शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा वर्षापछि हिमपात, फूमा ६ इन्च हिउँ

मनाङमा वर्षापछि हिमपात, फूमा ६ इन्च हिउँ


  • आश गुरुङ
  • असोज १२ २०८१, शनिबार

लमजुङ / देशभर वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ । हिमपातका कारण माथिल्लो मनाङका बासिन्दा प्रभावित बनेका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।

नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनका अनुसार बिहीबार साँझदेखि निरन्तर पानी परिरहेकोमा शुक्रबार रातीदेखि हिमपात भएको छ । हिउँले नार र फू गाउँ ढकमक्कै ढाकेको छ । मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको उनले बताए ।

उनका अनुसार नारमा डेढ फिट हिउँ जमेको छ । फूमा ६ इन्च हिउँ जमेको छ । कृषि अधिकृत समेत रहेका उनका अनुसार किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएका थिए । सबै हिउँले थिचेको उनले बताए । आलुबालीलाई पनि हिउँले पुरेको उनले बताए ।

उनका अनुसार काङ्ला पास गर्ने पर्यटक नारमै रोकिएका छन् । हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको उनले बताए । ‘यो हिउँ पर्ने समय त होइन । हिमपात भएर चिसो बढेको छ,’ उनले ढोरपाटनसंग भने ।

पर्यटन व्यावसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङ गाउँ माथि हिउँ परेको छ । हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि बालीनाली भने समस्यामा पारेको उनले बताए । ‘बेला न कुबेला हिउँ परेको छ । हिउँमात्रै नभइ पानीसंगै हिउँ परेको छ, चिसो बढेको छ,’ उनले भने, ‘गहुँ र फापर थन्क्याउने तयारीमा थियो, हिउँ जम्यो, बर्बाद बनायो ।’ उनले माथिल्लो क्षेत्र तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पर्यटकीय सिजन सुरु भएको बेला हिमपात भएको छ । ‘अहिले देशभर नै मौसम खराब छ । हामीले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेका छौं । १–२ दिनमा सव ठिक भइहाल्छ,’ उनले ढोरपाटनसंग भने। उनका अनुसार हिमपातका कारण जानै नसक्ने अवस्था भएमा मौसम सुधार नभएसम्म रोकिन पर्यटकलाई आग्रह गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार नार्पाभूमिका ग्रामीण वस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गको थोलाङला क्षेत्र र तिलिचो ताल क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

चामेका डाँडाकाँडामा समेत हिउँ देखिएको उनले बताए । ‘पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न भनेका छौं । सवै सुरक्षा निकायलाई स्थिति आँकलन गर्न र सूचना संकलन गर्न निर्देशन गरेका छौं,’ उनले ढोरपाटनसंग भने ।

उनका अनुसार शुक्रबारमात्रै १ सय ८ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्न मनाङ प्रवेश गरेका छन् । ‘एक्यापलाई पर्यटनको क्षेत्रमा विशेष सूचना संकलन गर्न र आवश्यक समन्वय गर्न भनेका छौं,’ उनले भने । उनले हिमपातको समयमा सतर्क रहन पर्यटक र नागरिकलाई आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->