बागलुङ/कुनै समय रक्तसमुह छुट्टाउन समेत धौलागिरी अस्पताल पुग्नुपर्ने बरेङबासीले अहिले गाउँकै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लिन्छन् । पालिकाको केन्द्र हुग्दीशिर स्वास्थ्यचौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । सामान्य रोगको पहिचान त्यहिं प्रयोगशालामा हुन्छ । गाउँमै उपचार हुने भए स्वास्थ्यकर्मीले औषधि चलाउँछन् । सम्भव नभए नजिकैको अस्पतालमा रिफर गरिन्छ ।
बरेङ मात्रै होईन्, भौगोलिक हिसाबले दुरदराजका तमानखोला गाउँपालिकाको बोंगादोभान स्वास्थ्यचौकी, निसीखोलाको बोहोरागाउँ स्वास्थ्यचौकीमा पनि प्रयोशाला सेवा बिस्तार भएको छ । गाउँ गाउँमा पुगेका प्रयोगशालाले बिरामीले समयमा उपचार पाउन थालेका छन् । गाउँकै प्रयोगशलालले सुविधा पाएपछि बिरामीको समय र खर्च दुवै बचेको छ ।
स्थानीय तह गठन पछि गाउँ गाउँमा स्वास्थ्यका पूर्वाधार, उपकरण र सेवासुविधा बिस्तारको लहर चलेको थियो । सर्वसाधारणलाई स्वास्थ्य सुविधाको पहुँचमा ल्याउन स्थानीय तहले जोडबल गर्न थाले । त्यहीं जोडबलका बीचमा सारथी बन्यो ग्रामिण स्वास्थ्य सुधार परियोजना । भीमापोखरा युवा क्लब (बीवाईसी) बागलुङ र फेयरमेड फाउण्डेसनको संयुक्त प्रयासमा सञ्चालनमा आएको परियोजनाको ६ वर्ष अबधि पुगेको छ ।
दोस्रो चरणको कार्यक्रम सकिनै लाग्दा परियोजनामार्फत जिल्लाभर ३३ वटा प्रयोशालालाई सहयोग गरिएको छ । ‘स्थानीय तहले जनशक्तिको व्यवस्थापन गरेपछि हामीले पूर्वाधार र उपकरणमा सहयोग गरेका थियौं’ बीवाईसीका अध्यक्ष तोयानाथ गौतमले भने ‘हरेक पालिकामा हामीले प्रसुती प्रतिक्षा घर निर्माणको अभियान चलायौं, अहिले त सबै पालिकामा प्रसुती प्रतिक्षा घर बनेका छन् ।’ सबै लगानी सरकारले गरेका बाहेक आधारभुत तहको प्रयोगशाला स्थापनामा कार्यक्रम प्रभावकारी भएको गौतमले दाबी गरे ।
जिल्लाका १ सय १९ स्वास्थ्य संस्थामध्ये ७६ संस्थामा कार्यक्रमले सहयोग गरिसकेको छ । ‘स्थानीय तह गठन पछि स्थापना भएका स्वास्थ्य संस्थाबाहेक दुर्गमका सबै स्वास्थ्य संस्थामा हामीले सपोट गरेका छौं’ परियोजनाका कार्यक्रम संयोजक दिपक शर्माले भने ‘स्थानीय तहको अपनत्व हुनेगरी काम भएका छन् ।’ प्रयोगशाला, बेबी वार्मर, बिरामीका लागि बिस्तरा, प्रसुती प्रतिक्षा घर, अपांगता भएका व्यक्तिका लागि आवश्यक साधन, सीपमुलक तालिम लगायतका कार्यक्रम परियोजनाले सञ्चालन गरेको छ ।
फेरमेडका गणेश बरुवालले जिल्लामा घरमा सुत्केरी हुनेको संख्या सुन्यमा झार्न र आमा र बच्चाको ज्यान जोगाउन कार्यक्रमले सहयोग गरेको दाबी गरे । ‘बच्चाको मुटुको धड्कन नाप्ने यन्त्र सबैभन्दा धेरै स्वास्थ्य संस्थामा पुग्ने बागलुङ पहिलो जिल्ला हो’ बरुवालले दाबी गर्दै भने ‘यहाँका स्थानीय तहको सहभागिता र सक्रियता अनि हाम्रो उपलव्धी खोज्ने कार्यक्रमले यो सबै सम्भव भएको हो ।’ बिहिबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्यक्रमले तेस्रो फेजको तयारी गरेको जनाएको छ । कार्यक्रमलाई निरन्तरता दिँदा आमा बच्चाको स्वास्थ्य सुरक्षा, उपेक्षीत रोगहरुको संक्रमण रोक्ने र अपांगता भएकाहरुको सामाजिक सशक्तिकरणमा नविन तरिकाहरुको खोजी हुने बताईएको छ ।





