पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बार्षिक कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया तत्कालै अगाडि बढाउन मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् । बुधवार उनीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पाठकले चालु आर्थिक बर्षमा मन्त्रालयमा बिनियोजित बजेट र कार्यक्रमको अवस्थाका वारेमा जानकारी लिदै कार्यान्वयनको प्रक्रिया तुरुन्तै अगाडि बढाउन निर्देशन दिएका हुन् ।
डिपिआर गर्नुपर्ने आयोजनाको प्रगति, बोलपत्र गर्नुपर्ने कार्यक्रमहरुको अवस्था र त्यसका लागि अपनाउनुपर्ने सक्रियता, कर्मचारीको व्यवस्थापन, अनुगमन र नियमनको विषय लगायतका काममा निर्देश गर्ने मन्त्री पाठकले बताए ।
स्वास्थ्य मन्त्रीले कार्यक्रम कार्यान्वयनको अवस्था, यसमा देखिएका समस्या र चूनौतीहरु, समाधानका उपायहरुका वारेमा सचिव, महानिर्देशक र महाशाखा प्रमुखबाट सुझाव समेत मागेका छन् । क्याविनेटमा लैजाने विषयका वारेमा समेत छलफल गरी त्यसका लागि अग्रसरता लिन सचिवलाई भनेका छन् । मन्त्रीको निर्देशनपछि मन्त्रालय, मन्त्रालय अन्तरगतका महानिर्देशानलय र महाशाखा प्रमुखहरुले मातहत कार्यालय र निकायहरुको बजेट तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित भएर तत्कालै अगाडि बढाउने निर्णय भएको सचिव बिनोदविन्दु शर्माले बताए ।





