तस्बिरमा पुर्णिमा : घरमै रगतको आहालमा अनि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगेपछि भिडियो एक्स–रे कोठमा पुर्णिमा ।
बागलुङ/पशु चरनका लागि उनीहरु ढोरपाटनमा थिए । गत असारमा उनलाई एकाएक प्रसुती व्यथाले च्याप्यो । ढोरपाटन नगरपालिका ९ की पूर्णिमा बिकलाई प्रसूती व्यथाले च्यापेपछि आफन्तले सामुदायिक स्वास्थ्य इकाइमा लगे । त्यहाँ सामान्य चोटपटकको उपचार गर्ने र औषधि बितरण गर्ने काममात्रै हुन्थ्यो । रातको ९ बजे बिरामी लगेकोले त्यहाँ स्वास्थ्यकर्मी भेटिने कुरै भएन ।
तत्काल बुर्तिवाङ पु¥याउन झण्डै ३० किमी कच्ची सडकको बाटो लैजानुपथ्र्यो । असारको दोश्रो साता झमझम वर्षातले पैदल जान समेत संभव थिएन । ढोरपाटन उपत्यकामा कुनै सवारी साधन भेटिएनन् । उनीहरुले हारगुहार गर्दै चिच्याएको सुनेपछि नजिकै रहेको नेपाली सेनाको व्यारेकका अधिकृतले सोधी–खोजी गर्दा गाडी नपाएर बिरामीलाई उपचारमा लैजान नसकेको थाहा पाए ।
बिरामी बेहोस भैसकेकोले सेनाका अधिकृतले तत्काल आफ्नो गाडी प्रयोग गरेर बुर्तिवाङ लैजान सहयोग गरे । रातको १ बजे बुर्तिवाङ पु¥याउँदा पनि बिक बेहोस थिइन् । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले बिरामीको शरीरमा रगतको कमी भएकोले पोखरा लगेमात्र बचाउन सकिने सुझाए । बिरामीका आफन्तले एम्बुलेन्स खोजेर बिहाह ८ बजे मात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि बिकलाई रगत चढाएपछि शिशु जन्माइन् । समयमा पोखरा नलगेको भए उनको ज्यान जाने थियो । बिक र शिशु स्वस्थ्य छन् । यो घटनालाई ढोरपाटन नगरपालिकाको स्वास्थ्य शाखाले ‘पूर्णिमाको अध्यारो रात’ नामाकरण गरेको छ । स्वास्थ्य शाखाले वार्षिक समीक्षामा यो कथालाई पोस्टरको रुपमा प्रस्तुत गर्दा द्वितीय पुरस्कार पायो ।
भौगोलिक कठिनाइकै कारण प्रसूती सेवा लिनुपर्ने धेरै महिलाले सास्ती खेपेका छन् । ‘संरचना नबन्दै नगरपालिका घोषणा भयो तर सेवा लिन धेरै सास्ती छ,’ नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले भने, ‘समयमा जानकारी समेत दिन नसकिने भूगोलमा संरचना र दक्ष जनशक्ती अभाव छ ।’ सहज सडक यातायातको अभावमा अझै बढी दुःख भोगेको स्थानीयले गुनासो गरेका छन् ।
सँगै जोडिएको तमानखोला गाउँपालिकाले ‘नो होम डेलीभरी’ पालिका बनाइरहेको बेला ढोरपाटन नगरमा भने पूर्णिमाले जस्तै धेरै महिलाले सास्ती भोगेका हुन् । स्वास्थ्य शाखाकै तथ्यांकमा गत आर्थिक वर्षमात्रै ढोरपाटन नगरका ५९ जना महिला घरमै सुत्केरी भए । उनीहरुमा अधिकांसलाई अहिले पनि स्वास्थ्य समस्या छ । त्यसअघि आर्थिक वर्ष २०७९/८०मा ८८ जना महिला घरमै सुत्केरी भएका थिए । शर्माका अनुसार, भौगोलिक कठिनाइ, संरचनागत विकास र दक्ष जनशक्ती अभावमा शतप्रतिशत संस्थागत सुत्केरी गराउन नसकिएको हो । ‘हामीले वर्षभरि ६ सय ५० जनालाई संस्थागत प्रसूती सेवा दियौं तर सबैलाई सकिएन,’ उनले भने, ‘चाहेर पनि गोठ, बुकी र लेकमा पुगेका महिलालाई स्वास्थ्य संस्थामा ल्याउन नसकिएको हो ।’ ढोरपाटन नगरपालिकाको ९ वटा वडामा ३ वटामा मात्रै स्वास्थ्य चौकी छन् । त्यसबाहेक नगरपालिकाको केन्द्र रहेको बुर्तिवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।
बुकीसम्म फैलिएको वडा नं. ८ र ९ मा स्वास्थ्य चौकी नै छैन । अत्यावश्यक सेवाका लागि ढोरपाटनको उपत्यकामा सामुदायिक स्वास्थ्य इकाइमात्रै छ । त्यसले सामान्य बिरामीको औषधि उपचारमा साथ दिएको छ । तर, प्रसूती सेवाका लागि आवस्यक पूर्वाधार र दक्ष प्रसुतीकर्मीको अभाव छ । त्यसबाहेक यहाँ बालबिबाहको कारण धेरै महिलाले प्रसुती समस्या भोगेका छन् । ‘संस्थागत सुत्केरी भएकाहरुको अनुसन्धानमै २० वर्ष मुनिका १९ प्रतिशत किसोरी सुत्केरी भएका छन्,’ शर्माले भने, ‘यो घटनाले बालबिबाह पनि उत्तिकै समस्याको देखिन्छ ।’
नगरपालिका घोषणा भएर कार्यान्वयनमा आएको ८ बर्षसम्म पनि नगरपालिकामा ओएनएम नभएकोले आवस्यक स्वास्थ्य संस्था नपुगेको हो । कतिपय स्वास्थ्य संस्थामा फेयरमेड फाउण्डेसन र भीमापोखरा युवा क्लबको साझेदारीमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले सुरक्षित सुत्केरी सेवा दिने उपकरण सहयोग गरेको छ । यो समस्यालाई गम्भीर रुपमा हेरेर आवस्यक सेवा प्रवाह बिस्तारमा पहल गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । ‘मन्त्रालयमा ओएनएमका लागि पनि जानकारी गरेका छौं,’ आचार्यले भने, ‘बुर्तिवाङकै प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न पनि पहल भएको छ ।’





