बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रुपा गाउँपालिकामा गर्भवतीको नियमित परीक्षणका निम्ति अण्डा वितरण

रुपा गाउँपालिकामा गर्भवतीको नियमित परीक्षणका निम्ति अण्डा वितरण

मातृशिशु मृत्युको प्रमुख कारणमध्ये नियमित स्वास्थ्य परीक्षणमा कमी देखिनु हो ।


  • विजय नेपाली
  • भाद्र २४ २०८१, सोमबार

पोखरा/कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुले नियमित स्वास्थ्य परिक्षण दरमा कमी आएपछि अण्डा वितरण कार्यक्रम अघिसारेको छ । अभियानअन्तर्गत पालिकाभित्र रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा गर्भवती अवस्थामा प्रोटोकल अनुसारको नियमित स्वास्थ्य जाँच गराउनेको संख्यामा कमी भएपछि अण्डा वितरण गरिने छ ।
अहिले पालिकाले प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउन आउँदा अण्डा वितरण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । महिलामा पोषणको काम पनि हुने र नियमित परीक्षणमा समेत सवल हुने भन्दै पालिकाले अण्डा वितरण अभियान थालेको उनले बताए ।
‘अस्तिमात्र हामीले पालिका भित्र एउटा समीक्षा ग¥यौ । त्यतिबेला गर्भवती महिलाले नियमित परीक्षण गराउने दर अलि कम भयो भन्ने कुरा आयो । त्यसपछि हामीले मातृशिशु मृत्युदर कति छ भन्ने हे¥यौँ,’ उनले भने,‘प्रमुख कारणमध्ये नियमित स्वास्थ्य परीक्षणमा कमी देखिनु हो भन्ने भएपछि हामीले यो अभियान थाल्यौँ । यो ८ पटक हुँदो रहेछ । प्रत्येकपटक स्वास्थ्य जाँचका लागि आउँदा एक के्रड अण्डा पाउनुहुनेछ ।’ पालिकाले यसअघि गर्भवती महिलाहरुलाई क्याल्सियम चक्की निशुल्क र गर्भवती भएपश्चात एक हजार रुपैयाँका दरले दिँदै आएको थियो ।
पालिकामा रहेको अस्पतालबाट इसिजीसहितको सेवाको तयारी भइरहेको छ । त्यतिमात्र होइन पालिकाको अस्पताललाई केन्द्र बनाएर स्वास्थ्य विमा गरेकाको आधा रकम पालिकाले नै तिरिदिएको छ । हाल पालिकाले ४० वर्षमाथिका नागरिकलाई टोलटोलमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम समेत लिएर आएको छ । जसका कारण पालिकाभित्र सो समुहका नागरिकमा देखिने विभिन्न रोगहरु, अपांगदर घटाउनका लागि पालिकाले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम अघिसारेको छ । हाल पालिकामा चार सय ४१ जना अपांग भएका व्यक्ति रहेका छन् । टोलसमाजमा चेतना जगाउनुपर्नेमा अध्यक्ष ओझाले जोड दिँदै सोमबारबाट पालिकाभर कार्यक्रमको सुरुवात भएको र आगामी वर्ष यसको प्रतिफल आएपश्चात थप व्यवस्थित गरेर जाने सुनाए ।
सबै नागरिकले स्वास्थ्य पहुँच पाउने गरी वडा नम्बर १, २, ३ र ७ मा स्वास्थ्य पहुँच नपुग्ने भएकाले आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । पालिकामा मातृशिशु मृत्युदर शुन्य बनाउने उनले सुनाए ।
प्रमुख प्रशाशकीय अधिकृत चीरञ्जिवी बरालले पालिकामा अस्पतालसँगै स्वास्थ्य केन्द्र हुँदा पनि नागरिक सेवा लिन पोखरा झर्ने गरेको बताए । उनले गर्भवती महिलाको नियमित परीक्षण पालिकामै हुन्छ । नजिकै सेवा रहेको र सामान्य गर्भवती हुने अवस्था रहँदा समेत पोखरा वा निजी अस्पतालमा जाँदा महँगो रकम तिर्नुपर्ने बाध्यता रहेको बताए । गर्भवतीको नियमित परीक्षणको क्रममा चौथो पटक आएकी लिलामाया मगरले पालिकाको यो कार्यले निकै खुसी लागेको बताइन् । उनले आर्थिक अवस्था कम्जोर भएकालाई पनि केही राहत मिल्ने सुनाइन् । यस्तै पहिलो पटक परिक्षणका लागि आएकी आस्था खड्कीले गर्भवती महिलाको लागि पालिकाले निकै सुविधा दिएको सुनाइन् । परीक्षणका लागि आउँदा धेरै सुविधा पाएको अनुभवे गरेको उनले सुनाइन् ।
पालिकामा प्रयोगशालाको परिक्षण भए राम्रो हुने आनन्दराज जोशीले बताए । उनले गर्भवतीहरुका लागि भिडियो एक्स–रे उपलब्ध भए थप प्रभावकारी हुने सुनाए । रुपमा एक अस्पताल, ४ स्वास्थ्य चौकीलगायत ९ वटा स्वास्थ्य कार्यालय रहेका छन ।
स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७५ ले २०७४/०७५ मा गर्भवतीसम्बन्धी सबै सूचकको कार्यसम्पादन घटेको देखाएको छ । राष्ट्रिय प्रोटोकल अनुसार चौथो महिनासम्ममा पहिलो गर्भावस्था परीक्षण गराउन आउने गर्भवती महिलाको अनुपात अपेक्षित जीवित जन्मको ७० प्रतिशतबाट २०७४/०७५ मा ६६ प्रतिशतमा झरेको छ । हाल उक्त प्रोटोकल बढाएर ८ पटक गर्भवती परिक्षण गराउने व्यवस्था गरिएको छ ।
प्रोटोकल अनुसार गर्भ रहेको पहिलोपटक १२ हप्तामा परीक्षण गराउनुपर्छ । दोस्रो पटक १६ हप्ता, तेस्रो २० देखी २४ हप्ता, चौथो २८ हप्ता, पाँचौ ३२ हप्ता, छैठौं ३४ हप्ता, सातौं ३६ हप्ता र आठौं पटक ३८ देखि ४० हप्तामा स्वास्थ्य जाँच गराउनुपर्छ ।
नेपालमा मातृ मृत्यु अनुपात सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा ५३९ रहेकोमा सन् २००६ मा घटेर २८१ पुगेको थियो । सन् २००६ देखि २०१६ प्रगति दर सुस्त भइ मातृ मृत्यु अनुपात २३९ रह्यो । सन् २०३० सम्ममा प्रति एकलाख जीवित जन्ममा मातृ मृत्यु अनुपात घटाएर ७० पु¥याउने र प्रति एकहजार जीवित जन्ममा नवजात शिशु मृत्यु अनुपात १२ मा घटाउने दिगो विकास लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->