बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यापार संघको नाम नै बदल्ने औद्योगिक क्षेत्र !

व्यापार संघको नाम नै बदल्ने औद्योगिक क्षेत्र !

अहिले जग्गा किनेर उद्योग स्थापना गर्न सम्भव नै छैन भन्दा पनि हुने भएको छ । उद्योगको मेसिनमा भन्दा बढी जग्गामै लगानी गर्नुपर्ने भएपछि को उद्योग खोल्न अगाडि सर्छ ?


  • गोकर्ण कार्की
  • असोज १५ २०८१, मंगलबार

पोखरा औद्योगिक क्षेत्र स्थापनाको जस तत्काली अञ्चलाधीश प्रा.डा. शंकरराज पाठकलाई जान्छ । राजकाज सुरु गर्नासाथ राजा वीरेन्द्रले आफ्ना गुरु प्रा.डा. शंकरराज पाठकलाई प्रशासनिक कामको जिम्मा लगाउँदै गण्डकीको अंचलाधीशको रुपमा खटाउनु भएको रहेछ । त्यो बेला कुँडहर फाँटतर्फ अहिलेको जस्तो घना बस्ती थिएन । आत्मनिर्भर अर्थतन्त्रका निम्ति औद्योगिक क्षेत्र चाहिन्छ भन्ने सोचलाई मूर्तरुप दिन उहाँले त्यही जग्गा रोज्नुभएछ । जग्गा अधिग्रहणपछि सडक ढल, विद्युत, पानी तथा अन्य सुविधाहरू उपलब्ध गराउने गरी औद्योगिक क्षेत्र स्थापना भएको इतिहास रहेको छ । औद्योगिक क्षेत्रको विधिवत् सुरुवात चाहिँ २०३१ साल असोज १६ गते भएको हो ।
औद्योगिक क्षेत्रको स्थापनासँगै अञ्चलाधीश पाठकले पोखराका उद्योगीहरु बुद्धिबहादुर श्रेष्ठ÷गणेशबहादुर श्रेष्ठ,स्वर्गीय हेमबहादुर प्रधानहरुको घरमै पुगेर ‘औद्योगिक क्षेत्र’मा आउन आउन आह गर्नुभएछ । त्यही आग्रह सुरुमा ४७२ रोपनी क्षेत्रफल रहेको औद्योगिक क्षेत्रमा ४ वटा उद्योग स्थापना भएछन् । पोखरामा आउने पर्यटकहरुले उपयोग गर्ने सामानहरु यहीँ उत्पादन होस् भन्ने डा. पाठकको चाहना औद्योगिक क्षेत्र स्थापनाले पूरा गरिदियो ।
पोखरा औद्योगिक क्षेत्रको गर्विलो इतिहाससँग नेपालकै पहिलो चाउचाउ उत्पादन पनि जोडिएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष स्वर्गीय फणिन्द्रमान श्रेष्ठको अगुवाइमा नेपालकै पहिलो ‘रारा’ चाउचाउ उत्पादन भएको हो । यो कार्यमा अग्रज उद्यमी स्वर्गीय सूर्यबहादुर केसीसहितका उद्योगीहरुको पनि उत्तिकै मिहिनेत र पसिना खर्च भएको छ ।
पोखरा औद्योगिक क्षेत्रसँग अर्को ऐतिहासिक प्रसंग पनि जोडिएको छ । २०११ सालमा पोखराका व्यवसायीहरुले आफ्नो हक– हित रक्षाका निम्ति एउटा दरिलो संस्थाको आवश्यकता महसुस गर्दै ‘पोखरा व्यापार संघ’ स्थापना गर्नुभएको थियो । पोखरामा औद्योगिक क्षेत्र स्थापनापछि हाम्रा अग्रजहरुले व्यापार संघमा उद्योगीहरुलाई पनि समाहित गर्ने आवश्यकता महसुस गर्नुभएछ । २०३५ सालमा उहाँहरुले आफ्नो दायरा फराकिलो बनाउँदै पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरित गर्नुभएको इतिहास छ । व्यापार संघको नाम नै बदल्न प्रेरित गर्ने औद्योगिक क्षेत्र र पोखरा उद्योग वाणिज्य संघको सम्बन्ध गाढा र महत्वपूर्ण रहेको छ ।
औद्योगिक क्षेत्रमा हाल ७५ वटा उद्योगहरु संचालनमा छन् । यहाँबाट चाउचाउसहित दूध,भान्सामा प्रयोग हुने मरमसला विस्कुट,म्याकरोनी,पाउरोटी, गेडागुडी प्रशोधन, च्यूरा–भुजाजस्ता तयारी खाद्यान्नहरुको महत्व कति छ भन्ने कुरा बुझ्न हामीले २०७२ सालको भूकम्पको कहर सम्झनुपर्ने हुन्छ । भूकम्पको बेला यहाँबाट उत्पादित तयारी खाद्यान्नले नागरिकको भोक मेटाउन ठूलो मद्दत गरेको हामीले बिर्सनु हुँदैन । यसरी हेर्दा पोखरा औद्योगिक क्षेत्र आम नागरिकका निम्ति ‘लाइफ लाइन’ नै हो भन्दा पनि अत्युक्ति हुँदैन ।
