पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरिरहेको अवस्थामा एक टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार मध्यरातमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–१६ मध्यम पथ चोकस्थित सडक खण्डमा भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्बरको मिनि टिप्परलाई नियन्त्रमा लिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिनि टिप्परमा कटपिस ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको हुँदा उक्त कटपिस ढुंगाहरु सहित टिप्पर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाईएको छ ।




