पोखरा / गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरामा वाई वाई यु–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले पर्वतलाई ८ विकेटले हराएको छ । आज टस जितेर ब्याटिङ थालेको पर्वत २८.५ ओभरमा अलआउट हुँदै ६८ रनमात्रै जोड्न सफल भयो ।
पर्वतका लागि किरण पौडेलले ७० बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २९ रनको योगदान दिए । यस्तै ओपरद्धय सन्देश खड्का र अभिराज पटेलले समान ११–११ रन जोडे । दिपेन्द्र भण्डारीले ५ तथा सोनु यादवले ३ रन जोडे । सचिन गिरि, सरोज बहादुर खत्री, दिक्सोन थापा मगर, समर बस्याल र साहिल सुवेदी शुन्यमै आउट भए ।
कास्कीका लागि नितेश गिरिले ९ ओभरमा ६ मेडनसहित १० रन खर्चेर ३ तथा विमोचन सापकोटाले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । सत्कार चालिसेले३ ओभरमा २ मेडनसहित ८ रन खर्चेर १ तथा किमरिन श्रेष्ठले ३.५ ओभरमा ६ रन खर्चदै २ विकेट लिए ।
जवाफि ब्याटिङ थालेको कास्कीले १२.५ ओभरमा २ विकेट गुमाई ६९ रन बनाउँदै लक्ष्य पुरा ग¥यो । कास्कीका ओपनर सोहिल कुँवरले ३३ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा नटआउट रहे । यस्तै किबरिन श्रेष्ठ ७ रनमा नटआउट रहे । सफल श्रेष्ठ ७ र रोहित चन्द ११ रनमा आउट भए ।
पर्वतका लागि सरोज बहादुर क्षेत्री र सुनिल क्षेत्रीले समान १–१ विकेट लिए । प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध रहेका गण्डकीका ६ जिल्ला कास्की, पर्वत, तनहुँ, स्याङजा, नवलपुर र बागलुङको सहभागिता रहेको छ ।





