बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अर्थतन्त्र जोगाउन ग्रामीण महिलाहरूको भूमिका महत्त्वपूर्ण

अर्थतन्त्र जोगाउन ग्रामीण महिलाहरूको भूमिका महत्त्वपूर्ण


  • पंचकाजी श्रेष्ठ/अनिता बस्नेत
  • असोज २९ २०८१, मंगलबार

७० प्रतिशतभन्दा बढी ग्रामीण महिलाहरूले नेपालको कृषि थेग्दै आएका छन्। जसको पसिना र श्रमबाट हामी उत्पादन गरि खाइरहेका छौं। उनीहरुको सम्मान गर्न सकेका छैनौं। बिहानै उठेर घर आँगन सरसफाई, भाँडाकुँडा, वस्तुभाउको हेरचाह, खानपान व्यवस्था, मेलापात, खेतीपाती, बालबच्चा हेरचाह, घाँस दाउराका साथै बैठक, भेला लगायतका कार्य गरि कामको बोझ खपेर हाम्रा ग्रामीण महिलाहरू कृषि र देशको योगदान गरिरहेका छन्। आफ्ना पारिवारिक जीवनमा बढी व्यस्त रहनाले उनीहरूले आफ्नो व्यक्तिगत जीवनको निर्णय लिन सकिरहेका छैनन्।

कृषि गणना २०७८ अनुसार कुल ४१ लाख ३० हजार ८ सय किसान घर परिवारमध्ये कृषिमा संलग्न महिलाको संख्या ६० प्रतिशत रहेको छ। महिलाहरु बालीको तुलनात्मक मूल्य पाउन असक्षम छन्। जीविकोपार्जनका लागि अत्यावश्यक भूमि, कृषिजन्य उत्पादनका साधन, बजार, उच्च मूल्यका कृषि खाद्य शृङ्खलामा उनीहरूको पहुँच छैन। रैथाने कृषि पद्धतिको अन्त्य भई आयातित कृषि प्रणालीको विकाससँगै नेपाली महिलाहरु ठूलो मारमा परेका छन्।
परापूर्वकालदेखि गरिँदै आएको नेपालको सांस्कृतिक कृषिलाई तोडमोड गरेर व्यावसायिकताका नाममा ग्रामीण महिला एवं समुदायले अवलम्बन गर्दै आएको परम्परागत ज्ञान सीपलाई ध्वस्त पारिँदैछ। बिना ज्यालामा पारिवारिक हेरचाह तथा घरभित्रका जिम्मेवारीलाई उनीहरूले पुरा गरिरहेका हुन्छन्। कृषि कर्मलाई निरन्तरता दिइरहेका हुन्छन् र पनि महिला किसानहरू पुरुषहरूका लागि परिपूरक उत्पादक र उद्यमी जस्तै मात्र रहँदै आएका छन्।

ग्रामीण महिलाका विकराल अवस्थाको चर्चा परिचर्चा गर्दै उनीहरूको योगदानको कदर स्वरूप सन् २००७ मा १५ अक्टुवरलाई संयुक्त राष्ट्रसंघले ग्रामीण महिला दिवस मनाउने घोषणा गर्‍यो। नेपाल सरकारले पनि लोलीमा बोली मिलाउँदै उक्त घोषणालाई स्विकार गर्‍यो तर दिवस मनाउन सकेन, ग्रामीण महिलाहरूलाई वर्षको १ दिन पनि सम्झन सकेन। यो दिवसले कृषि र ग्रामीण विकासमा सुधारको लागि आदिवासी महिलाहरूसहित ग्रामीण महिलाहरूको महत्त्वपूर्ण भूमिका र योगदानलाई मान्यता दिन्छ। खाद्य सुरक्षा र ग्रामीण गरिबी उन्मूलनमा उनीहरूको योगदानलाई सम्झन्छ। दिवसले भोकमरी र कुपोषण विरुद्ध लड्न लैंगिक समानता र महिला सशक्तीकरणको भूमिकालाई उजागर गर्दछ।

वातावरण र जैविक विविधतामा आधारित कार्यमा व्यस्त रहँदा विश्वको आधार खाद्य उत्पादनको लागि महिलाहरू जिम्मेवार रहन्छन्। महिला किसानले जलवायु परिवर्तनसँग कसरी जुध्ने र अनुकूलन गर्ने भनेर व्यवहारिक अभ्यास गर्दै आएका छन्। प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध स्थापना गर्दै, जैविक माटो व्यवस्थापन साथै समुदायमा आधारित पुनर्स्थापनाका प्रयासमा उनीहरू तल्लीन छन्। यसर्थ यस वर्ष संयुक्त राष्ट्रसंघले “ हाम्रो सामूहिक भविष्यको लागि प्रकृतिलाई दिगो बनाउने ग्रामीण महिला : जलवायु लचिलोपनाको निर्माण, जैविक विविधताको संरक्षण र लैंगिक समानता र महिला किशोरीहरूको सशक्तीकरणतर्फ भूमिकाको हेरचाह ” भन्ने नाराको साथ ग्रामीण महिलाको सम्मानका साथ प्राथमिकता दिएको छ। उनीहरुको कामलाई प्रवर्द्धन गर्न आह्वान गरेको छ। समुदायको निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण भूमिकालाई उजागर गरेको छ। ग्रामीण क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले कृषिमा महिलाकरण : अवसरमा रूपान्तरण भन्ने नाराका साथ महिला किसानको उद्यमशीलता रूपान्तरण गर्दै मूल्य श्रृंखलामा उनीहरूको सहभागिता स्थापित गर्दै आर्थिक सशक्तिकरण साथै नीतिगत पैरवीलाई प्रभावकारी बनाउन, महासंघका तहगत संरचनामा रहेका महिला किसानको क्षमता अभिवृद्धि एवं महासंघले सञ्चालन गर्ने गतिविधि तथा कार्यक्रमहरूको महिलामैत्री दृष्टिबाट लैंगिकता समावेशीकरणका लागि महासंघ महिला किसान मञ्च सञ्चालन कार्यविधि, २०८१ मार्फत ग्रामीण महिला किसानको सवाललाई मूल प्रवाहीकरण गरेको छ। महासंघको सबै तहगत संरचनामा ५१ प्रतिशत महिलाको सहभागिताको नीतिगत सुनिश्चितता र अभ्यास गर्दै आएको छ।

ग्रामीण जीविकोपार्जनमा जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुको विरुद्धमा उनीहरूलाई क्षमतावान बनाउनु आजको आवश्यकता हो। खाद्य सुरक्षा तथा पोषण, भूमि तथा प्राकृतिक श्रोत व्यवस्थापनसँग सम्बन्धित तिनीहरूको ज्ञान र अनुभवलाई राज्यले कृषि विकासको आधारको रुपमा लिन सक्नुपर्दछ। महिलाको योगदानको सम्मानका खातिर महिला मैत्री वातावरणको लागि सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय कृषक समूह महासंघ नेपालले यस दिवस नेपालमा सन् २०१४ देखि मनाउन थालेको हो।

देशको ग्रामीण अर्थतन्त्र जोगाउन ग्रामीण महिलाहरूले खेलेको भूमिकालाई कदर गर्न आवश्यक छ। ग्रामीण र तुलनात्मक रुपमा विपन्न महिलाहरूले समानताको महसुस गर्ने वातावरण बनाउनुपर्दछ।
(श्रेष्ठ राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष र बस्नेत उपाध्यक्ष हुन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->