आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सामाजिक सञ्जालमा उमेर ढाँट्दा बालबालिकालाई के असर गर्छ ?

सामाजिक सञ्जालमा उमेर ढाँट्दा बालबालिकालाई के असर गर्छ ?

अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ ।


  • बीबीसी
  • मंसिर २५ २०८१, मंगलबार

तपाईँले फेसबुक, टिकटक, स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलिदिनुभएको छ ?
त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होल । तर कानुनअनुसार ती कतिपय बालबालिकाको त्यस्तो खाता खोल्न उमेर पुगेकै हुँदैन । नेपालसहितका देशमा यि माथि उल्लेखित सामाजिक सञ्जालमा खाता खोल्नका लागि कम्तीमा १३ वर्षको उमेर हुनुपर्छ ।
नेपालमा पनि धेरैले सामाजिक सञ्जालमा साना बालबालिकाको खाता खोलिदिएका छन् । बालबालिकाको उमेर नढाँटी त्यो सम्भव हुँदैन तर सामाजिक सञ्जालहरूले उमेर पुष्टि हुने प्रमाण वा आधार खोज्दैनन् । यसले गर्दा बालबालिकाहरू अनलाइनका हानिकारक सामग्रीहरूमा पुग्ने गरेको र त्यसले असर गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भएको पाइन्छ । त्यसको नियमनका लागि विश्वका कतिपय देशमा कानुनहरू बन्ने क्रममा छन् भने सामाजिक सञ्जाललाई त्यसबारे सचेत गराउने काम भइरहेका विवरण छन् ।

‘गम्भीर असर’
नेपालमा धेरै बालबालिकाले १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ । ती खातामा उनीहरूले निरन्तर तस्बिर तथा भिडिओ राख्ने गरेको पाइन्छ । स्वयं आमाबुवाले नै त्यसरी खाता खोलिदिने र उनीहरूका तस्बिरहरू राखिदिने गरेको पाइएको बालमनोविद् पुष्पा अधिकारी बताउँछिन् ।
‘अहिले त बच्चालाई ‘पपुलर’ बनाउनका लागि पनि आमाबुवाले आफैँ अकाउन्ट खोलिदिने गर्नुहुन्छ । त्यो ‘पपुल्यारिटी’ हेर्ने कि बच्चाको स्वास्थ्य हेर्ने वा बालबालिकालाई भोलि कस्तो असर गर्छ त्यो हेर्ने ?,’ उनले भनिन् ।
मोबाइल तथा अन्य उपकरणमा बालबालिकाको पहुँचलाई सीमित राख्ने प्रणालीहरू उपलब्ध भइसकेका कारण कति समय प्रयोग गर्न दिने र दिँदा कस्तो सामाग्री हेरिरहेका छन् त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘उनीहरूलाई मोबाइलमा कस्तो एप मात्रै हेर्न दिने र कति समयका लागि हेर्न दिने भन्ने सेटिङ गर्न मिल्छ । त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,’ मनोविद् अधिकारीले भनिन् । नेपालमा केही सेलेब्रटीहरूले समेत आफ्ना उमेर नपुगेका सन्तानहरूको सामाजिक सञ्जालमा खाता खोलिदिएका छन् ।
बालबालिका झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्या लिएर अभिभावक आउने र त्यस्था अधिकांश बालबालिकाहरू विद्यालयबाट फर्किएपछि तीनचार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरू हेर्ने गरेको पाइएको अनुभव उनी सुनाउँछिन् । त्यसमा पनि किशोरीहरूले त आत्महत्यासमेत गरेका घटनाहरू आएको उनी बताउँछिन् ।
‘अहिले अत्यधिक ‘साइबर क्राइम’का घटना देखिन्छ्न, जसमा खास गरी किशोरीहरूको सामाजिक खाता दुरुपयोग भएको अनि यसले गर्दा आत्महत्या नै गरेको पनि भेटिएको छ ।’ यस्तो अवस्थामा सुरुमा घरभित्रै आमाबुवा र अभिभावकहरू सचेत हुनुपर्ने र त्यसपछि यसको नियमनका लागि सरकारले पनि ध्यान दिन उनी सुझाउँछिन् ।

