हेटौडा / प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्।
शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे पर्सी बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए।
‘अब अर्को एउटा मेची महाकाली अभियान चलाउँदै छु, पर्सी हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारीसभा गर्नेगरी हामी निर्णय गर्दैछौं,’ प्रचण्डले भने, ‘मलाई विश्वास छ, उनीहरुको सातो त गइनै सकेको छ। उनीहरु होपलेस भईनै सकेका छन्। उनीहरुलाई होपलेस हुन दिनुपर्छ र हामीहरू नयाँ आत्मविश्वासका साथ एउटा नयाँ आन्दोलनमा हामी जानुपर्दछ।’
प्रचण्डले अब कार्यकारी राष्ट्रपतिको मागसहित सडक आन्दोलन गर्ने चेतावनी समेत दिए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गरे । ‘यो सरकार जनताको सरकार होइन । हामीले सुशासन र भ्रष्टाचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि बिचौलियाले बनाइदिएको सरकार हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।





