पोखरा/गत वर्ष बागलुङको वडिगाड गाउँपालिकामा क्षयरोगको (टिभि) एक सय १३ विरामी भेटिए । एक्सरे मेसिनबाट परिक्षण गरिएको सेवामा ठूलो मात्रामा क्ष्यारोग विरामी भेटिएपनि गण्डकी सरकारले गण्डकीभर क्षयरोगको परिक्षणका लागि अभियान थलानी ग¥यो । यहि असोजबाट गण्डकीमा क्षयरोग अन्त्य गर्नका लागि अभियान सुरु ग¥यो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तरगत क्षयरोग उपचार केन्द्र पोखराले सो अभियान अघि बढाउँदै जाँदा असोजदेखी हालसम्म ८५ पालिकामध्ये ६ वटा पालिकामा मात्रै परिक्षण गरेको छ । ६ मध्ये रुपा गाउँपालिकाको परिक्षण प्रतिवेदन आउन बाकीँ छ । तर, पाँच वटा पालिकामा परिक्षण गर्दा ९१ जनामा क्षयरोग देखिएको छ । उनीहरु अहिले उपचारमा छन् ।
मंगलबार रुपा गाउँपालिका वडा नम्बर ३ स्थित पोल्याङ आधारभूत स्वास्थ्य केन्द्रबाट एक्सरेद्धारा छातिरोग सम्बन्धि खोजपडताल कार्यक्रम सुरु गरिएको छ । सो कार्यक्रम रुपाका सबै वडामा हुनेछन् । रुपामा समेत क्षयरोगि विरामी भेटिएका छन् । पहिला जाँच गराएका कृष्ण बहादुर कुमालमा क्षयरोग देखिएको छ । अब उनको खकार परिक्षणपश्चात मात्रै क्षयरोग उपचार गराउने वा नगराउने भन्ने यकिन हुन्छ । रुपा गाउँपालिका ३ को मिया गाउँ र कुमाल बस्ती क्षयरोगको उच्च जोखिम भएको बस्ती हो । खोला किनार र इट्टाभट्टी भएका कारणले पनि त्यहाँ क्षयरोगी हुने सम्भावना प्रवल छ । क्षयरोग केन्द्रले समेत रुपा गाउँपालिकाको कुमाल र मियाँ बस्तिलाई उच्च जोखिममा राखेको छ ।
क्षयरोग उपचार केन्द्र पोखराका ल्याब टेक्निसियन तथा अभियानका फोकल पर्सन राजेन्द्र रानाभाटका अनुसार गण्डकीका पालिका मध्ये देवचुलीमा ११०९, बारपाकमा ५४५, तनहुँ ३२३, गलकोटमा ७०९, वालिङमा ७ सय बढी र हुप्सेकोटमा पाँच सय बढीको परीक्षण गरिएको छ जसमध्ये ९१ जनाको उपचार गाराउन पर्ने भएको हो ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा ६९ हजार क्षयरोग विरामी छन् जसमध्ये ४० हजारको पहिचान भएको छ भने ३० हजार बाकीँ छन् । ‘खकारबाट जाच्ने विधिमा विरामीले खकार नदिने थुकमात्र दिने गर्दा परिक्षण गर्न निकै मुस्किल भएको थियो । त्यसपछि डिएनए पिसिआर गर्दा महंगो पर्ने तर सबै स्क्यानिङ गरेन । ०७५÷०७६ मा डब्लुएचओले सर्वे गर्दा ६९ हजार टिभीका विरामी छन भन्यो’ उनले भने, ‘गएको आवसम्म हामीले ४० हजारको हारहारीमा विरामी फेला पारको छौं अब ३० हजार विरामी खोज्दै छौं ।’
गत आवमा ४० हजारमा गण्डकीमा गत दुई हजार सात सय ६६ क्षयरोगका विरामी भेटिएका थिए । हाल गण्डकी प्रदेशमा एक्सरेमार्फत नै क्षयरोगको परिक्षण हुन सुरु भएको हो । यस अघि खकार र डिएनएबाट हुने गरेपनि त्यसको प्रभावकारिता कम देखिएकाले हाल एक्सरे प्रविधिबाट परिक्षण थालिएको छ । यो निकै प्रभावकारी देखिएको डा.रानाभाट बताउछन् । ‘यो भन्दा अघि अन्य विधिबाट हुन्छ । अहिले एआई प्रविधिसहितको एक्सरेबाट परिक्षण हुन्छ । अन्य प्रविधिले गर्दा फोक्सोको क्षयरोग देखाउदैन्थ्यो तर, यो प्रविधिले फोक्सोमा भएको क्षयरोग समेत देखाउछ’ उनले थपे, ‘फोक्सोमा भएको क्षयरोग सासबाटै सर्ने गर्दछ । लुकेर बसेको सो भाइरसले प्रतिरोधात्मक क्षमता कम हुनेवित्तिकै आक्रमण गर्छ ।’