यूकेमा सर्वेक्षणबाट के देखियो ?
‘अफकम’ नामक यूकेको नियामक निकायले सामाजिक सञ्जालमा बालबालिकाहरूले वयस्क भएको बताइरहेको विषयलाई सम्बोधन नगरे त्यस्ता कम्पनीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ । हालै सार्वजनिक भएको एउटा नयाँ सर्वेक्षणले ८ देखि १७ वर्षका करिब २२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालका एपहरूमा आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा माथि राखेको अनुमान गरेको छ ।
अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ । ‘बालबालिकाको उमेर अनलाइनमा थाहा पाउन सामाजिक सञ्जालहरूले धेरै गर्नुपर्ने छ,’ बीबीसीसँग बोल्दै अफकमका ‘मार्केट इन्टेलिजन्स’का निर्देशक इयान मक्रेईले बीबीसीलाई भने ।

‘ढाँट्न धेरै सजिलो’
केही प्रविधि कम्पनीहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउनका लागि उपायहरू घोषणा गरेका छन् । उदाहरणका लागि इन्स्टाग्रामले किशोरकिशोरीका लागि ‘टीन अकाउन्ट’ ल्याउन लागेको छ । ग्लास्गोस्थित रोशल अक्याडमीमा किशोरकिशोरीको एउटा समूहसँग बीबीसीले कुरा गर्दा उनीहरू सबैले सामाजिक सञ्जालमा आफूहरूले वयस्क भनेर उमेर राखेको बताए ।
‘आफ्नो उमेर ढाँट्न एकदमै सजिलो छ,’ १५ वर्षे एक किशोरीले भनिन् । ‘मैले आफू जन्मिएको दिन र महिना ठ्याक्कै त्यही राखेँ, तर जब वर्ष लेख्ने बेला आयो, अनि मैले ‘कर्सर’ घुमाउँदै १० वर्षमाथि उमेर राखेँ,’ उनले भनिन् ।
‘त्यहाँ केही कुरा पुष्टि गर्नुपर्दैन । परिचयपत्रको माग पनि गरिँदैन र त्यहाँ केही पनि सोधिँदैन,’ अर्की किशोरीले भनिन् । बीबीसी न्यूज आफैँले नयाँ इमेल ठेगाना बनाएर थुप्रै सामाजिक सञ्जालमा खाता खोल्दा त्यहाँ केही पनि माग गरिएन ।
अठार वर्षभन्दा माथि उमेर राख्नेबित्तिकै प्रमाण नमागी दर्ता गरिन्छ । अफकमले यसलाई अबका महिनाहरूमा परिवर्तन गर्नुपर्ने जनाएको छ । ‘बालबालिकाको उमेरबारे स्वघोषणा गर्नु स्पष्ट रूपमा अपर्याप्त छ,’ मक्रेईले भने ।

उमेरको निश्चितता पुष्टि गर्न दबाव
अनलाइन उपलब्ध हुने हानिकारक सामग्रीहरूमा बालबालिकाको पहुँच हुँदा त्यसले केही किशोरकिशोरीहरूको मृत्युसमेत भएका घटनाबारे गहिरो चिन्ता व्यक्त भएका छन् । यसै कारण यूकेमा यसअघिको सरकारले अनलाइन सुरक्षा ऐन (ओएसए) पारित गरेको छ । त्यसअनुसार सन् २०२५ को जुलाई महिनाबाट सामाजिक सञ्जालहरूले अफकमले भनेको ‘उमेर निश्चित गर्ने अतिप्रभावकारी संयन्त्र’ लागु गर्नु पर्नेछ ।
यूकेमा बालबालिका र किशोरकिशोरीका लागि बनेका चर्चित केही सामाजिक सञ्जालसँग उनीहरूको प्रतिक्रिया लिन बीबीसीले प्रयास गरेको थियो । ‘कम उमेरको भन्ने शङ्क लागेपछि हामी दैनिक हजारौँ त्यसता खाता हटाउँछौँ,’ एउटा विज्ञप्तिमा टिकटकले भनेको छ । ‘कसरी मशीन लर्निङ टेक्नोलोजीले यी प्रयासहरूलाई सुधार गर्न सक्छ र किशोरकिशोरी तथा बालबालिकाको सुरक्षा र सम्मानको अधिकारका लागि उमेरको आश्वासनका प्रत्याभूतिका लागि काम गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ,’ त्यसमा भनिएको छ ।
ह्वाट्स्याप, इन्स्टाग्राम र फेसबुकका माउ कम्पनी मेटा र स्न्याप्च्याटले भने यसबारे बताउन चाहेनन् । प्रतिक्रिया जनाउन बीबीसीले गरेको अनुरोधलाई एक्सले अस्वीकार गरेको छ । हालसालै अस्ट्रेलियाको संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->