
पोखरा / तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ ।
स्याङ्जा संवाददाता अर्जुन काफ्लेका अनुसार गल्याङ, रूपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूल खेतीमा दैनिक रमाइरहेका छन् । १० बर्से जनयुद्ध हुँदै पाँच वर्ष माओवादी केन्द्रबाट वडा सदस्य जितेर गल्याङ नगर सदस्य भएर काम गरेका राना अहिले गल्याङ नगर पार्टीको अध्यक्ष छन । रानाले पाँच वर्ष जनप्रतिनिधि रहँदा नै मौलाकालिका कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर फूल खेतीमा लागेका हुन् ।
रानाले आठ रोपनी जग्गा ६० हजारमा भाडामा लिएर खेती थालेका उहाँको बगैँचामा सयपत्री फूल ढकमक्क फूलेको छ । धेरै ठाउँमा रहरले फूल खेती गरिरहँदा रानाले भने फूल खेतीलाई आर्थिक आर्जनको माध्यम बनाएका छन् । गत वर्षसम्म आठ रोपनीमा १० हजार फूल रोपेका रानाले यस बर्ष भने पाँच रोपनीमा पाँच हजार बिरुवा लगाएका छन् । फूल उत्पादनमा लागत महँगो भएको भन्दै उनले त्यसमा पनि भारतको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको बताए ।
विद्यालयको खेती राम्रो
उता, कालीगण्डकी गाउँपालिकामा विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन पालिकाको सहयोगमा फूल खेती गरिएको छ । यहाँ विद्यालय पनि फूल खेतीमा लागेका छन् । सात वटा वडा रहेकामा वडा नं. ४ बाहेक सबै वडामा कृषकले फूल खेती गरेका छन् भने ध्रुवज्योति मावि र मिर्मी माविले फूल खेती गरेका छन् ।
पाल्पा संवाददाताका अनुसार पाल्पाको रामपुर नगरपालिका–३, रजघरामा रहेको जनविकास माध्यमिक विद्यालय परिसरमा सयपत्री ढकमक्क फुलेको छ । गत वर्षदेखि सुरु गरेको व्यावसायिक फूल खेती विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन तथा विद्यालयको आम्दानीको माध्यम बनेको छ ।
तिहारलक्षित फूल खेतीको हेरचाहका लागि खाली समयमा शिक्षक तथा विद्यार्थी जुटिरहेका छन् । विद्यालय परिसरभित्र ढकमक्क सयपत्री फूलेपछि विद्यालयको वातावरण नै फरक भएको कक्षा नौका विद्यार्थी नीरमाया विकले बताइन् । त्यहाँ दुवोसहितको चौरमा फूल लगाइएको छ ।
विद्यालयले यस वर्ष पनि चितवनबाट बिरुवा ल्याएर साढे एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाएको थियो । खाली जमिनको सदुपयोगसँगै आम्दानी पनि हुने र विद्यार्थीलाई सिक्नका लागि पनि हुने भएकाले फूल खेती गरिएको प्रधानाध्यापक पशुपति खनालले बताए ।
विद्यालयले गत वर्ष फूल बिक्रीबाट १२ हजारभन्दा बढी आम्दानी गरेको थियो । विद्यालयका कर्मचारी लीलादेवी गौतमले फूल प्रतिकिलो ३५० रुपियाँको दरले बिक्री गर्दै आएको बताईन । नगरपालिकाले प्लास्टिकजन्य फूल बिक्रीवितरणमा रोक लगाएकाले स्थानीय बजारमा फूलको माग बढी हुँदा फूलको बजारीकरणका लागि समस्या नहुने विद्यालयले जनाएको छ ।
गुल्मीमा पचास रोपनीमा ढकमक्क फुल
गुल्मी संवाददाताका अनुसार गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती भएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको कृषी ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताए ।
जिल्लामा दुई दर्जनभन्दा बढी कृषक व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध छन् । रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपालीले फूल खेतीको सुरुवात गरेका छन् । नेपालीले जग्गा लिजमा लिएर यस वर्ष दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती गरेका हुन् ।
अघिल्लो वर्षबाट फूल खेती सुरु गरेका नेपालीको फार्ममा यतिबेला तिहारलक्षित फूल फुलिरहेका छन् । गत वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती उनले यस वर्ष दुई रोपनीमा मात्रै फूल खेती गरेको बताए । गत वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको उनको भनाइ छ । वडा नम्बर-१० मा विनोद कुँवरले पनि गत वर्षभन्दा फूल खेतीको क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गरेका छन् ।
इस्मा गाउँपालिका-३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । छत्रकोट गाउँपालिका-३ मा भुवन खराल, सत्यवती गाउँपालिका-१ मा महेन्द्र खत्रीले पनि यस वर्ष फुलको उत्पादन क्षेत्रफल घटाएका छन् । गत वर्ष उत्पादन धेरै भए पनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकले उत्पादन क्षेत्रफल घटाउन बाध्य भएको बताएका छन् ।




