
पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले आवस्यक चासो नदिदाँ स्याङ्जामा उत्पादिन सुन्तला निर्यात हुन नसकेको हो ।
कृषि बिभाग र चीनको गुणस्तर, सुपरीवेक्षण, निरीक्षण तथा क्वारेन्टाइनको सामान्य प्रशासनबीच सन् २०१२ जुलाई ४ मा विभिन्न ५ वटा किरा र २ वटा रोगमुक्त स्याङजाका सुन्तला तिब्बत निर्यात गर्ने सम्झौता भएको थियो । साथै सिन्धुलीको जुनार पनि लैजाने सम्झौतामा छ । तर सरकारी निकायले रोगकिरामुक्त सुन्तला उत्पादन भएको यकिन नगर्दा निर्यातमा ढिलाई भएको हो ।
बाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेशका बरिष्ठ बाली संरक्षण अधिकृत शालिग्राम अधिकारीले सम्झौता अनुसारको प्रक्रिया पुरा नभएकाले सुन्तला निर्यात हुन नसकेको बताए । ‘सम्झौता अनुसार हामीले रोग, किराको निरीक्षणको काम गरिरहेका छौ’, उनले भने, ‘सुन्तलामा ग्रेडिङ रोग, फलभित्र औंसाकिराका लार्भा मुक्त भएको भए मात्र लैजाने भन्ने सम्झौतामा छ । अहिलेसम्म फलभित्र औंसाकिरा छैन भन्ने पुष्टी गर्न सकिएको छैन ।’
रोग र किरा कुन किसानको सुन्तलामा देखियो भन्ने यकिन गर्ने संयन्त्र नहुँदा पनि समस्या रहेको उनको भनाई छ । यसका लागि किसानलाई कोड नम्बर दिनुपर्नेमा दिन नसकिएको उनले बताए । किसान र बगैंचाको बारेमा बिस्तृत बिवरण आवस्यक पर्नेमा त्यो गर्न नसकिएको भन्दै उनले अहिले बगैचामा विभिन्न ५ किरा र २ रोग हेर्ने काम भएको बताए । सम्झौता अघि सुन्तलामा कुन रोग वा किरा छ भन्ने थाहा नभएको र चीनले गुणस्तरीय अर्थात स्वस्थ सुन्तला लैजान खोजेकाले अहिले त्यसका लागि पूर्वाधार बनिरहेको दावी उनले गरे ।
सरकारले सम्झौता गरे पनि त्यो अनुसार आवस्यक प्रक्रिया अगाडि बढाउन ढिलाइ गर्दा फलफूलहरु निर्यातको अनुभव नहुँदा सरकारी निकाय पनि अल्मलिएजस्तो लागेको किसान बताउँछन । सम्झौता कार्यान्वयनमा आए जिल्लाका सुन्तला निर्यात भएर किसानले उचित मूल्य पाउने स्याङ्जाका किसानको भनाइ छ ।
सुन्तला चीनको क्वारन्टिन बाली शत्रुहरुबाट मुक्त हुनुपर्ने संझौतामा छ । विभिन्न ५ वटा किरा र २ रोगमुक्त सुन्तलामात्रै निर्यात गर्ने सम्झौता भए पनि नेपालका तर्फबाट रोगकिरामुक्त भएको यकिन नगरिदा निर्यात हुन नसकेको हो । दुवै सरकारी निकायबीच ११ बुँदे सम्झौता भएको थियो । संझौतामा टेस्ट फ्री एरिया अर्थात् स्याङजा जिल्लाभर नै रोगकिरा मुक्त हुनुपर्ने उल्लेख थियो । तर त्यो संभव नभएकाले टेस्ट फ्री प्रोडक्सन (रोग किरामुक्त सुन्तला) निर्यात गर्ने गरी सम्झौतामा सुधारको पहल गरिएको थियो ।
सुन्तला चीनको जेजाङ (तिब्बत) क्षेत्रमा निर्यात गर्ने सम्झौतामा छ । सम्झौतामा फलफूल बगैचा र प्याकिङ घरहरु कृषि बिभागले आधिकारिक रुपमा पञ्जीकृत गरेको हुनुपर्ने, निर्यात पूर्व बगैचा र प्याकिङ घरको सूची उपलब्ध गराउने उल्लेख छ । कृषी ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले चीनले केही रोग र किराको बिषयमा जानकारी दिएको बताए । ‘त्यसको परीक्षण गरेर मात्र पठाउने प्रावधान हो’ उनले भने, ‘सुन्तलाको बगैचादेखि किसानको उत्पादनसम्बन्धी सबै विवरणको रेकर्ड राख्नुपर्ने हुन्छ । यसका लागि आवस्यक प्रक्रियाको काम भइरहेको छ । प्रक्रिया अन्तिम चरणमा पुगेकाले यस वर्ष पठाउन सकिन्छकी भन्ने आशावादी छौ ।’ भारत लगायत अन्य देशका सुन्तला आउने हुन्की भन्ने चासो चिनीयाँ पक्षको रहेको भन्दै उनले बगैचामा कहिले सिंचाई गरियो, कहिले मल हालियोलगयात रेकर्ड राख्नुपर्ने अवस्था रहेको बताए ।
गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मी सुन्तला बाहिर हेर्दा राम्रो देखिए पनि भित्र के हुन्छ भन्ने कुरा थाहा नहुने बताउँछन् । गण्डकी सरकारले यस वर्षदेखि सुन्तला बगैंचा सुदृढिकरण अभियान सुरु गरेको उनले जनाए । बगैचाको काँटछाँट, मलजल, रोगकिरा नियन्त्रण, किसानलाई तालिम दिइने र ८ जिल्लाका लागि यस कार्यक्रममा ७ करोड बजेट बिनियोजित रहेको उनले बताए । ‘गण्डकी प्रदेशको एक मुख्य उत्पादन सुन्तला हो, स्याङ्जासहित अन्य ७ जिल्लाका सुन्तलापनि गुणस्तरीय बनाएर निर्यात गर्ने लक्ष्य कार्यक्रमको छ’, उनले भने, ‘रुख र बगैचा रोगकिरामुक्त बनाउने मुख्य उद्देश्य हो । गुणस्तरीय सुन्तला उत्पादन गर्ने लक्ष्य हो । सुन्तलाखेतीको क्षेत्र बिस्तार योजना पनि छ ।’