यसलाई अवसरवादी किटाणुसमेत भन्ने गरिएको उनी सुनाउछन् । यो प्रविधि सात वटै प्रदेशमा भएपनि गण्डकी प्रदेशले मात्रै यसको प्रयोग गरेको छ । अन्य प्रदेशमा प्रयोगविहिन अवस्थामा छ । रानाभाटका अनुसार गण्डकीका ४६ वटा स्थानिय तहले आफ्नो पालिकामा परिक्षण गराउनका लागि अनुरोध गरेको छ । तर, क्षयरोग केन्द्रले तीन वर्षको तथ्यांक अध्ययन गरि प्राथमिकताको आधारमा परिक्षण गरिरहेको छ ।
यस्तै गोर्खा जिल्ला अस्पतालका डाक्टर विजय शर्माका अनुसार प्रति लाख नेपालीमा २१९ जनामा क्षयरोग रहेको छ । क्षयरोगिको दर उच्च भएपनि परिक्षण दर निकै कम रहेको उनी सुनाउछन् । विरामी रोग लिएर आएमात्र परिक्षण हुदै गर्दा अब समुदायमै गएर परिक्षण सुरुवात भएको छ । ‘प्रति लाखमा २१९ जनामा टिभि संक्रमण नेपालमा देखिएको छ । हाम्रोमा टेष्ट डिटेक्सन रेट न्युन छ । विरामी समस्या लिएर आएमात्र निवारणतर्फ लाग्छौं । तर, अबको कन्सेप्ट भनेको यतिका वर्ष वित्दा जति टार्गेट छ त्यो हामीले पत्ता नलागाएपछि हामीले एक्टीभ केस फाइन्डिङमा गर्न समुदायमै गयौ’ उनले भने, ‘समुदायमा पहिला हामीले खकार संकलन गर्दा त्यति राम्रो नतिजा आएन । एक्टीभ केस फाइन्डिङका लागि समुदायमा आइपुगेका हौं ।’ खकारबाट देखिने र नदेखिने दुइ थरिका । यो विधिको प्रयोग भएपनि खकार जाँच गरेपछि बल्ल उपचार गराउने उनले सुनाए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्षयरोग निवारणका लागि पालिकाले नै २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार अब रुपामा क्षयरोगको परिक्षण सुरु भइसकेको छ । रुपाको कुमाल बस्ती र मुस्लिम बस्तीमा सम्भावना बढी र त्यहाँ आर्थिक रुपमा कम्जोर भएको कारण सुरुवात त्यहिबाट नमुनाको रुपमा हेर्नका लागि परिक्षण् गरेको बताए । नजिकै इट्टाभट्टा रहेको कारणले समेत सो ठाउँमा परिक्षणगरेको सुनाए । गाउँपालिकाले २२ लाख रुपैयाँ समेत विनियोजन गरेको छ । ‘यो सामान्य कुरा होइन । हेर्दा केही जस्तो लाग्दैन तर, यसले भित्रभित्रै निकै प्रभाव पारेको हुन्छ । हामी हाम्रो नागरिकलाई स्वस्थ बनाउन चाहान्छौ’ उनले भने, ‘त्यसैले बजेट विनियोजन गरेरै हामीले यो अभियान रुपामा पनि थालेका हौं ।’
रुपा गाउँपालिकाको उपाध्यक्ष लालसुब्बा गुरुङले जनघनत्वको हिसाबले समेत वडा नम्बर ३ अघि रहेकाले अभियानको सुरुवात त्यहिबाट गरेको बताइन । उनले छातिको एक्सरे बाट क्षयरोग पत्ता लाग्ने हुँदा पालिकाका कर्सलाई पनि नछुट्न आग्रह गरिन । उनले विरामी र स्वस्थ दुवैले परिक्षण गर्नुपर्ने बताइन । वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र गौतमले वडावासीको स्वास्थ्य र शिक्षा नै वडाको मुख्य कार्य रहेको बताए । नागरिक स्वास्थ्य रहेमा मात्रै वडाको अर्थ रहेको उनको भनाइ छ ।





