बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पाचनप्रणालीमा बढी मात्रामा देखापर्ने समस्याहरू

पाचनप्रणालीमा बढी मात्रामा देखापर्ने समस्याहरू

पाचनप्रणाली खराब भयो भने सम्पूर्ण मुड नै परिवर्तन भइ व्यक्तिका हरेका स्वास्थ्यका पक्षमा प्रभाव पर्दछ । त्यसकारण पाचनप्रणालीलाई हाम्रो शरीरको दोस्रो मस्तिष्क (सेकेण्ड ब्रेन) पनि भनिन्छ ।


  • डा. नरनाथ पाण्डे
  • असोज १२ २०८१, शनिबार

आमाशय अम्लीय पदार्थ तथा अनेकौं रसहरूयुक्त एक थैली हो, जसले खानालाई अस्थायी भण्डार गरी राख्ने र बिस्तारै सानो आन्द्रातर्फ धकेल्ने कार्य गर्दछ । हामीलाई पाचनप्रणाली भन्नासाथ वा पेट भन्नासाथ आमाशयको सम्झना आउँछ र त्यही अङ्गलाई मात्र बुझ्ने गर्छौं तर पाचनप्रणाली भनेको आमाशय मात्र होइन कि मुखदेखि सुरु भएर मलद्वारमा गइ अन्त हुने करिब ९ मीटर लामो नली हो । यो नली कतै फुकेको हुन्छ भने कतै साँघुरिएको पनि हुन्छ । मुखदेखि मलद्वारसम्म पुग्दा यस प्रणालीमा भाग लिने विभिन्न अङ्गहरुमा बेलाबखत विभिन्न समस्याहरु देखापर्दछन् । हाम्रो शरीरको पाचनप्रणाली अन्य प्रणालीको तुलनामा केही महत्वपूर्ण पनि छ किनकि शरीरलाई सन्तुलित राख्न स्नायुप्रणाली र ग्रन्थिप्रणाली पछि पाचनप्रणालीको ठूलो भूमिका हुनेगर्दछ । यदि पाचनप्रणाली खराब भयो भने सम्पूर्ण मुड नै परिवर्तन भइ व्यक्तिका हरेका स्वास्थ्यका पक्षमा प्रभाव पर्दछ । त्यसकारण पाचनप्रणालीलाई हाम्रो शरीरको दोस्रो मस्तिष्क (सेकेण्ड ब्रेन) पनि भनिन्छ । यस आलेखमा आज पाचनप्रणालीमा लाग्ने केही त्यस्ता सामान्य रोगहरु (अधिकांश रोगहरु छन् जसको चर्चा गर्न यस पत्रिकामा सम्भव नहुने हुँदा) जसले व्यक्तिको स्वास्थ्यको अवस्थालाई छिन्नभिन्न पार्न सहयोग गर्छन्, ती मध्ये केही रोगहरुका बारे प्रष्ट पार्ने जमर्को गरिएको छ ।

१. झाडापखाला लाग्नु Diarrhoea
तीव्र गतिमा ठुलोे आन्द्रामा चाल उत्पन्न भर्र्र्ई दिसा बाहिर जानु नै पखाला हो । यो विभिन्न कारणले देखापर्छ । जस्तैः आन्द्राको सुजन भएर, अपच भएर, जुका परेर, विभिन्न व्याक्टेरिया र भाइरस (Bacteria/virus) ले सङ्क्रमण गर्दा र अप्राकृतिक वा गलत खानपान गर्दा पनि हुन्छ । झाडापखाला लाग्दा सानो आन्द्राको इलियम (Ileum) र ठुलोे आन्द्राको भाग बढी प्रभावित हुन्छ । जहाँ सङ्क्रमण (Infection) हुन्छ, त्यहाँको म्युकोसामा समस्या देखिन्छ र आन्द्राले तरल पदार्थ उत्सर्जन गर्न थाल्छ । सँगसँगै चाल (Peristaltic movement) पनि बढ्न थाल्छ र तरल पदार्थले आन्द्रालाई सफा गरी सङ्क्रमण हटाउन पखालाका रूपमा दिसा जान्छ । हैजाजस्तो रोगमा किटाणुले निकाल्ने विषालु पदार्थ फ्याँक्न अत्यधिक तरल पदार्थसँगै इलेक्ट्रोलाइट्स उत्सर्जन हुन्छ र यसको मात्रा एकदिनमा करिब १० देखि १२ लिटरसम्म हुनसक्छ ।

