बागलुङ/नेपाल सरकारले आगामी २०८७ सालभित्र बालमैत्री देश बनाउने लक्ष्य राखेको छ । त्यसअन्तर्गत आगामी पुस मसान्तभित्र बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अभियान थालेको बागलुङ नगरमा भने चुनौतीको चाङ छन् ।
ती चुनौती पार गर्दै पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने अभियानमा भने नगरपालिकाले काम गरिरहेको नगर उपप्रमुख राजु खड्काले बताए । समुदाय तहमा गर्नुपर्ने धेरै सूचकहरु पुरा भएपनि केही पूर्वाधार निर्माणहरु रोकिंदा थप जटिलताहरु आइरहेको हो ।
विद्यालयमा धारा अपुग भएको, शौचालयको व्यवस्थापनमा कमजोरी, छिटफुट रुपमा देखिने बालविवाह र विद्यालय छाड्ने बालबालिकाले तोकिएका सूचक पुरा गर्न कठिन भएको बालमैत्री सहजकर्ताहरुले बताए । त्यसबाहेक वडा तहका जनप्रतिनिधिले नै बालमैत्री अभियानको महत्व बुझ्न नसकेको, बुझेकाहरुले बाहना बनाएर अप्ठ्यारो पार्ने प्रयास भएको र बालमैत्री नगर अभियानका लािग खटिएका सहजकर्तालाई बिहानदेखि बेलुकीसम्म कार्यालयमा राखेर अन्य काम लगाउने गर्दा घोषणा मिति नजिकींदै गर्दा चुनौतीहरु थपिएका हुन् ।
कतिपय जनप्रतिनिधि र वडा सचिवले सहजकर्तालाई कार्यालयमा सरसफाइमा लगाउने, चिया पकाउन भन्ने र ढोका खोल्ने लगाउने काम समेत दिंदा सहजकर्ताले तोकेका काम पुरा गर्न नसकेको गुनासो गरे । ‘कार्यालय सहयोगीलाई बिदा दिएर हामीलाई सहयोगीको काम लगाइएको छ,’ एक सहजकर्ताले गुनासो गर्दै भनिन्, ‘फिल्डमा गएको दिन हाजिरमा रातो लगाउने काम पनि भएको छ ।’
घरधुरी सर्भेक्षण, हरेक घरमा स्टिकर टास्ने, टोल समितिको बैठक, बाल क्लबको बैठक र अभिमूखिकरणमा हिंड्दा वडा अध्यक्ष र सचिवले कार्यालयमै नबसेको भनेर अप्ठ्यारो पारेको समेत उनको भनाइ थियो ।
कतिपय वडा अध्यक्ष र सदस्यहरुले सहजकर्ताको नम्बर ब्लक गरेर फोन नलाग्ने बनाने, बोलाएका बैठकमा नजाने, गालीगलौज गर्ने काम गरेको गुनासो आएको हो । ‘हाम्रो फोन नम्बर नै ब्लकमा राख्नुभएको छ,’ अर्की सहजकर्ताले भनिन्, ‘बालमैत्री नगर बनाउने आभियानलाई सफल पार्न खोज्दा अप्ठ्यारो पारिएको छ ।’
अहिलेसम्म यो अभियानको धेरै काम सम्पन्न भएको बालमैत्री फोकल पर्सन तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । उनले भौतिक निर्माणका एकदुइ काम र अहिलेसम्मका कामको कागजात संकलनको गर्न बाँकी रहेको भन्दै वडा वडाले घोषणा गर्ने वातावरण बनाएपछि नगर घोषणा हुने बताए ।
नगरपालिकाले पहिलोपटक बालमैत्री घोषणा गर्ने विद्यालयलाई ४० हजार रुपैयाँ नगद पुरस्कार दिने र वडा घोषणा गर्नेलाई २ लाख नगर पुरस्कार दिने तयारी गरेको खड्काले बताए । त्यसबाहेक नगर स्तरीय बालउद्यान निर्माणको काम बाँकी छ । हाल भैरहेका उद्यानलाई बालमैत्री बनाउने वा नयाँ बनाउने भन्नेमा छलफल भैरहेकोले त्यसको छिनोफानो गरेर काम अगाडि बढाउने खड्काले सुनाए ।
त्यसबाहेक घोषणा पछि पनि बालमैत्री नगरलाई दिगो रुपमा राख्न आवश्यक पर्ने सूचकका लागि पनि अन्तरक्रिया र छलफल शुरु भैसकेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया तयारी चरण, नीति योजना तर्जुमा चरण, अनुगमन, मूल्यांकन र प्रतिवेदन चरण तथा घोषणा पछिको दिगो पनको चरणबारे बालमैत्री नगर अभियानका कार्यक्रम संयोजक तिलक आचार्यले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख खड्काले सबैखालका सूचक पूरा गर्दा भौतिक, सामाजिक र मानवीय विकाससमेत हुने बताए ।




