बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानसिक रोगी बढ्न नदिन हिंसाको समयमा उपचार

मानसिक रोगी बढ्न नदिन हिंसाको समयमा उपचार


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८१, सोमबार

बागलुङ/पछिल्लो समय मानसिक रोगका बिरामी बढेका छन् । जसका कारण आत्महत्यालगायत अपराधका घटना पनि बढेको पाईएको छ । स्वास्थ्यकर्मीले पनि यस्तो समस्या भएका मानिसको उपचारमा साथ दिन सकेमा आत्महत्याका घटना घट्ने बताउँछन् । शारीरिक हिंसामा परेकाहरुलाई तत्काल उपचार गराएर निको पार्न सकेपनि मानसिक हिंसामा परेकाहरु उपचार नपाएर बिरामी पर्ने गरेको भेटिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
आफन्तबाट हिंसामा परेकाहरुको लागि त मनोसामाजिक परामर्श सहितको उपचार केन्द्र नभएर धेरैले आत्महत्याको बाटो रोजेको पाइएको हो । ती मध्येकै आफन्तबाट बलात्कारमा परेकी एक बालिकाले नगरपालिकाको अल्पकालिन महिला सेवा केन्द्रमा बसेर उपचार गराएपछि मानसिक समस्याको उपचारमा समस्या भएको महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यले बताइन् । त्यस्ता पीडितका लािग मनोसामाजिक परामर्शकर्ता ल्याउन आर्थिक चुनौती भएको उनले बताइन् । बजेटको दिगो श्रोत अभावमा पीडितलाई पुनस्थापना गर्ने काम पनि चुनौतीपूर्ण छ ।
त्यसो त लामो समयसम्म मनोसामाजिक परामर्श गर्दैमा पनि सबैजना निको हुन्छन् भन्ने छैन । तर पीडितलाई जिविकोपार्जनमा लगाउन सकेमा कमाइ गरेर खाने र पीडा भुल्नेमा त्यस्ता कार्यका लागि बजेट अभाव छ । हिंसामा पर्ने अधिकांस महिला र बालबालिकाहरु आफन्तबाटै पीडित भएको भेटिएको हो । तत्काल उनीहरुलाई दिने सेवाबाहेक समाजमा पुनस्थापना गर्न खोज्दा अझै असुरक्षा हुने गरेको हो । केन्द्रले ४५ दिन राखेर चोटपटकको उपचार, कानूनी सेवा र अन्य सुरक्षाको व्यवस्थापन गर्दै आएको छ । तर यो क्रम बागलुङसंगै अन्य पालिकाले यो काम गर्न सकेका छैनन् ।
अन्यत्र सेवा नभएकोले जिल्लाभरका पीडितहरु अनुकुल पर्दा सदरमुकाम आउने गरेका छन् । तर सबै आउन नसक्दा पीडित न्यायको पहुँचमा छैनन् । कतिपयलाई समाजमा पुनस्थापना कठिन भएको आचार्यले बताइन् । शारीरिक, मानसिक हिंसा, आर्थिक शोषण र यौनजन्य हिंसा खेपेका महिलालाई जीविकोपार्जनका लागि एकीकृत कार्यक्रम चाहिने सरोकारवालाको भनाई छ । उनीहरुलाई एकीकृत बजेट र कार्यक्रम ल्याउन सबै पालिकालाई पनि साझा लगानी गर्न सुझाव दिनुपर्ने मनोसामाजिक परामर्शकर्ता मधु शर्माले बताइन् । पीडितलाई सिधै परिवारमा पठाउन नसकिने भएपछि थप बजेटबाट परामर्श र त्यसपछि व्यवसायमा लगाउनुपर्ने आवस्यकता उनले औल्याइन् । हरेक वर्ष सदरमुकाममा १ सयबढी पीडित आउने गरेका छन् ।
त्यसबाहेक बैदेशिक रोजगारीले पुरुष पीडित पनि बढेका छन् भने अन्य घटनाबाट पनि बैदेशिक रोजगारीमा समेत महिला पीडित बढी छन् । तर गण्डकी प्रदेश सरकारले बजेट थोरै दिंदा काममा समस्या भएको आचार्यले गुनासो गरिन् । त्यसका लागि प्रदेश सरकारबाट बजेट बढाएर माग गरिदिन वा स्थानीय तहले रकम बढाएर दिनुपर्ने माग बढेको हो । गत वर्ष केन्द्रले ९५ जना पीडितको उपचार गराएको छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सबै पालिकाले साझा कार्यक्रम बनाएर लगानी गर्न सकेमा छुटेकाहरु पनि उपचारको दायरामा आउन सक्ने बताए । ‘हामी कुरा गर्छौ, पीडितलाई उपचारको दायरामा ल्याउने काम गरौं’ श्रेष्ठले भने, ‘सबै पालिकाले बनाउने साझा कार्यक्रममा केही नमूना र साझा योजना बनाउनै पर्छ ।’ ती योजना बनाउँदा जिल्लाभरका पीडित नछुट्ने र हिंसा पीडितको समस्या समाधान गर्दा उनीहरुको आयआर्जन बढाउन पनि पहल हुने उनले बताए ।
छिमेकी पर्वतमा भने अझैसम्म केन्द्रको प्रयोग भएको छैन । गत वर्ष एकजना मात्रै राखेर उपचार गराइएको थियो । पीडितको लागि नेपाल बार एसोसिएसनको निशुल्क कानूनी सहायता समितिले कानूनी लडाइमा साथ दिन्छ । खानेबस्ने र व्यवसायमा जोडिने कामका लागि बजेट र कार्यक्रम बढाउनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->