बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आइएनएफ, हिजोको साइनिङ र आजको हरियोखर्क अस्पताल

आइएनएफ, हिजोको साइनिङ र आजको हरियोखर्क अस्पताल

जसले कुष्टरोगीलाई जीवन र असहायलाई साथ दियो !


  • विजय नेपाली
  • मंसिर २ २०८१, आइतबार

पोखरा/सन् १९५२ मा बेलायतका लीली र हिल्डा बुटवल हुँदै नेपाल प्रवेश गरे । बुटवलहुँदै पोखरा आएका यी दुई स्वास्थ्यकर्मीले पोखराको रामघाटमा एउटा क्लिनिक खोले । जुन आयुर्वेदिक उपचारभन्दा फरक थियो, पोखराका लागि । एलोपेथी औषधिमार्फत् उपचार गराउन सुरु गरे । रामघाटबाट सुरु भएको क्लिनिक पछि पोखराको टुँडीखेलनजिक स¥यो । जहाँ उनीहरुले साइनिङ हस्पिटलको स्थापना गरे । सन् १९३२ मै नेपाल आउन चाहे पनि तत्कालीन शासनले उनीहरुलाई खुलेर काम गर्न दिएनन् । त्यपछि उनीहरु भारततिरै लागे । भारतमा १९ वर्ष बसेपछि ६ जना नेपाली सहयोगीसहित औषधिजन्य सामान बोकी पोखरा आए । १९५२ मा कास्कीमा विधिवत दर्ता गरी साइनिङ हस्पिटल सञ्चालन गरे । अहिले पनि पोखराको टुँडीखेलको उत्तरतर्फ त्यतिबेलाका पुर्वाधारहरु छन् । त्यहाँबाट उनीहरु रामघाटमा सरे । अर्थात् अहिलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यतिबेला अञ्चल अस्पताल थियो । त्यो अस्पताल नै साइनिङ अस्पताल हो । जसको स्थापना इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) ले स्थापना गरेको हो ।


आइएनएफ गण्डकीमा पहिलो पटक अस्पतालबाट सेवा दिने संस्था हो । पहिला साइनिङको नामले चिनिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछि राज्यको मातहतमा आएको हो । स्वास्थ्यको क्षेत्रमा अग्रिण आइएनएफले पोखरा १५ नयाँगाउँमा हरियोखर्क अस्पताल समेत सञ्चालन गरिरहेको छ । गण्डकीको स्वास्थ्य इतिहाससँग जोडिएको आइएनएफले आफ्नो अविरल यात्रामा सात दशक पार गरिसकेको छ । अर्थात् आइतबार संस्थाले ७२ औं वार्षिकोत्सवसमेत मनाएको छ । संस्थाको कार्यालय नेपालका विभिन्न ११ जिल्लामा आवद्ध रहँदै त्यहाँ निम्न वर्गका मानिसहरुलाई सेवा दिँदै आइरहेको छ । आइएनएफका कार्यकारी निर्देशककृष्ण बहादुर अधिकारीले संस्थाको इतिहास बारेमा बोल्दै पहुँच नभएका नागरिकको सर्वाङ्गिण विकासमा काम गरिरहेको बताए । उनका अनुसार ७२ औं वर्ष मनाउँदै गर्दा आइएनएफले राज्यले अघि सारेको सन २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनितिलाई आत्मसात गरेको छ । सो अभियानलाई अघि बढाइरहेको छ । यस्तै अहिले ‘प्रशामक सेवा’( रोग लागेर घरमै थला परेकाहरुलाई दिइने सेवा ) लाई संस्थाले अघि बढाएको छ । संस्थाका मेडिकल सर्भिसेज डाइरेक्टर डा. अरुणकुमार बुढाले स्वास्थ्यमा अवको आवश्यकता प्रशामक सेवा रहेको बताउँछन् । नेपालमा स्वास्थ्य सेवामा अग्रणी भूमिका खेल्दै आएको संस्थाले सो सेवा अघि बढाउँदा नसर्ने दीर्घरोगीहरुले नयाँ जिवन पाउनेमा आशावादी देखिएको छ । प्रशामक सेवा भनेको कुनै पनि रोग लागि मानसिक, सामाजिक, भौतिक रुपमा निकै कष्ट खेपेर बसेकाहरुलाई मनोसामाजिकसँगै उनीहरुको हेरचाह र उपचार उचित तरिकाले गराउनु सेवा नै हो । यस्तै हरियो खर्क अस्पताललाई आगामी पाँच वर्षमा दुई सय शैय्याको बनाउने लक्ष्य संस्थाको छ । स्वास्थ्यको क्षेत्रमा रहेको उहि संस्थाले ७२ वर्षको यात्रा पार गरेको छ । ७२ वर्षको यात्रा पार गर्दा धेरै दुःख कष्ट भोगे पनि आफ्नो उदेश्य र लक्ष्यबाट बञ्चित नभएको संस्थाले गुरु योजनाहरुमात्र अघि सार्दै आइरहेको छ । आइएनएफ इन्टरनेसनलका अध्यक्ष फिल लिन्डजेले नेपालमा हरेक वर्ष आइएनएफको वार्षिकोत्सव मनाउन आएको र आगामी वर्षहरुमासमेत आउने सुनाउँदै आइएनएफले वार्षिक योजना नभए गुरु योजनाहरु मात्रै अघि सारिरहेको सुनाउछन् । उनी भन्छन्, ‘हामी एक वर्षका लागि मात्रै काम गर्दैनौ हामीले लामो समयका लागि काम गर्छौँ । आइएनएफको इतिहासबाटै देख्न सक्छौ कि दीगो परिवर्तनका लागि कति समय लाग्छ भनेर हामी धैर्यताका साथ दीगो योजनामै अघि बढ्छौं ।’ अन्य संस्थाहरु पनि छन् जो सेवाको नाममा आउँछन् र उसरी नै जान्छन् तर आइएनएफ सधैँ गतिविधि गर्न चाहाना राख्दै आएको लिन्डजेले बताए । उनले आइएनएफको काम ओलम्पिकमा हुने सय मिटरको दौड नभइ म्याराथन भएको सुनाए । जसका लागि समय र मिहेनत दुवै धेरै लाग्ने सुनाए । ‘ओलम्पिकमा एक सय मिटरको दौड सुरु भएको एकै छिनमा सकिन्छ र मेडल लगाइहाल्छन् तर, त्यही ओलम्पिकमा म्याराथन पनि हुन्छ जो निकै लामो समय लाग्छ । हामी त्यहि म्याराथन हौं ।’ उनले थपे । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोदविन्दु शर्माले आइएनएफको योगदानबारे जति चर्चा गरे पनि साध्य नहुने बताउँदै गण्डकीमा नेपालमै दुर्लभ मानिएको प्यालेटिभ केयरलाई अघि बढाउनु अर्को नवितम कार्य भएको सुनाए । उनले आइएनएफ र गण्डकी प्रदेश सरकार मिलेर योजनाहर निर्माण गरि अघि बढ्नुपर्ने बताए । साथै गण्डकीमा एनेसथियोलोजिष्टको अभाव रहेकाले विभिन्न मुलुकमा रहेका एनेसथियोलोजिष्टलाई गण्डकीमा ल्याउन सहयोग गरिदिन आइएनएफलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->