त्यसो त, यहाँ कपडा तथा जुत्ता, सिरक डस्ना, निर्माण सामग्री अक्सिजन ग्यास, प्रशोधित पानी, जलविद्युत परियोजनाहरुका लागि आवश्यक पर्ने ठूला निर्माण सामाग्री पेनस्टक पाइप जस्ता बस्तुहरु उत्पादन हुँदै आएको छ । समग्रमा भन्ने हो भने औद्योगिक क्षेत्र गण्डकी प्रदेशकै गहना हो । तर, दुःखका साथ भन्नुपर्छ– हामी औद्योगिकीकरणमा धेरै पछि छौँ । २०३१ सालमा स्थापना भएको औद्योगिक क्षेत्र अहिले साँघुरो भएको छ छ । नयाँ औद्योगिक क्षेत्रको आवश्यकता खड्केको धेरै भइसकेको छ । बढ्दो सहरीकरणका कारण त्यहाँका उद्योगी÷व्यवसायीहरुले अनेकौंखाले प्रताडनाहरु सहनु परेको छ । उद्योगबाट फोहोर निस्कनु स्वभाविक हो । धेरथोर प्रदूषण पनि हुन्छ होला नै । तर,यसो हुनुमा उद्योगीको कुनै दोष छैन । हिजो बस्ती थिएन,औद्योगिक क्षेत्र थियो । अहिले चाहिँ औद्योगिक क्षेत्र बस्तीको भित्र भएको छ । प्रदेशकै ‘लाइफ लाइन’ र गौरवको रुपमा लिनुपर्ने औद्योगिक क्षेत्र हटाउनुपर्छ भन्नेसम्मका आवाजहरु हामीले सुन्नुपरेको छ । अव्यवहारिक वातावरण संरक्षण ऐन २०५३ को प्रयोग गर्दै हामीमाथि कारवाहीको डण्डा बर्साउने काम पनि भएको छ । जुन सरासर गलत छ ।
औद्योगिक क्षेत्र सानो भएको छ । अर्को औद्योगिक क्षेत्र आवश्यक छ भन्ने कुरा हामीले बारम्बार उठाइरहेका छौँ । अहिले जग्गा किनेर उद्योग स्थापना गर्न सम्भव नै छैन भन्दा पनि हुने भएको छ । उद्योगको मेसिनमा भन्दा बढी जग्गामै लगानी गर्नुपर्ने भएपछि को उद्योग खोल्न अगाडि सर्छ ? अर्कोतर्फ उद्योग स्थापना गर्ने भन्नासाथ स्थानीय बासिन्दाको अवरोध, राज्यका अव्यवहारिक वातावरणसम्बन्धी कानूनले पनि मान्छेलाई दिक्क बनाउँछ । अतः औद्योगिक क्षेत्र स्थापनाका निम्ति सरकारले नै पहल गर्नुपर्छ । नवलपुरको लोकाहा खोला र पोखराको भोटेपोखरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्ने भन्ने कुरा उठेको धेरै भयो । संघीय सरकारले पनि पोखरा ३२ र शुक्लागण्डकीमा पर्ने भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तर, काम अगाडि बढेको छैन । भोटेपोखरी क्षेत्रमा १५ सय रोपनीभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने भनियो । सो क्षेत्रमा तत्कालीन अवस्थामा ४१ वटा भूमिहीनका घर थिए । घोषणासँगै त्यहाँ थप घरहरु खडा गरियो । सुकुम्बासी समस्या सल्टाउन नै कठीन बन्यो । घोषणा गर्ने तर काम नगर्ने रोगले औद्योगिक क्षेत्र निर्माणको सपना पूरा हुन सकेको छैन ।
देशलाई समृद्ध बनाउने हो भने औद्योगिकीकरणमा जानैपर्छ । आयातमा निर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका निम्ति सरकारले विशेष योजना ल्याउनुपर्छ । निर्यातयोग्य बस्तुको पहिचान गर्ने,त्यस्ता बस्तु उत्पादनको निम्ति प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नैपर्छ । प्रतिस्पर्धी क्षमताको विकास गराउनेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ । (लेखक कार्की पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->