पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्लाब्यापी अन्तरविद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ३९ टीमको सहभागीता रहेको छ ।
प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गर्दै राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेकोमा अहिले अन्तरविद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता आयोजना गरेर विद्यालयबीच आपसी भाइचारा अभिवृद्धि गर्ने काम भएको वताए । खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिकसंगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।
खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ टीम र छात्राको १३ टीमको सहभागीता रहेको वताए । प्रतियोगितामा छात्र/छात्रा भलिबल दुवै तर्फ प्रथम हुनेले नगद पचास हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद तीस हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक तेजबहादुर गुरुङले जानकारी दिए ।





