पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन प्रेस सेन्टर प्रगतिशिल पत्रकार संघका उम्मेदवार विजयी हुँदा गोरखा शाखा भने निलम्बनमा परेको छ ।
महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन । शनिबार सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा भएको मतदानमा उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गरे ।
आउँदो ३ वर्षे कार्यकालका लागि पौडेल निर्वाचित भएका हुन । उनले ४०१ मत प्राप्त गरेका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए । खुला सदस्यमा निर्वाचित नेपालले पपुलर (४५९) मत प्राप्त गरे ।
सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाती) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफूले प्राविधिक रुपमा जिते पनि यो सबै जनाको जीत भएको र सँगै मिलेर पत्रकारको हकहितको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्कीमा बराल
नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भए । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित भएका हुन ।
कूल २२० मतमध्ये शुक्रबार भएको मतदानमा २०५ जनाले मतदान गरेको थिए । जसमा बरालको पक्षमा १०५ र अधिकारीको ९६ मत परेको हो ।
बराल प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनबाट साझा उम्मेद्वार थिए भने अधिकारी प्रेस सेन्टर र समाजवादी पत्रकारबाट चुनाव लडेका थिए ।
उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए । उनले ९० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ मत प्राप्त गरेका छन् । कमल पौडेल अथकले ३५ मत ल्याए ।
उपाध्यक्ष (महिला) मा कन्चन थापा निर्वाचित भइन् । थापाले १०९ मत ल्याउँदा विना कुमारी थापाको ८७ मत आयो । सचिवमा भुपाल गुरुङ निर्वाचित भए । उनले १०२ ल्याउँदा सन्देश श्रेष्ठले ९८ मत ल्याएका छन् ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ निर्वाचित भए । उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । सहसचिवमा ११८ मत ल्याउँदै मधु अधिकारी निर्वाचित भए । श्रीभद्र पौडेलले ८० मत ल्याए ।
कोषाध्यक्षमा राजाराम पौडेल ११७ मतसहित विजयी भए । सुरेश अधिकारीले ८० मत ल्याए । सदस्य (महिला) मा कविता घर्तीमगर, सदस्य (दलित) मा सुरेश सुनार, निर्वाचित भए । सदस्य (आदिवासी जनजाति) मा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्विरोध भएका हुन् ।
९ खुल्ला सदस्यमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए । ५ राष्ट्रिय परिषद सदस्यमा आरजु विष्ट सल्यानी, दीननाथ बराल, कृष्णमणि बराल, भरत कोइराला र राजबहादुर गुरुङ निर्वाचित भए ।
बागलुङमा थापा
नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित भएका छन् । शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदार रहेका थापाले प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट उम्मेदवार बनेका तारानाथ आचार्यलाई पराजित गर्दै विजयी भएका हुन ।
शाखाको निर्वाचनमा उपाध्यक्षमा सुवास आचार्य, महिला उपाध्यक्षमा सिर्जना, सचिवमा नारायण रिजाल, सहसचिवमा डम्मर बुढामगर र कोषाध्यक्षमा खेमराज गौतम सुवाससहित विजयी भएका छन् । समावेशी सचिवमा नवराज परियार निर्विरोध भएका थिए । उनीहरु सवै सत्तापक्षीय गठबन्धनका उम्मेदवार हुन ।
कार्य समितिको सदस्यमा खुलाबाट अर्जुन कार्की प्रकाश बरल, मत), प्रदिप पन्त (४७ मत), बालकृष्ण सुवेदी, दलितबाट अनिष खाती र आदिवासी जनजातीबाट संगम घर्तीमगर बिजयी भएका छन् । महिला सदस्यमा मनिषा शर्मा निर्विरोध भएकी छन् ।
केन्द्रीय परिषद महिला सदस्यमा कोपिला कँडेल र खुल्ला सदस्यमा दीलिप पौडेले ल्याएर विजयी भएका छन् । प्रदेश परिषद सदस्यमा कृष्ण आचार्य, सुवाश राज पन्त, खिमबहादुर कार्की र चन्द्र गणेश पौडेल विजयी भएका छन् । प्रदेश परिषद् महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध भएकी छन् ।
पर्वतमा सापकोटा
नेपाल पत्रकार महासंघ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ ।
नयाँ बनेको कार्यसमितिको उपाध्यक्षमा सङ्गीता के.सी बानिया, महिला उपाध्यक्षमा रञ्जना खत्री क्षेत्री, सचिवमा साजन परियार, समावेशी सहसचिवमा विष्णु सापकोटा गौतम, सहसचिवमा राजन पौडेल, कोषाध्यक्षमा दीपेश बिक निर्विरोध भएका छन् । यस्तै सदस्यहरूमा सङ्गीता के.सी, रमा सुवेदी, इन्द्र कुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल, गीताकुमारी शर्मा चयन भएका छन् । केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा ‘जिज्ञासु’ र कृष्णबहादुर अखेली तथा प्रदेश परिषद् सदस्यमा बिसन क्षेत्री र डिलबहादुर कि.क. चयन भएका छन् ।
