नवलपुर / गण्डकी प्रदेश सरकारका कृषि, सहकारी तथा भुमी मन्त्री पद्मा जिसि श्रेष्ठले संस्कृति र सभ्यता संरक्षणमा युवा पुस्ता जाग्नुपर्ने बताएकी छिन् ।
नेपाल नेवा देय दवुको ३० औं स्थापना दिवसको अवसरमा नेवा देय दवु गैडाकोटले शनिवारदेखी शुरु गरेको नेपाल भाषाको एक महिने निःशुल्क भाषा तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिने तर संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन नसकिने बताईन ।
उनले भनिन्, ‘हाम्रो संस्कृति र सभ्यता अमर राख्न सबै एकजुट भएर लाग्नुपर्छ, यसका लागि युवापुस्ता नै जाग्नु पर्दछ । यसका साथसाथमा संस्कृति र सभ्यतालाई युवा पुस्तामा पनि पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो ।’
नवलपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित पद्मा जिसि श्रेष्ठ गण्डकी प्रदेशको नव गठित मन्त्री परिषदमा पदभार ग्रहण गरेसगै पहिलो पटक गृह जिल्ला आएकी हुन् ।
गण्डकीको कृषि, सहकारी तथा भुमी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला आएकी मन्त्री श्रेष्ठ विभिन्न संघ संगठन र नेकपा एमालेका बिभिन्न कमिटि तथा भातृ संगठनहरुले सम्मान गरेका छन ।
मन्त्री श्रेष्ठलाई शनिबार नेवा देय दवु गैडाकोट, नेकपा एमाले गैडाकोट नगर कमिटि र देवचुली नगर कमिटिले सम्मान गरेको छ भने आईतबार कावासोती नगर कमिटिले सम्मान गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।