स्नायुमा आउने तनाव (Nervous tension) का कारणले पनि पखाला लाग्छ । यसलाई मनोसंवेदनात्मक पखाला पनि भनिन्छ । यस्तो उत्तेजनाका कारण आन्द्राको चाल बढ्ने र ठुलोे आन्द्राको पछिल्लो भागले बढी मात्रामा म्युकस उत्सर्जन गर्ने हुनाले पखाला लाग्छ । ठुलोे आन्द्रामा हुने घाउ वा बृहत् आन्त्र प्रदाह (Ulcerative colitis) रोगमा ठुलोे आन्द्रामा सुजन (Inflammation) हुनुका साथै घाउहरू देखापर्छन् । यस रोगमा पनि ठुलोे आन्द्राले गर्ने उत्सर्जन बढ्छ र पखालाकै लक्षणहरू देखिन्छन् । यो ब्याक्टेरियल सङ्क्रमणकै कारण हुने भनिएको तर यसको कारण खासै पत्ता लाग्न सकेको छैन ।

२. बान्ता हुनु (Vomiting)
पेटका अधिकांश रोगहरू लाग्दा देखापर्ने प्रमुख लक्षण वाकवाकी लाग्नु वा बान्ता हुनु हो । बान्ता गर्ने इच्छा हुनु वा यस्तो इच्छा पटक पटक भईरहनु वाकवाकी लाग्नु हो भने जोडका साथ पेटका पदार्थ उल्टो फर्किएर मुखमा आउनु बान्ता हुनु हो । अपच, ग्यास्ट्राइटिस, झाडापखाला, जुका पर्नु, खानामा विषाक्तता जस्ता पेटका तमाम रोगहरूमा बान्ता हुन्छ । बान्ता हुँदा माथिल्लो पाचनप्रणालीका भागहरू उत्तेजित (Irritate) भई स्नायुप्रणालीको बान्ता गराउने केन्द्र (Vomiting center) को निर्देशनबमोजिम आमाशयमा रहेको विभिन्न पदार्थ भोजननलीको ढोका खुली घाँटी हुँदै नाक मुखबाट बाहिर निस्कन्छ । बान्ता हुँदा पेटको चाल उल्टो वा माथितिर (Anti peristaltic movement) चल्छ र सानो आन्द्रा, ड्युडेनम वा आमाशयमा भएको पदार्थ गतिका साथ माथितिर आउँछ । बान्ता हुने बेलामा ¥याल अत्यधिक उत्पादन हुने, पसिना आउने, मुटुको गति बढ्ने, अनुहार फुस्रो देखिने, वाकवाकी लाग्ने र अन्त्यमा पेटका मांसपेशी जोडले खुम्चिएर आमाशय भित्रका अनेकौं पदार्थ बाहिर निस्कन्छन् ।

लेखक

बान्ता हुनु कुनै रोग होइन तर यो विभिन्न रोगहरूमा देखापर्ने लक्षण हो । बान्ता हुने धेरै कारणहरू हुन्छन् । गर्भावस्था, यात्रा गर्दा, कुनै औषधी खाँदा, बढी खोकी लाग्दा, उच्च संवेग जस्तै बढी डराउँदा, बढी दुख्दा, पित्त थैलीका रोग, खाना विषाक्तता, पेटको सङ्क्रमण, बढी खाना खाएर, कुनै गन्ध मन नपरेर, हृदयाघात, मस्तिष्कमा चोट लाग्दा, मस्तिष्कमा ट्युमर पलाउँदा, अल्सर, क्यान्सरका रूपहरूमा, मानसिक समस्या, आमाशय ढिलो खाली हुने समस्यामा, बढी मद्यपान वा विषालु पदार्थको सेवन, आन्द्रामा अवरुद्ध, अम्लपित्त, ग्यास्ट्राइटिस, एपेन्डिसाइटिस् आदि हुँदा बान्ता हुनसक्छ । बान्ता भएमा जलवियोजन हुनसक्ने र शरीर गल्ने, बान्तासँगै विभिन्न तत्त्वहरू नष्ट हुने, आमाशयको अम्लीय पदार्थ लगायतका पदार्थहरू बाहिरिने, कुपोषण र भिटामिनको कमी हुनपुग्छ।

