पोखरा/गण्डकी प्रादेशिक क्रिकेट संघले सोमबार तेस्रो साधारण सभाको आयोजना ग¥यो । संघले आयोजना गरेको साधारणसभामा चर्चा पोखरा क्रिकेट पूर्वाधारकै चल्यो । गण्डकी प्रदेशका सामाजिकमन्त्री विन्दुकुमार थापाबाहेक अन्य अतिथिहरुले अन्तर्राष्ट्रिय पूर्वाधार पोखरामा आवश्यता रहेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) का सदस्य सुदिप शर्माले गण्डकी प्रदेश क्रिकेटको गतिविधिमा उत्कृष्ट रहेको बताए । उनले संघले पारदर्शीतादेखि खेल गतिविधि समेत सञ्चालन गर्दै आइरहे पनि पूर्वाधारमा भने पछि रहेको सुनाए । अन्य प्रदेशले क्रिकेट पूर्वाधारमा लगानी गरी अघिबढ्दै गर्दा गण्डकीमा अझै पनि पूर्वाधारमा लगानी हुन नसक्नु दुःखद् पक्ष रहेको बताए । काठमाडौं पछिको दोस्रो मैदान पोखरा हुने गरे पनि पूर्वाधारकै कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलाउन असक्षम रहेको उनको भनाइ थियो ।
‘सात प्रदेशमध्ये गण्डकी उत्कृष्ट छ । आवश्यक पूर्वाधार नहुँदा पोखरा चुक्न सक्छ । यसका लागि सबै एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘क्यानले पोखरालाई इभेन्ट दिन तयार छ तर पूर्वाधार भने हुनुपर्छ ।’ संघ, प्रदेश र स्थानीय तह एक भएमा पूर्वाधार बनाउन खासै गाह्रो नहुने उनी सुनाउँछन् ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखरामा महिला यु–१९ विश्वकप गराउन सम्भव भएको बताए । अन्तर्राष्ट्रिय प्रतियोगिताको मापदण्ड अनुसार ४० किलोमिटरको दूरीमा हुनुपर्ने र त्यसका लागि पट्नेरी र नवलपुरमा प्रदेशले नै प्रादेशिक क्रिकेट मैदान निर्माणको कार्य अघि बढाएको सुनाए । पट्नेरीमा केही विवादका कारण मैदान सम्याउने काम भए पनि बाँकी काम हुन नसकेको उनी सुनाउँछन् । नवलपुरमा भने डीपीआरका लागि बजेट विनियोजन भइसकेको सुनाए । साथै उनले क्रिकेट संघलाई कानूनले भनेको कुरा मान्नसमेत आग्रह गरे । क्रिकेटको अन्तर्राष्ट्रिय मापदण्डलाई मात्रै मान्ने र राज्यको मापदण्ड नमान्ने भन्ने कुरा अक्षम्य हुने बताउँदै त्यसलाई स्वीकार गर्न अनुरोध गरे ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष श्रीकान्त सिग्देलले २०२७ मा हुने महिला यु १९ विश्वकप क्रिकेटको सहआयोजक नेपाल रहेको र आफूहरुले पोखरामा खेल गराउने दाबेदार दिएको बताए । अहिले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भीआइपी प्यारापिट निर्माणको कार्य रोकिएको बताए । उक्त कार्य सम्पन्न गर्न एक करोड रुपैयाँ विनियोजन भए पनि त्यो रकम आउने नआउनेमा द्धिविधा रहेको उनी सुनाउँछन् ।
उता गण्डकी प्रदेश सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले भने पूर्वाधार निर्माणमा सघाउनेबारे मुख खोलेनन् । उनले सरकारले खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको सुनाए तर आगामी विश्वकप गण्डकीमा गराउनेप्रति भने उनको चासो रहेन । उनले सीमित स्रोत र साधनले खेलकुदमा खेलाडीले प्राप्त गरेको नतिजा सामान्य नरहेको बताए । गण्डकी प्रदेश सरकार गठन भएसँगै प्रदेशकै लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने गुरुयोजना अघि बढाए पनि अहिले गुमनाम भएको छ । उक्त योजनाका लागि पोखरा ३३ दोविल्लामा जग्गा प्राप्त गरी डीपीआर निर्माण गरिसकेको थियो ।
खेलाडी तथा प्रशिक्षक सम्मानित
सोही क्रममा संघले प्रदेशका खेलाडी, प्रशिक्षक तथा अम्पाएरलाई सम्मान समेत गरेको थियो । यु–१९ विश्वकप खेलेका अर्जुन कुमाल, सुवाष भण्डारी र दीपक डुम्रेसहित गण्डकीका कप्तान विपिन खत्री, राष्ट्रिय महिला टिमका प्रशिक्षकसमेत रहेका गण्डकीका प्रशिक्षक रिजन प्रजु, यस्तै नेपालकै पहिलो महिला अम्पायर सोनिका थापालाई सम्मान गरेको हो । संघको कार्यालय सचिव विजय रावतलाई समेत सम्मान गरिएको छ । संघले ६ जिल्लालाई क्रिकेट किट हस्तान्तरण गरेको छ ।





