स्याङ्जा/गल्याङ नगरपालिका ११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपैयाँको आलुको बीऊ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलबाट २७५ क्विन्टलसम्म आलुको बीऊ बिक्री गरेका हुन् ।
शीत भण्डारका अध्यक्ष रुमलाल कँडेलले मात्रै २ सय ७५ क्विन्टल आलुको बीऊबाट २२ लाख रुपैयाँ आर्जन गरे । आलुको बीऊ ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको बताउँदै कँडेलले सबैको साथ सहयोगले गाउँमै शीतभण्डार सञ्चालन गरेर कृषकले मनग्य आम्दानी गरेको बताए ।
स्थानीय स्तरमा उत्पादित आलुुको बीऊ भण्डारणका लागि अन्य ठाउँमा लैजानुपर्ने समस्या शीतभण्डार सञ्चालन भएसँगै यहाँका कृषकहरुलाई सहज भएको हो । केहीवर्ष पहिलेसम्म उत्पादन गरेको आलु तथा बीऊबिजन र अन्य सामग्री भण्डारणका लागि बुटवल तथा पोखरासम्म लैजानुुपर्ने वा यसै खाएर र कुहाएर फाल्नुपर्ने बाध्यता शीतभण्डार निर्माणले हटाएको हो ।
विश्व र्बैंक र नेपाल सरकार सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयको अनुदानमा एक करोड १७ लाखको लागतमा १५० टनको शितभण्डार निर्माण गरिएको हो ।

पहिलो शीतभण्डारको क्षमता कम भएपछि प्रधानमन्त्री आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई (सुन्तला सुपरजोन) को एक करोड ५२ लाख सहयोगमा अर्को शीतभण्डार निमार्ण गरेर ३ सय म्याट्रिकटन आलुुको बीऊ व्यवस्थित रुपमा भण्डारण गरिएको हो ।
शीतभण्डारमा आलुको बीऊ राखेर कृषकहरुलाई आर्थिक रुपले समृद्ध बनाएको बताउँदै कँडेलले यहाँ भण्डारण गरेको आलु राम्रो भएकाले जिल्लाका सबै ठाउँबाट बीऊको माग भएको जानकारी गराए ।
पछिल्लो समय जिमुुहाँमा मात्रै १५० हेक्टर जग्गामा आलुु उत्पादन हुुने हुुँदा आवश्यकताका आधारमा नै शीतभण्डार सञ्चालना ल्याइएको हो । यहाँका कृषकले शीत भण्डार गृहमा प्रतिकेजी सात रुपैयाँमा बीऊ आलुु भण्डारण गरेका थिए । गतवर्ष मात्रै त्यस क्षेत्रका किसानले खायन र बीऊ आलुु गरी ३ करोडको आलुु बिक्री गरेका थिए ।