३. पेट दुख्नु (Abdomintal pain)
सामान्यतया पेट दुख्ने धेरै कारणहरू छन् । पेटको कुन भागमा दुखेको हो, दुखाइ कस्तो प्रकारको हो, दुखिरहन्छ कि कहिलेकाहीँ दुख्ने हो, खाना खानु अघि दुख्छ कि खाना खाएपछि दुख्छ, पोलेको जस्तो, घोंचेको जस्तो दुखाइ कस्तो हुन्छ, छुँदा दुख्छ कि दुख्दैन जस्ता विषय बिरामीको स्वास्थ्य परीक्षण गरेपछि मात्र कारण पत्ता लगाउन सकिन्छ । हाम्रो पेटलाई विभिन्न नौ भागमा विभाजन गरी कुन भागमा कुन अङ्ग हुन्छ र त्यहाँको दुखाइ के हो भन्ने कुरा चिकित्सकले जाँचेर वा विभिन्न अनुसन्धान गरेर पत्ता लगाउँछन् । तर सामान्यतया पेटको दुखाइ जोकोहीलाई पनि विभिन्न कारणले गर्दा हुन्छ । तीमध्ये अपच, अम्लपित्त, ग्यास्ट्राइटिस आदि भएर पेट दुख्नु एउटा कारण हो । यसमा खाना खाने बित्तिकै पेट दुख्छ र कहिलेकाहीँ खाना खाएपछि दिसा जानुपर्ने हुन्छ । अर्को कारण खाना विषाक्तता हो । यदि अचानक पेट दुख्ने, उल्टी आउने र पखालासमेत लाग्ने भएमा विषाक्तता हुनसक्छ । त्यस्तै पेटमा अल्सर हुनु पनि पेट दुखाइको लक्षण हो । यसमा पनि खाना खाएपछि पेटको दुखाइ हुन्छ । त्यस्तै ग्लुटेनयुक्त खाद्यपदार्थ सेवन गर्दा त्यसको एलर्जीका कारण पनि पेट दुख्छ । ग्लुटेन तत्व पाइने जौ, गहुँको आँटा, सुजी आदि खाएपछि पेट फुलिने र दुख्ने भएमा यस्ता खाद्यपदार्थ कहिल्यै पनि खानुहुँदैन । यस्तो एलर्जी सबैमा हुँदैन, कसैकसैलाई मात्र हुनसक्छ ।

हाम्रो पेटको दुखाइ माथिल्लो पेट, दायाँ भाग, बायाँ भाग, कोखा, तल्लो पेट, छाती कहाँ दुखेको छ सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । यदि दिसामा रगत वा रक्तजन्य पदार्थ देखेमा, ज्वरोसहित पेट दुखेमा, बान्तामा रगत देखापरेमा, वाकवाकी लाग्ने र बान्ता आउने भईरहेमा, छाला र आँखाको रङ्ग परिवर्तन भएमा, पेट सुन्निने र छुँदासमेत कडा खालको दुख्ने भएमा, सास फेर्न कठिन भएमा यो अल्सर वा आकस्मिक अवस्था हुनसक्छ । अन्यथा पेट दुख्नु, पोल्नु, घोंच्नु, बटार्नु, पेटको चाल अनियमित हुनु आदि लक्षणका आधारमा पेट दुखेको कारण पत्ता लगाउन सकिन्छ। पेट दुख्ने विभिन्न कारणहरूमा अम्लपित्त, ग्यास्ट्राइटिस, पेटको सङ्क्रमण, पत्थरी, कलेजोको सङ्क्रमण, हर्ट अट्याक, तनाव, प्याङ्क्रियाजको सङ्क्रमण, पेट अवरुद्ध हुनु, पाचन हुन नसक्नु, ल्याक्टोज नपच्नु, कब्जियत, कुनै भाग फुट्नु, एपेन्डिसाइटिस् हुनु, गर्भवती महिला भए गर्भका जटिलताहरू, पाठेघरका समस्या, कुनै यौन रोग, महिनावारीका समस्या, गर्भपतन, हर्निया, खानामा विषाक्तता (Food poisoning), आन्द्राको कडा रोग (IBS) जस्ता आदि कारणहरू हुनसक्छन् ।