प्रेस युनियन र प्रेस चौतारीले संयुक्त ‘प्यानल’ बनाएर निर्वाचनमा उम्मेदवारी दिएका थिए । सकेसम्म पत्रकारहरूका सबै संगठनहरूको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्माण गर्ने प्रयास भएको भए पनि प्रेस सेन्टरलगायतका संगठनहरू पद बाँडफाँटमा सहमत हुन सकेनन् ।
नयाँ बनेको कार्यसमितिले निर्वाचन सकिएको दिन शुक्रवार पद बहाली गरेको छ । निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष सापकोटाले जेनतेन बाँचिरहेका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको सबलीकरण र निरन्तरताका लागि सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार तथा सञ्चारकर्मीहरूको पलायन दर बढ्दै गएको तथा जिल्लामा रहेका पत्रकारहरुले पत्रकारिताबाटै जीवन गुजार्न सक्ने अवस्था नरहेको चुनौतीपूर्ण अवस्था रहेको सापकोटाले बताए ।
म्याग्दीमा गौतम
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा अन्य उम्मेदवारी नपरेपछि शुक्रबार निर्वाचन समितिले अध्यक्षमा गौतम सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा दलप्रसाद विक र अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य , सहसचिवमा प्रताप बानियाँ र सन्दीप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली मगर, सदस्यमा कमल खत्री र राकेश शर्मा सर्वसम्मत रुपमा निर्वाचित भए । केन्द्रीय परिषद् सदस्यमा विनोद शर्मा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
मुस्ताङमा रसाइली
मुस्ताङमा सुनदेवी रसाइली पत्रकार महासंघको अध्यक्षमा निर्विरोध चयन भएकी छन् । अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको हो । अध्यक्षसहित सबै निर्विरोध भएका हुन ।
उपाध्यक्ष तृष्णा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिव आदित्य रसाइली, कोषाध्यक्ष नीरज थकाली, सहसचिव सरस्वती ल्वागुन, सहसचिव समावेशी हिक्मत नेपालीको मात्रै उम्मेदवारी परेको छ । सबै पदमा एकएकजनाको मात्रै उम्मेदवारी परेको हो ।
मुस्ताङ महासंघ जिल्ला कार्यसमिति सदस्यमा वसन्त पौडेल र पेमा छेतेन विकको उम्मेदवारी छ । केन्द्रीय परिषद सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेलको मात्रै उम्मेदवारी छ ।
मनाङमा लामिछाने
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार लामिछानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। लामिछानेको यो दोश्रो कार्यकाल हो । नब गठित कार्यसमितिको उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यमा सेराप गुरुङ, सुरेशकुमार थापा, उषा ठकुरी र दुर्गा घले चयन भएका छन् । लामिछाने नेपाल टेलिभिजनको संवाददाताका रुपमा क्रियाशिल छन ।
नवलपुरमा सिग्देल
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित भएका छन । सिग्देल ६२ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी घनश्याम बगालेले ४० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा शालिकराम कोइराला,सचिवमा चोलाकान्त रेग्मी, सहसचिव समावेशीमा ज्ञानु पंगेनी, निर्वाचित भए ।
सदस्यमा माया कंडेल, निशा भण्डारी,अजय पौडेल,राजु चापागाई,खगेन्द्र पराजुली,लोकनाथ पंगेनी र खेमनारायण महतो निर्वाचित भएका छन ।
यसअघि महासंघको महिला उपाध्यक्षमा धनु भुसाल, कोषाध्यक्षमा असिफ गुरुङ,सहसचिवमा सञ्जय भट्टराई निविरोध निवार्चित भएका छन् ।
त्यसैगरी महिला सदस्यमा राधिका भुसाल, दलित सदस्यमा राम सुनार, अल्पसंख्यक सदस्यमा प्रिमत भुजेल र जनजाति सदस्यमा पूजा गुरुङ सर्वसम्मत भएका हुन ।
स्याङजामा कोइराला
नेपाल पत्रकार महासंघ स्याङ्जाको नयाँ नेतृत्व चयन शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको अध्यक्षमा प्रदिप कोइराला निर्वाचित भएका हुन ।
स्याङ्जा शाखाको अध्यक्ष पदका लागि प्रतीक्षा काफ्ले र प्रदीप कोईरालाको उम्मेदवारी रहेको थियो । कोइराला ३४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्दी काफ्लेले १३ मत प्राप्त गरेकी थिइन् ।
