पोखरा । तनहुँको दुलेगौंडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भारतले ३ सय शैय्याको अस्पताल बनाइदिने भएको छ । साथै अत्याधुनिक उपकरण पनि जडान गरिदिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष एवम् स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटका क्रममा सोमबार भारतले यस्तो प्रतिबद्धता जनाएको हो । त्यसक्रममा ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन र एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।