४. पेट तथा आन्द्रामा अवरोध हुनु वा आन्द्रा बटारिनु (Gastrointestinal obstruction)
यो निकै इमर्जेन्सी अवस्था हो र यतिबेला निकै कडा खालको पेट दुख्ने गर्छ । क्यान्सर वा अल्सर भएपछि गाँठो (Fibrosis) हुनु, आन्द्रामा आउने खुम्च्याइ (Spasm), आन्द्रा बटारिनु, गोलो जुकाको मुठा पर्नु, आन्द्राको पक्षाघात हुनुजस्ता कारणहरूले पाचन प्रणालीमा अवरोध आउनसक्छ । आमाशयको तल्लो पाइलोरिक (Pyloric) भागमा अल्सर भएपछि गाँठो (Fibrosis) भई अवरोध आएको भए निरन्तर रूपमा बान्ता हुन्छ । यस्तो अवरोध आमाशयमा भएको भए सानो आन्द्राबाट रसहरू फर्किएर आमाशयतर्फ नै धकेलिन्छ । यसले गर्दा स्वास्थ्यमा ठुलो समस्या निम्त्याउँछ । यदि अवरोध ठुलोे आन्द्राको पछिल्लो भागतर्फ भएको भए हप्तादिनभन्दा बढी समयसम्म पनि दिसा जमेर बसिरहन्छ । लामो समयसम्म यस्तो अवरोध भईरहेमा आन्द्रा फुट्न पनि सक्छ । सानो वा ठुलोे आन्द्रामा हुने यो समस्या एउटा यान्त्रिक वा कार्यात्मक अवरोध हो । यसले पेटको चालमा अवरोध ल्याई पाचन प्रक्रियामा समस्या ल्याउँछ । यस्तो अवस्थामा ५ देखि १५% व्यक्तिमा कडा खालको पेट दुख्न पनि सक्छ । यसरी आन्द्रा टाँसिनु, बटारिनु, सङ्क्रमण र सुजन हुनु, ट्युमर पलाउनु, एपेन्डिसाइटिस हुनु, आन्द्राको क्षयरोग हुनु, हर्निया हुनु आदि कारणले अवरुद्ध हुनसक्छ ।

यस्तो अवरोध हुँदा पेट दुख्ने, पेट ढाडिने, सुन्निने, बान्ता हुने र कब्जियत हुने लक्षणहरू देखापर्छन् । समयमै उपचार हुन नसके यसका विभिन्न जटिलताहरू उत्पन्न हुन सक्ने भएकाले पाचनप्रणालीको अवरोधलाई एक गम्भीर र आकस्मिक समस्याका रूपमा लिइन्छ ।

५. पित्त थैलीमा पत्थरी हुनु (Gall stone)
पित्त थैली अथवा पित्तको बाटोमा पत्थरी हुने समस्या भएमा अम्लपित्त रोगमा जस्तै माथिल्लो पेटको दुखाइ सम्बन्धी लक्षणहरू देखापर्ने गर्छन् । पित्त थैलीमा पत्थरी पर्नु भनेको माथिल्लो दाहिनेतर्फको पेटमा कलेजोसँगै रहेको पित्त सञ्चित हुने थैलीमा पत्थर पर्नु हो । यो समस्या पेटको जटिल समस्या हो । यो समस्या पनि अधिक रूपमा खानपिनका कारण हुने गर्छ । खनिज लवणहरूको बढी मात्रामा सेवन गर्नु, माछा मासुजन्य उच्च कोलेस्टेरोलयुक्त खाना खानु, बढी मात्रामा चिल्लो र मसलादार खाना खानु, फाइबरयुक्त खाना कम खानु, मधुमेहजस्ता रोग लाग्नु, हर्मोनल औषधी निरन्तर प्रयोग गर्नु, कलेजोका रोगहरू हुनु, उपयुक्त तरिकाले पित्तथैली खाली हुन नसक्नु आदि पित्तथैलीको पत्थरीका कारण बन्न सक्छ । समयमा उपचार भएन भने पित्त थैलीमा सङ्क्रमण हुने, पित्तनलीको बाटो अवरोध हुने, प्याङ्क्रियाजको नलीको बाटो अवरोध हुने र पित्तथैलीमा क्यान्सर हुनसक्ने जस्ता जटिलताहरूसमेत थपिन सक्छन् । यो समस्या बढी मात्रामा ४० वर्ष उमेर पुगेका, बढी मोटोपन भएका र महिलाहरूमा हुने देखिएको छ । यसमा बिलिरुविन, कोलेस्टेरोल र क्याल्सियम जस्ता अन्य विविध खनिज लवणहरू जम्मा भई रासायनिक पत्थर बन्ने भएकाले पत्थर निस्कन सक्दैन र जमेर पित्त थैलीमा बस्छ। यस्तो पत्थरको आकार सानोदेखि लिएर कहिलेकाहीँ बढेर गल्फ खेलको बल जत्रो आकारको (Golf ball size) समेत हुनसक्छ ।

