पोखरा/ पाेखरा महानगरपालिका– १० रामघाटमा रहेको रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । संस्थाले साधारणसभाकै अवसरमा कर्मचारी, सेयर सदस्य, जेष्ठ नागरिक तथा सेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरेको थियो ।
सहकारीका अध्यक्ष यशोदादेवी गुरुङले वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी ऐन २०४८ अनुसार पोखरा १० लाई कार्यक्षेत्र बनाएर २५ जना सदस्यबाट १० लाख २४ हजार रुपैयाँबाट सुरु गरेको संस्थामा २०८१ असार मसान्तसम्म एक हजार चार सय ७८ सेयर सदस्य पुगेको र कुल कारोबार १९ करोड १९ लाख ४२ हजार ९८९ रुपैयाँ पुगेको बताइन् । उनले हाल सहकारीले पोखराको १५ वटा वडाहरुमा कार्यक्षेत्र रहेको र यसको कार्यक्षेत्रलाई वृद्धि गर्दै लैजाने बताइन् । ‘नियम विपरित काम गरेका सहकारीहरु र राम्रा काम गरेका सहकारीहरुलाई एउटै स्तरमा राखेर खबरहरु सम्पे्रषण गर्ने काम भइराखेका छन् तसर्थ यी सबै गलत हल्लाहरुलाई चिर्दै हाम्रो रामघाट महिला सहकारीलाई स्वच्छ छवि भएको दिगो र सक्षम सहकारीको रुपमा स्थापित गराउन हामीहरु हरपल लागिरहेका छौं’ उनले भनिन् ।
राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले पछिल्लो समय केही सहकारीले गरेको गलत कार्यका कारण अन्य सहकारीलाई समेत समस्या परिरहँदा महिलाहरुले खोलेको रामघाट सहकारी अविचलित भई अघि बढेकोमा खुसी व्यक्त गरे । उनले सहकारीको कारोबारमा समेत कुनै समस्या नदेखिएको र भाखा नाघेको ऋणको मात्रा कम हुनु सवल पक्ष रहेको सुनाए । उनले ऋण जोखिम कोषको यथेष्ठ व्यवस्था गर्दा सेयर तथा बचतकर्तालाई राहत मिलेको सुनाए । सहकारीमा लगानी गर्दा डुब्ने भन्ने मानसिकताको विकास हुँदै जाँदा सहकारीहरु संकटमा पर्ने स्थिति आएकाले यसको डटेरै सामना गर्नुपर्नेमा उनले जोड दिए । बचतकर्ताले नियमित बचत गर्ने र व्यवस्थापन पक्षले ध्यान दिएमा सहकारीले सबैको भलो गर्ने उनको भनाइ थियो ।
संस्थाले सेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । असिम साँखी, स्पप्निल गौतम, दिक्षा गौतम, अलिशा केसी, प्रतिक्षा घर्ती, रितेश रञ्जित, कुशुम पराजुली, प्रज्वल गुरुङ, एलेक्स शर्मा, श्रवण जिसी र सुजन थापालाई सम्मान गरेको हो । यस्तै उत्कृष्ट कर्मचारी पुरस्कार निर्मला थापाले प्राप्त गरिन् । असल ऋणीबाट जमुन सुनार, दुतकौरी गुरुङ, जेष्ठ सदस्यतर्फ भक्तिमाया गुरुङ र जानुका कुमारी कुँवर क्षेत्री सम्मानित भएका हुन् । सामाजिक विधामा उपाध्यक्ष प्रेमे कुमारी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सनसाइन सहकारीका अध्यक्ष अग्नीप्रसाद कँडेल, संस्थाका संरक्षक गजकुमारी गुरुङ, प्राइम कमर्शियल बैंक हस्पिटलचोक शाखाका प्रबन्धक हरिचन्द्र तिमिल्सिना, सुनौलो भविष्य सहकारीका अध्यक्ष प्रतिभा शर्मा न्यौपान, गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल, संस्थाका सेयर सदस्य तथा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक समिति सदस्य जानकी अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष प्रेम कुमारी गुरुङले स्वागत मन्तव्य तथा कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक चादनी हमालले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् भने, सचिव मिना ढुंगानाले कार्यक्रम सञ्चालनसँगै सचिवको प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् ।




