काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए ।
उनका अनुसार, भ्रमण दलमा ८७ जना रहने छन् । उनको भ्रमण दलमा ३२ सरकारी र ५५ निजी क्षेत्रका सदस्य समावेश छन् । त्यसमध्ये ९ सांसद रहेका छन् । सांसदहरूमा अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्दर नाथ शुक्ला र रन्जिता श्रेष्ठ रहेका छन् ।
मन्त्रीहरूबाट परराष्ट्रमन्त्री आरजु राणामात्र रहने छिन् । भ्रमणमा निजी क्षेत्रको ठूलो सहभागिता रहने उनले बताए । ‘कम गर्ने ठाउँ देखिएन, न्यूनतम संख्या नै त्यही हो जस्तो लाग्छ,’ उनले भने ।
भ्रमणबा एजेन्डा अझै टुंगो लागिनसकेको उनको भनाइ छ । ‘एजेन्डाका बारेमा छलफल जारी नै छ । विभिन्न संयन्त्रहरूमा छलफल भइरहेकै छ । एजेन्डा के हुन्छ भनेर फेरि एकपटक मन्त्रिपरिषद्को बैठकबाट टुंगो लाग्छ होला,’ उनले भने ।