कहिलेकाहीँ पत्थर सरेर पित्तका नलीहरूमा आउँदा पनि माथिल्लो पेट दुख्ने गर्छ । बनेको पित्त(Bile) पित्त थैलीमा भण्डार हुन नसकेमा सोसिएर पुनः रगतमा फर्कंदा जन्डिससमेत देखापर्न सक्छ । दुखाइ माथिल्लो पेटमा हुने, खाना खाएपछि बढी दुख्ने भएकाले अम्लपित्त, अल्सर वा ग्यास्ट्राइटिससँग लक्षणहरू मिल्न सक्छन् । पित्त थैलीको पत्थरीका कारण पेट पोल्ने, उल्टी आउने, खाना अपच हुने, पेट ढुस्स हुने, पित्त थैलीमा सङ्क्रमण भर्र्र्ई पिप निस्कने आदि हुनसक्छ । पित्त थैलीको पत्थरीको पक्का निदान गर्न अल्ट्रासाउन्ड वा एक्सरे उपयुक्त हुन्छ । पित्त थैलीमा पत्थरी पर्न नदिन सात्त्विक भोजन गर्ने, बढी मात्रामा उपवास नबस्ने, बढी पेट खाली नराख्ने, तौल बिस्तारै घटाउने, फाइबरयुक्त खाना खाने, सागपातको तरकारी खाने, शाकाहारी हुने, गरिष्ठ भोजन नगर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ । यदि पित्त थैलीमा पत्थर भएको पक्का भएमा यसको अन्तिम उपचार नै दक्ष चिकित्सकले गर्ने शल्यक्रिया विधि हो ।

६. दिसामा चिल्लो आउने समस्या (Steatorrhoea/fatty stool)
यो दिसामा अत्यधिक चिल्लो पदार्थ आई दिसा पातलो हुने अवस्था हो । यस्तो दिसामा व्याक्टेरिया, चिल्लो, फाईबर, म्युकस, प्रोटिन, नुन तथा अन्य कोषहरू हुन्छन् । यो अवस्था आउनु भनेको पौष्टिक पदार्थको अवशोषण नहुनु हो । खाएको खाना पचाउन आवश्यक पित्त तथा ईन्जाइमको अनुपस्थितिमा पाचनमा समस्या आउनु वा पाचन रसहरूको कमी हुँदा यो अवस्था आउँछ । यसमा धेरै मात्रामा, पहेँलो खालको र गन्ध आउने दिसा वायुका साथमा आउँछ । जब पाचन प्रणालीले खानालाई राम्रोसँग टुक्र्याउन सक्दैन, खानालाई पचाउन सक्दैन, अवशोषण गर्न सक्दैन, प्याङ्क्रियाजको सङ्क्रमण भएको छ वा राम्रो काम गर्न सकेको छैन भने यो समस्या देखिन सक्छ । यसका अन्य कारणहरू यसप्रकार छन्–
१. बिलियरी आट्रेसिया (Biliary atresia) : पित्त लैजाने नलीमा अवरोध आई पित्त आन्द्रामा पुग्न नसक्नु ।
२. सिलियक रोग (Celiac disease) : गहुँ वा अरु अन्नमा पाइने प्रोटिन ग्लुटिन तत्वसँग समायोजन हुन नसक्नु ।
३. क्रोन रोग (Crohn’s disease) : पाचन प्रणालीको सुजन (ईन्फ्लामेसन) वा कडा रोग (IBD) हुनु ।
४. ल्याक्टोज पचाउन नसक्नु (Lactose intolerance) : ल्याक्टेज ईन्जाइमको कमीका कारण दुग्ध पदार्थमा पाइने सुगर पचाउन नसक्नु । आदि

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->