कोइरालाको नयाँ नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको हो । सह–सचिव पदमा एकबहादुर गोदार (रमेश)ले ३० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी खेम प्रसाद खनाल (केपी) खनालले १६ मत प्राप्त गरे ।
चार खुल्ला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा युवराज पौडेलले ४१ मत, राम बहादुर रोकाहा र कृष्ण बस्यालले ४० मत र सविनचन्द्र डोटेलले ३७ मत प्राप्त गरेर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी उम्मेदवार शालिकराम पोख्रेलले भने १० मत ल्याए ।
समावेशी सदस्यमा हिमलाल घर्ती ३५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कामना सुनारले ११ मत ल्याएकी थिइन् ।
यसैगरी, समितिको उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरि प्रसाद सुवेदी (सुशील), समावेशी सह–सचिवमा कला राना, कोषाध्यक्षमा जोगराज पाठक निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, महिला सदस्यमा आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा, आदिवासी÷जनजाति सदस्यमा भुम बहादुर रखाली (विनोद), राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जामा ५४ जना सदस्य रहेपनि ४९ मत खसेको थियो ।
तनहुँमा अधिकारी
नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरे ।
खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत पाए । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित हुँदा स्मिता खनालले १६ मत प्राप्त गरिन् ।
सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गरे ।
यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरे ।
संघीय परिषद् सदस्य खुल्लामा प्रदीप काफ्ले, संघीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (बिबी), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित भए ।
लमजुङमा पौडेल
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा सन्देश पौडेल विजयी भएका छन् । विजयी पौडेलले २६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अनुज अधिकारीले ५ मत पाएका थिए ।
पत्रकार महासंघ लमजुङ शाखाको हिंजो भएको ८ औँ अधिवेशनबाट भारी मतका साथ अध्यक्षमा पौडेल विजयी भएका हुन् । लमजुङमा अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा मात्र निर्वाचन भएको हो ।
त्यसैगरी पत्रकार महासंघ लमजुङ शाखाको उपाध्यक्षमा वेलिना थापा, महिला उपाध्यक्षमा बसन्ता भट्ट बानिया सर्वसम्मत निर्वाचित भएका छन । यस्तै सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी सर्वसम्मत विजयी भएका हुन ।
शाखाको सह सचिव पदमा श्रीकला भण्डारी र सीताराम बसेल सर्वसम्मत बने । सदस्यहरुमा आस बहादुर गुरुङ, घन बहादुर घिमिरे जिवी, शान्ता कमली, सविना प्रजा, सुनिता भुजेल, शिला सेन्चुरी विजयी भएका छन् । ३४ मतदाता रहेको लमजुङको निर्वाचनमा ३२ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
गोरखामा स्थगित, शाखा निलम्बनमा
नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित भएको छ । मतदातासम्बन्धी विषयलाई लिएर पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया नै स्थगित गरेको हो ।
अध्यक्ष नरहरि सापकोटा र सचिव विकास मरहट्टाले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्लामा आवेदन नै नदिएका व्यक्तिको नाम मतदाता नामावलीमा आएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको उल्लेख छ ।
जिल्लामा प्राप्त मतदाता नामावली जिल्ला शाखाले गरेको सिफारिसविपरीत रहेको र संशोधनका लागि केन्द्रसँग औपचारिक रूपमा पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेकोले निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपरेको गोरखा शाखाको भनाइ छ ।
सदस्यता शुद्धीकरणका विषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन गर्न पनि गोरखा शाखाको माग छ। यो माग पूरा नहुन्जेलका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मतदाता नामावलीमा एकै व्यक्तिको नाम फरक–फरक गरी दुई ठाउँमा समावेश गरिएको पनि पाइएको जिल्ला शाखाले जनाएको छ ।
यता, पत्रकार महासंघ केन्द्रीय समितिले भने निर्वाचन नगर्ने गोरखा शाखालाई निलम्बन गरेको छ । कार्यवाहक अध्यक्ष बाला अधिकारीले जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रक्रियामा जान नमानेका कारण गोरखा शाखालाई निलम्बन गरिएको उल्लेख छ ।




