
पोखरा/पोखरा महानगरपालिकाले १० वटा सामुदायिक विद्यालयमा निशुल्क चिनियाँ भाषा पढाउने भएको छ । यससम्बन्धि आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो ।
महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् । चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक शिक्षक पोखरा आइपुगिसकेको महानगरले जनाएको छ । मुस्ताङचोकको पार्दी माध्यमिक विद्यालय, नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय, भण्डारढिकको जनप्रकाश माध्यमिक विद्यालय, छोरेपाटन मावि, शिशुवाको लक्ष्मी आदर्श मावि र हेमजाको गौरीशङ्कर माध्यमिक विद्यालयमा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ । यसैगरी हेमजाकै विष्णुपादुका मावि, टुंडीखेलको राष्ट्रिय मावि, अर्घौंको लक्ष्मी मावि र जनप्रिय माविमा पनि अतिरिक्त कक्षाका रुपमा भदौ २७ देखि निशुल्क चिनियाँ भाषाको कक्षा संचालन हुने महानगरले जनाएको छ ।
‘यसले विद्यार्थीको मातृभाषा बाहेक थप भाषाको ज्ञानले भविष्यमा व्यक्तिगतरुपमा र पर्यटन प्रवद्र्धनमा समेत विशेष सहयोग पुग्ने विश्वास लिइएको छ’, महानगर प्रमुख धनराज आचार्यले भने, ‘भूमण्डलीकरणको पछिल्लो परिवेशमा अध्ययन, अवलोकन र पर्यटन लगायत विभिन्न व्यवसायीक क्षेत्रहरूमा भाषागत ज्ञानको निपुर्णताले व्यक्तिगत सबलीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।’
कक्षा संचालन पूर्व आइतबार महानगर प्रमुख, शिक्षा महाशाखाका कर्मचारी , सम्बन्धित बिद्यालयका प्रधानाध्यापक, चाईनिज ओवर्सिज एसोसिएसन र भोलियन्टियर शिक्षकबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। यस काममा सहयोग र सहजिकरण गर्ने नेपाल चीन फ्रेन्डशिप एसोसिएसन, चिनियाँ दुताबास, विद्यालय प्रशासन सहित सहयोगीहरुमा प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरेका छन ।





