आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता, आरोप के हो ?

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता, आरोप के हो ?


  • बीबीसी
  • मंसिर ६ २०८१, बिहिबार

काठमाडौं/भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ । उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो ।
न्यूयोर्कमा उनीविरुद्ध बुधबार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन् । भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो । उनले व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् र ती व्यापारहरूमा बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म फैलिएका छन् ।

अदानीमाथि लागेको आरोप के हो ?
उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमत भएको आरोप लगाएका छन् ।
यसबारे अदानी समूहलाई टिप्पणीका लागि अनुरोध गरिएको भए पनि उक्त समूहले हालसम्म प्रतिक्रिया दिएको छैन । विभिन्न कम्पनीहरूको एउटा गु्रप बनाएर अमेरिकामा चलिरहेको उक्त समूह सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । त्यस बेला एउटा उच्च प्रतिष्ठित कम्पनीले जालसाजी गरेको आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले अदानी समूहमाथि शंका उत्पन्न गराएको हो ।
उक्त प्रतिवेदनमा गरिएका दाबीहरूलाई अदानीले अस्वीकार गरेका थिए र त्यहाँ उनको ठूलो बजार हिस्सा तत्कालै बिक्री भएको थियो । घूस दिएको भनिएको उक्त प्रतिवेदन महिनौँदेखि यताबाट उता र उताबाट यता भइरहेको छ । अमेरिकाले सन् २०२२ देखि अदानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो र अभियोजनकर्ताहरूले अनुसन्धानमा अवरोध भएको अनुभव गरेका थिए ।

अभियोगपत्रमा के छ ?
अभियोजनकर्ताहरूले अदानीको कम्पनीका कार्यकारी व्यक्तिहरूले आफ्नो समूहका घूसविरोधी नीतिहरू तथा घूससम्बन्धी अनुसन्धानका प्रतिवेदनहरूको नक्कली प्रतिहरू पेस गरेर झुक्याइमा पारेर अमेरिकीसहित विभिन्न फर्महरूबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोग लगाएका छन् ।
‘प्रतिवादीहरूले अर्बौँ डलरका ठेक्का पाउनका लागि भारतीय सरकारी अधिकारीहरूलाई घूस दिन विस्तृत योजना बनाए र… उनीहरूले अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबाट रकम जुटाउने प्रयासका क्रममा घुसखोरीसम्बन्धी योजनाबारे झूटा विवरणहरू दिएका,’ अमेरिकी अटर्नी ब्रेअन पीसले अभियोग लगाइएको विषयबारे जानकारी दिन निकालेको विज्ञप्तिमा भनेका छन् ।
‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न र हाम्रो वित्तीय बजारको इमान कायम राख्ने मूल्यलाई तलमाथि गर्न खोज्नेबाट हाम्रा लगानीकर्तालाई जोगाउन प्रतिबद्ध छ,’ उनले भनेका छन् । अदानीले आफ्नो घूस दिने योजनालाई अघि बढाउने क्रममा कैयौँ पटक सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको पाइएको अधिकारीहरूले बताएका छन् ।

मोदीका निकट सहयोगी
अदानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनीमाथि भारतका विपक्षी राजनीतिज्ञहरूले लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट फाइदा लिएको आरोप लगाउँदै आएका छन् । ती आरोपहरूलाई उनले अस्वीकार गर्ने गरेका छन् ।
संयुक्त राज्य अमेरिकामा त्यहाँका एटर्नीहरूको नियुक्ति राष्ट्रपतिले गर्ने गर्छन् । डोनाल्ड ट्रम्पले चुनाव जितेको केहीपछि उनले अमेरिकी न्याय मन्त्रालयमा फेरबदल गर्ने वाचा गरेको पृष्ठभूमिमा अदानीविरुद्ध पनि अभियोगपत्र दर्ता गरिएको हो । गत साता सामाजिक सञ्जालमा अदानीले ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिएका थिए र अमेरिकामा १० अर्ब डलर बराबरको लगानी गर्ने वाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->