्रम प्रभावकारी भएमा गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने पनि पाठकले बताए । मन्त्री पाठकले आफ्नो इच्छाशक्ती र स्वास्थ्यकर्मीको पहलकदमीले त्यो सफलता पाउने पनि दाबी गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्वास्थ्य सेवा प्रभावकारी हुँदा दक्ष जनशक्ती निर्माणमा सहयोग पुग्ने बताए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले स्वास्थ्यकर्मी प्रोत्साहित भएमा सेवा चुस्त हुने भन्दै मातृ मृत्यु शुन्य बनाउने अभियानमा स्थानीय सरकारले पनि साथ दिने बताए । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सूचकहरु सुधार गर्नेगरी काम गर्दा उपलब्धी पनि देखिने र आम नागरिकको स्वास्थ्य पनि सुधार हुने बताए ।
स्वास्थ्य कार्यालय बागलुङले संचालन गरेको समीक्षामा गतवर्ष कामको मूल्यांकनको आधारमा बडिगाड गाउँपालिका प्रथम, गलकोट नगरपालिका द्वितिय, तमानखोल तृतिय र बरेङ सान्त्वना भएका थिए । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
व्यवस्थापनतर्फ व्यानर समेत बनाएर रिपोर्टिङ गर्नेमा गलकोट प्रथम, ढोरपाटन द्वितिय, बागलुङ तृतिय भएका थिए । समीक्षापछि आगामी दिनको कार्ययोजना समेत बनाएर पालिकाका स्वास्थ्य शाखाका प्रमुख सहितका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा खटिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का सहितका नेतृत्व पनि सहभागि थिए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेल र आर्युवेद औषधालयका प्रमुखले वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





